सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मुलुकभर रगत अभाव, बिरामी मारमा

मुलुकभर रगत अभाव, बिरामी मारमा

4040
Shares
मुलुकभर रगत अभाव, बिरामी मारमा

काठमाडौं, ७ भदाै । बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।

देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत संकलन हुन नसक्दा अभाव बढेको हो । रक्तदान कार्य ठप्प हुँदा अहिले केन्द्रीय रक्त सञ्चार र जिल्ला जिल्लामा रगत आवश्यक पर्ने बिरामीहरू निकै मारमा परेका छन् । ब्लड बैंक, अस्पताल र केन्द्रीय रक्त सञ्चार सेवामा रगतको अभाव खड्किएपछि सामाजिक सञ्जालमा रगत आवश्यकता भन्दै माग गर्न थालिएको छ ।

कोभिड–१९ संक्रमण हुनुअघि केन्द्रीय रक्तसञ्चार सेवामा दैनिक १ सय ५० पिन्ट रगत संकलन हुने गरेकामा हाल शून्य प्रायः छ । देशभर रक्तदानका लागि क्याम्पहरू समेत सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनअघि केन्द्र मातहत मात्रै दैनिक चारदेखि सात वटासम्म क्याम्प हुने गरेको थियो ।

बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले अत्यन्तै न्यून संख्यामा रगत मौज्दात रहेको पाइएको छ । दुर्घटनामा पर्ने, रक्तस्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीका आफन्तहरू केन्द्रीय रक्तसञ्चार केन्द्रमा आए पनि रगत पाउन नसकेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रीय रक्तसञ्चार सेवामा गत बिहीबार ३२ जना रक्तदाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत संकलन भएको थियो । तर, थप ६१ जना रगत नै नपाई फर्किनुपरेको थियो । यस्तै, शुक्रबार २६ जना रगत नपाएर फर्किएका थिए । केही दिनयता धरान, विराटनगर, चितवनलगायतमा रगतको अभाव खड्किएको छ ।

केन्द्रीय रक्त सञ्चार सेवाका जनसम्पर्क अधिकृत सन्देश थापाले रक्तदान गर्न रक्तदाताहरूलाई आग्रह गरे । उनले भने, ‘यदि ६/७ जना रक्तदानका लागि जम्मा हुन सक्ने अवस्था छ भने केन्द्रीय रक्त सञ्चार सेवाले इच्छुकलाई लिन जाने र घर फिर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । उपत्यकाभित्र पायक पर्ने स्थानमा पुग्न तयार छौं । पूर्ण सुरक्षाको ग्यारेन्टी हामी गर्छांै ।’

सुरक्षित तवरले रक्तदान गर्दा गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संगठनले यसघि नै स्पष्ट पारिसकेको छ । चिकित्सकका अनुसार स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् ।

रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ । मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह, यौनरोग तथा एचआइभी र एड्स नलागेको व्यक्तिले रक्तदान गर्न सक्छन् । गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

4040
Shares

ट्रेन्डिङ