सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल आइडलले गरेका ६ रमिता

नेपाल आइडलले गरेका ६ रमिता

4265
Shares
नेपाल आइडलले गरेका ६ रमिता

पहिलो नेपाल आइडल बुद्ध लामालाई घोषणा गर्दै नेपाल आइडलको पहिलो संस्करण शुक्रबार राती कतारको दोहामा सम्पन्न भयो । तर आयोजकको लापरवाही र व्यवस्थापकीय अक्षमताका कारण नेपाल आइडलको समापन निकै भद्रगोल रह्यो ।

अडिशनभर निकै चर्चामा रहेको नेपाल आइडलको समापन कार्यक्रमले नेपाल आइडलले अहिलेसम्म प्राप्त गरेको शुभेच्छा एकैरातमा गुमाएको छ । हजारौंको उपस्थीतिलाई आयोजकले सफलताका रुपमा हेरेपनि नेपाल आइडलको समापन कार्यक्रममा वास्तवममा के के भयो त ?

टेलिभिजनमा नै भएन लाइभ

नेपाल आइडलको फिनाली एपी वान टेलिभिजनमा लाइभ आउने भनिएपनि टेलिभिजनमा कार्यक्रम रियल टाइम लाइभ गर्न नसक्नु आयोजकको सबैभन्दा ठूलो असफलता रह्यो । कार्यक्रम न टेलिभिजनमा लाइभ भयो न त एपी वानको आधिकारिक सामाजिक सञ्जाल वा अन्य माध्यमबाट । जसका कारण नेपालमा मध्यरातसम्म कुरेका दर्शकहरुमात्र होइन, विश्वभरबाट उत्सुकताका साथ नेपाल आइडलको प्रतिक्षामा रहेका दर्शकहरु निराश भए ।

एपीवानले लाइभ गर्न नसकेपछि उपस्थीत दर्शकहरुले टाढा टाढाबाट मोबाइलबाट गरेको गुणस्तरहीन लाइभ हेरेर विश्वभरबाट उत्सुकताका साथ प्रतिक्षा गरेका नेपाली दर्शकहरु चित्त बुझाउन बाध्य भए । एपीवानको लाइभ नआएपछि अन्य संचारमाध्यमले गच्छे अनुशार आआफ्नो स्थानबाट गच्छे अनुशार लाइभ गरे ।

दर्शक झुक्याइयो

टेलिभिजनमा लाइभ गर्न नसक्ने भइसकेपछि आयोजकले लाइभ हुन नसकेको बेलैमा जानकारी दिन सकेको भए टेलिभिजन वा फेसबुक लाइभ कुरेर बसेका दर्शकहरु निराश हुने थिएनन् । तर केही समयमा प्रशारण हुँदैछ भने टेलिभिजनले घण्टौं झुठो बोलिरह्यो, नेपालमा रहेका दर्शकहरु मध्यरातसम्म कुरेर बसिरहे ।

आफूहरुलाई नराम्रो झुक्याइएकोमा दर्शकहरु आक्रोशित बनेका थिए । टेलिभिजनमा लाइभ गर्न नसकेपछि आयोजकले वर्तमान प्रविधिको युगमा अन्य तरिकाहरु अपनाएर दर्शकको चित्त बुझाउन सक्थे तर त्यसतर्फ पनि आयोजकले कुनै ध्यान दिएनन् । जसरी भएपनि नेपाल आइडल कार्यक्रम सक्ने र पैसा पचाउने मनस्थीतिमा मात्र देखिए आयोजकहरु ।

अर्कोतर्फ कार्यक्रममा उपस्थीत दर्शकहरुलाई समेत कार्यक्रम टेलिभिजनमा लाइभ आइरहेको भन्दै झुक्याइएको थियो । बेलाबेलामा ओप्पो क्यामेराफोन ब्रेक भन्दै दुईतीनमिनेटसम्म कार्यक्रममा आयोजकहरु चुप लागेर बस्ने गर्थे । उनीहरुले टेलिभिजनमा कार्यक्रम लाइभ भइरहेको र ब्रेकमा आफूहरु बोल्न नमिल्ने भन्दै चुप लागेर बस्दा दर्शकहरु होहल्ला गरिरहेका थिए । तर कार्यक्रम टेलिभिजनमा लाइभ भएको थिएन । ब्रेकको समयममा स्थानीय विज्ञापनदाता वा सहयोगीहरुको नाम लिएको भए शायद स्थानीय विज्ञापनदाताहरु र सहयोगीहरु खुशी हुन्थे होला, तर त्यसो गरिएन । हजारौं दर्शकले हेरिरहेको कार्यक्रम नै रोकेर चुप बस्दा हास्यास्पद देखिएको थियो ।

आयोजकलाई हतकडी र भीआईपीलाई लाठी

कार्यक्रम गर्दा नियम पालना नगरेको र उल्लंघन गरेको भन्दै स्थानीय कतारी प्रहरीले आयोजकलाई हतकडी लगाएको थियो । दुईजना स्थानीय आयोजकलाई प्रहरीले कार्यक्रम अवधिभर हतकडी लगाएर राखेको थियो । आयोजकलाई हतकडी लगाइएपछि आयोजकहरु राजदूत गुहार्न पुगेका थिए ।

आयोजकको व्यवस्थापकीय कमजोरीका कारण भीआईपी र भीभीआईपी दर्शकहरुले समेत स्थानीय कतारी प्रहरीको दुब्र्यबहार खेप्नु परेको थियो । प्रहरीले कैयन भीआईपी र भीभीआईपी दर्शकहरुलाई घोक्राउने र लाठी हान्ने जस्तो दुब्र्यबहार गरेको थियो । टिकट लिएका दर्शकहरुलाई आयोजकले व्यवस्थीत तरिकाले कार्यक्रम स्थलमा छिराउन नसकेपछि भएको भद्रगोल नियन्त्रण गर्ने क्रममा स्थानीय प्रहरीले अन्य दर्शकहरुलाई पनि दुब्र्यबहार गरेको थियो ।

टिकट किनेका दर्शकले कार्यक्रम हेर्न पाएनन्

कतारको गर्मीमा काम गरेर कमाएको पैसाले ५० देखि २ सय रियालसम्म खर्च गरेर टिकट किनेका कैयन दर्शकहरुले कार्यक्रम नै हेर्न पाएनन् । टिकट किनेका झण्डै १ हजार दर्शकहरुलाई कार्यक्रम स्थलमा छिर्न दिइएन । आयोजकले हलको क्षमताभन्दा धेरै टिकट बेचेपछि टिकट किनेकाहरु कार्यक्रम स्थलमा छिर्न पाएनन् ।

टिकट किनेर कार्यक्रम स्थलमा छिर्न नपाउनेहरु अधिकांश श्रमिक नेपालीहरु रहेका थिए । दशैंको समयमा सानो रकमको पनि महत्व हुने श्रमिक नेपालीहरुलाई पसिनाको रकम खर्च गरेर किनेको टिकटबाट पनि कार्यक्रम हेर्न नदिइएपछि उनीहरु असन्तुष्ट बनेर कार्यक्रम स्थलबाहिर होहल्ला गरेका थिए । न उनीहरुलाई आयोजकले कार्यक्रमस्थलमा छिर्न दिए, न त उनीहरुले किनेको टिकटको रकम नै फिर्ता दिए । सयौं व्यक्ति कार्यक्रम स्थलमा छिर्न नपाएर भद्रगोलको अवस्था सृजना हुदा पनि आयोजक भने अकर्मण्यतामा फसिरहेका थिए ।

स्थानीय विज्ञापनदाता र सहयोगीहरु असन्तुष्ट

आयोजकले कैयन स्थानीय विज्ञापनदाताहरुबाट १० हजारदेखि २० हजार रियालसम्म रकम लिएका थिए । आयोजकले स्थानीय विज्ञापनदाताबाट झण्डै ३ लाख रियाल संकलन गरेपनि कुनै स्थानीय विज्ञापनदाताको नाम लिइएन कार्यक्रममा । जसका कारण स्थानीय विज्ञापनदाताहरु असन्तुष्ट बनेका छन् ।

लाइभ सेसन भनिएको बेलामा नभएपनि अन्य समयममा आयोजकले स्थानीय विज्ञापनदाता र सहयोगीहरुको नाम लिन सक्थे । ओप्पो क्यामेराफोन ब्रेक भन्दै तीन मिनेटसम्म चुप लागेर बसेको समयमा पनि स्थानीय विज्ञापनदाता र सहयोगीको नाम लिन सकिन्थ्यो । तर आयोजकले त्यसो गरेनन् । विज्ञापनदाताले गुनासो गर्दा एपीवान टेलिभिजनका सीईओ र अन्यले आफूहरुलाई स्थानीय सहयोगीबारे मतलव नभएको भन्दै गैरजिम्मेबार जवाफ दिएका थिए ।

स्थानीय विज्ञापनदाताहरु कैयन नेपाली व्यवसायदेखि कतारी व्यवसायहरु समेत थिए । सानादेखि कतारका बैंकसम्मले कार्यक्रममा विज्ञापनको लागि भन्दै रकम दिएका थिए । आयोजकले उनीहरुबाट कार्यक्रम अगाडि नै रकम असुलेका थिए । तर कार्यक्रममा उनीहरुको न नाम लिइयो, न विज्ञापन बजाइयो ।

समयमा सुरु भएन कार्यक्रम

कतारी समय अनुशार बेलुका ५ बजे कार्यक्रम सुरु हुने बताइएको थियो । तर तोकिएको समयभन्दा ३ घण्टा ढिलो सुरु भयो कार्यक्रम । कतारी समय अनुशार बेलुका ८ बजेदेखि कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रम समयमा सुरु नभएपछि उपस्थीत दर्शकहरुले कार्यक्रम छिटो सुरु गर्न दवाव दिदै कार्यक्रमस्थलमा होहल्ला गरेका थिए । तर पनि न आयोजकले कार्यक्रम समयमा सुरु गर्न सके न त लाइभ नै गर्न सके ।

बाहिरदेखिएका यी समस्या र भद्रगोलबाहेक आयोजकहरु अन्य आन्तरिक समस्या र भद्रगोलबाट गुज्रेका थिए । यस्तै तनाव, भद्रगोल र अव्यवस्थाकाबीचबाट सम्पन्न भयो नेपाल आइडल कतारमा । जसले इन्डियन आइडल, अमेरिकन आइडल जस्ता फ्रेन्चाइचको समेत बदनाम गरेको छ ।-ललित द्रस्टी बाट

4265
Shares

ट्रेन्डिङ