सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’

अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’

10220
Shares
अभिनेत्री ऋचा शर्माले ल्याइन् ‘चलचित्र टिभी’

अभिनेत्री ऋचा शर्मा आफ्नो करिअरको दोस्रो चरणमा छिन्। यो चरणमा उनी अभिनयसँगै व्यवसायीका रूपमा सक्रिय भएकी छन्। उनको व्यवसाय पनि चलचित्र क्षेत्रसँगै जोडिएको छ। बुधबार उनले सञ्चालनमा ल्याएको ‘चलचित्र टिभी एप’ औपचारिक रूपमा सार्वजनिक भएको छ। ऋचाले एक महिनाअघि आफ्नो इस्टाग्रामबाट ‘चलचित्र टिभी एप’ बारे जानकारी दिएकी थिइन्। उक्त एप मार्फत देश तथा विदेशमा रहेका श्रोता-दर्शक समक्ष नेपाली फिल्म पुर्‍याउने लक्ष्य राखिएको ऋचा बताउँछिन्।

नेपाली फिल्म क्षेत्रको ‘डायस्पोरा’ संकुचित छ। फिल्म हलहरू सहर केन्द्रित छन् भने डिजिटल माध्यमबाट फिल्म सार्वजनिक गर्नमा निर्माताहरूको खासै चासो देखिँदैन। यस्तोमा ग्रामीण भेगका दर्शकहरू नयाँ फिल्म हेर्नबाट वञ्चित भइरहेका छन्। ‘अझ विदेशमा रहेका नेपालीले त नयाँ फिल्म हेर्न युट्युबकै भर पर्नुपर्ने अवस्था छ,’ ऋचाले एपको उद्देश्य खुलाउँदै सेतोपाटीसँग भनिन्, ‘मेरै फिल्म पनि विदेशमा रहेका साथीहरूले समयमा हेर्न नपाएको बताउनु हुन्छ।’

हलमा लागिसकेका नेपाली फिल्म छुटे, पछि हेर्न पाइने निकै कम प्लेटफर्म छन्। त्यसैले यो एपमार्फत् अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली फिल्म फैलाउन सकिने उनको आशा छ। विदेशी हलमा नेपाली फिल्म निकै कम संख्यामा चल्छ। अझ अमेरिकी र युरोपेली मुलुकमा औंलामा गन्न सकिन्छ। ठूला लगानीमा बनेका फिल्म विदेशसम्म पुग्ला तर सानो लगानीमा बनेका यसै सेलाएर जान्छन्। न हलमा चर्चा कमाउँछन् न फिल्म हेर्न रूचाउनेको चाप नै हुन्छ।

सानो लगानीमा बनेका फिल्म, वृत्तचित्र, छोटा फिल्म र सिरिजका लक्षित दर्शक भए पनि यो नयाँ एपले उनीहरूको माग सम्बोधन गर्ने ऋचाको दाबी छ। वेबमार्फत सार्वजनिक भएको चलचित्र एप केही सातामा एन्ड्रोइड र आइओएसमा पनि सार्वजनिक हुने जानकारी उनले दिइन्। यो कामको ‘आइडिया’ ऋचालाई अमेरिका बसोबास गरिरहेका विकल गुरुङ र सञ्जीव घिमिरेले दिएका हुन्।

सञ्जीव र विकल झन्डै दस वर्षदेखि अमेरिका बसोबास गर्दैछन्। उनीहरू दुवै सानैदेखिका साथी। दुवै ‘इन्टरनेशनल बिजनेस मेसिन कोर्पोरेसन’ सम्बन्धित सफ्टवेयर विकासमा काम गरिरहेका आइटी विज्ञ हुन्। अमेरिका रहँदा उनीहरूले नेपाली सिनेमा घर ‘मिस’ गर्थे रे। समय नमिलेर त कहिले चाहेको फिल्म नै सार्वजनिक नहुने अनुभव भोगे। युट्युबमा कहिले फिल्म अपलोड होला र हेरूँला भन्ने प्रतीक्षामा हुन्थे। तर कतिपय हेर्न चाहेका फिल्म नै नपाइने। उनीहरूलाई यो समस्या आफ्नो मात्र होइन भन्ने लाग्यो।

‘सायद त्यसपछि उहाँहरूले मलाई सम्पर्क गर्नुभयो,’ यो समस्या कम गर्न सकिएला कि भन्ने आशमा उनीहरूले गत वर्ष आफूलाई सम्पर्क गरेको ऋचा बताउँछिन्, ‘नेपाली फिल्मको डायस्पोरा बढाउनु पर्‍यो भन्ने कुरा चल्यो। चलचित्र क्षेत्रको कुरा थियो, उहाँहरूलाई साथ दिन राजी भएँ।’ अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली फिल्म पुर्‍याउने मुख्य उद्देश्यसहित चलचित्र टिभी एपको काम सुरू भयो। सञ्जीव र विकलले एप बनाउने, ऋचाले फिल्म निर्मातासँग सम्पर्क राख्ने तथा एपका लागि सामग्री मिलाउने। अनि दिपेक्ष विक्रम रानाले आर्थिक पाटो सम्हाल्ने सहमति भयो। दिपेक्ष ऋचाका श्रीमान हुन्। उनीहरूको गत मंसिरमा बिहे भएको हो।

सञ्जीव र विकलसँगको कुरापछि ऋचाले यसबारे अध्ययन थालिन्। एप कसरी चलाउनेदेखि यसका विशेषता र सुविधा के कस्ता हुनेछन्, ती सबै बारे जानकारी लिन थालिन्। ‘देश तथा विदेशका विभिन्न फिल्म एपहरू परीक्षण गरेँ। अध्ययनसँगै के-कस्ता फिल्म ग्राहकको रोजाइमा पर्छन् भन्ने खोज्दै, निर्माताहरूसँग कुरा पनि गरेँ,’ ऋचाले भनिन्।

ऋचाले विभिन्न एप प्रयोग क्रम त्यसमा आउने समस्याहरू बुझिन्। धेरै समस्या फिल्म पाइरेसी (चोरी) र बफरिङ (फिल्म सरर चल्ने) मा हुने थाहा पाइन्। यसका लागि उनीसहितको टोलीले विभिन्न सफ्टवेयर परीक्षण गरे। पाइरेसी सम्बन्धमा उनीहरूले ‘डिटेक्टिभ सफ्टवेयर’ राखे। ऋचाका अनुसार, यो एपले लिएको ‘कपिराइट’ फिल्म युट्युब, फेसबुक लगायत सामाजिक सञ्जालमा कुनै जानकारी बिना अपलोड हुन्छ भने २४ घण्टामा पत्ता लाग्नेछ। वेबसाइटको भने अझै काम भइरहेको छ। योबाहेक भिडिओ तथा फिल्म चल्दा बफरिङ समस्या रोक्न खास सफ्टवेयर प्रयोग भएको उनी बताउँछिन्।

चलचित्र टिभी एप २०७७ को दसैंमा सार्वजनिक गर्ने योजनामा काम भइरहेको थियो। लकडाउन भएपछि टोलीले समय खर्चिन पाए र एप चाँडै तयार हुने भयो। ‘सबैले समय दिन सकेकाले एप चाँडै तयार भयो। हातमा केही फिल्म पनि थिए। अहिले समय अनुकूल लागेर सार्वजनिक गर्‍यौं,’ ऋचाले भनिन्। अहिले वेबबाट मात्रै ९ हजार बढीले एपमा ‘साइन अप’ गरेका छन्। उक्त संख्यामध्ये सर्वाधिक नेपालबाट, त्यसपछि क्रमशः अमेरिकी र बेलायती मुलुकबाट छन्। अब एन्ड्रोइड र आइओएसबाट २० हजार हाराहारी हुने उनीहरूको आशा छ।

थुप्रै नेपाली पुगेका दुबई, मलेसिया, कुवेतलगायत मध्य-पूर्वी देशमा धेरै सुविधा पुर्‍याउने योजना उनीहरूको छ। एप सार्वजनिक भइसके पनि असोजसम्म परीक्षण चरणमै रहने ऋचा बताउँछिन्। प्रयोगकर्ताका प्रतिक्रिया मध्यनजर गर्दै सुधारमा बढी ध्यान दिइनेछ। ऋचा भन्छिन्, ‘तारिफ र गाली दुवैका लागि हामी तयार छौं। समस्या नभई समाधान निक्लिँदैन। कम्प्युटरबाट हुने कुरा हो, सबै मिलेको छ वा यही नै फाइनल भन्ने हुँदैन। प्रयोगकर्ताका प्रतिक्रियाअनुसार सुधार गर्दै अघि बढ्नेछौं।’

तत्काल एपमा ‘पे पर भ्यू’ अर्थात् हरेक फिल्म हेर्न तोकिएको शुल्क तिर्नुपर्ने प्रावधान छ। सन् २०२१ सम्म भने ‘सब्सक्रिप्सन मोडल’ अर्थात् मासिक वा वार्षिक एकमुष्ठ शुल्क तिरेर हेर्न मिल्नेछ। समयक्रममा यस्तै विशेषताका एपबीच प्रतिस्पर्धा हुने निश्चित छ। यस्तोमा चलचित्र टिभी एपले दीर्घकालीन रहन आफ्नै सामग्री बनाउने सोच बनाएको छ। फेरि अहिले नेपाली फिल्म संख्या धेरै छैन। एपमार्फत् नै सार्वजनिक गर्न ६-८ महिनालाई पुग्ने फिल्म होलान्। कोरोना र लकडाउनका कारण छायांकन रोकिएको छ। त्यसपछि फिल्म अभाव हुनसक्ने सम्भावना रहेको ऋचा बताउँछिन्।

‘त्यसैले हामी आफ्नै सामग्री बनाउनेबारे सोचिरहेका छौं। हामी वेब-सिरिजमा काम गर्छौं,’ ऋचा भन्छिन्। यसले नयाँ तथा पुराना क्षमतावान् कलाकारले काम पाउने र नयाँ प्रयोगात्मक फिल्म तथा भिडिओ पनि बन्ने उनको आशा छ। हाल चलचित्र टिभी एपमा ‘छक्का पञ्जा ३’, ‘दाल भात तरकारी’ र ‘छ माया छपक्कै’ गरी तीन फिल्म तयार छन्। योबाहेक ६ वटा छोटा फिल्म पनि देखाइँदैछ। यी फिल्म हाल ९९ रूपैयाँ तिरेर हेर्न सकिन्छ। पछि भने फिल्म र गुणस्तरअनुसार शुल्क तोकिने उनले जानकारी दिइन्।

ऋचाका अनुसार यसरी एपमार्फत् फिल्म सार्वजनिक गर्दा निर्मातालाई ‘मिनिमम् ग्यारेन्टी’ अर्थात न्यूनतम शुल्क दिइन्छ। तत्काललाई मुनाफाको ६० प्रतिशत निर्माता र बाँकी एपलाई हुने नीति रहेको उनी बताउँछिन्। चलचित्र टिभी एपमा नेपाली समयअनुसार बेलुका ६ बजेबाट फिल्म हेर्न सकिन्छ।

10220
Shares

ट्रेन्डिङ