सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

3450
Shares
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने, लगानी ३.४ प्रतिशतले घट्ने

काठमाडाैं, १४ जेठ : चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।

मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको चालू आवको आर्थिक सर्वेक्षणले कोरोना सङ्क्रमणका कारण नेपालको अर्थतन्त्रमा चाप परेको देखाएको हो । कोरोनाका कारण सिर्जित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिका कारण आर्थिक गतिविधि शिथिल हुँदै जाँदा पर्यटन, उद्योग, निर्माण, व्यापार लगायतका क्षेत्र बढी प्रभावित भई आर्थिक विकास र स्थायित्वका परिसूचकमा चाप पर्दै गएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका कारण आर्थिक वृद्धिदर पनि निकै खुम्चिने प्रक्षेपण सर्वेक्षणले गरेको छ । प्रारम्भिक अनुमानअनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहनेछ; जबकि सरकारले चालू आवको बजेटमा ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । आर्थिक सर्वेक्षणअनुसार वार्षिक प्रतिव्यक्ति आय ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार रुपियाँ पुग्ने अनुमान छ ।

त्यस्तै कुल गार्हस्थ्य उत्पादनको ८१.९ प्रतिशत कुल उपभोग र बचत १८.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । महामारीले कुल लगानीमा प्रत्यक्ष असर पार्ने अनुमान पनि आर्थिक सर्वेक्षणले गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको सङ्कुचनका कारण चालू आवमा कुल लगानी ३.४ प्रतिशतले घटेर १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान छ । यद्यपि निरपेक्ष गरिबी अघिल्लो आवको १८.७ प्रतिशतले घटेर चालू आवमा १६.६७ प्रतिशत मात्र रहने प्रक्षेपण पनि गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

3450
Shares

ट्रेन्डिङ