सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • निःशुल्क पाएको औषधिमा पनि अल्झन

निःशुल्क पाएको औषधिमा पनि अल्झन

5965
Shares
निःशुल्क पाएको औषधिमा पनि अल्झन

काठमाडाैं, २९ भदाै । सत्र दिनअघि बंगलादेश सरकारले निःशुल्क दिएको रेमडिसिभिर औषधि शनिबार बल्ल काठमाडौं आएको छ। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई चलाइने यो औषधि तत्कालै ल्याउनुपर्नेमा औषधि व्यवस्था विभागले बेलैमा अनुमति नदिँदा यति ल्याउन ढिला भएको हो।

विभिन्न निजी औषधि सप्लायर्स कम्पनीहरुले ल्याएको रेमडिसिभिर बजारमा बाँकी रहेकाले व्यापारीहरूको चलखेलमा निःशुल्क औषधि ल्याउन ढिला गरिएको स्रोतको दाबी छ। व्यापारीको चलखेलमा औषधि व्यवस्था विभागले निःशुल्क रेमडिसिभिर ल्याउन ढिलो गरी अनुमति दिएको स्रोत बताउँछ।

बंगलादेशको काठमाडौंस्थित दूतावास स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई पटकपटक अनुरोध गरेपछि मात्रै नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार रेमडिसिभिर काठमाडौं ल्याइएको हो। स्रोतका अनुसार १८६ कार्टुनमा पाँच हजार भाइल रेमडिसिभिर औषधि आएको छ।

‘सत्र दिनअघि बंगलादेश सरकारले सित्तैमा औषधि दिँदा पनि नेपाल सरकारले छिटो ल्याउन पहल गरेन। बिरामीका आफन्तले व्यापारीहरुले ल्याएको औषधि किन्नु प¥यो,’ स्रोतले भन्यो ‘औषधि व्यवस्था विभागले अनुमति दिन आलटाल गर्दा ल्याउन ढिला भएको हो।’

स्रोतका अनुसार सित्तैमा आएको औषधि राजस्व लिने कि नलिने भन्ने विवादका कारण भन्सारमा रोकिएको छ। ‘बंगलादेश सरकारले सित्तैमा औषधि दिएको छ। विमानस्थल भन्सारमा औषधिको राजस्व लिने कि नलिने भन्ने विवाद हुन्छ, समस्या पनि कहाँकहाँ हुन्छ भन्ने सरकारी निकायलाई नै थाह हुँदैन’, स्रोतले भन्यो।

कोभिड–१९ का बिरामीलाई उपचारमा प्रयोग गरिने ‘रेमडिसिभिर’ ५ हजार भाइल भदौ ११ गते बंगलादेश सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। हस्तान्तरणलगत्तै दूतावासले नेपाल सरकारलाई जानकारी गराउँदै औषधि ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका थियो। त्यतिबेला भन्सार विभागले भदौ १२ गते बिहानसम्म सबै प्रक्रिया पूरा गर्ने जानकारी बंगलादेशस्थित नेपाली राजदूतलाई गराएको थियो।

यसअघि सिप्ला, माइलोन, हेट्रो कम्पनीले रेमडिसिभिर दुई÷दुई हजार भाइल ल्याउन अनुमति पाएका थिए। ती कम्पनीहरुले ल्याएको औषधि बजारमा रहेका कारण बंगलादेश सरकारले निःशुल्क दिएको औषधि काठमाडौं ल्याउन ढिला गरिएको हो। ‘बंगलादेशस्थित नेपाली दूतावासले धेरैपटक स्वास्थ्य मन्त्रालयलाई औषधि नेपाल लैजाने व्यवस्था गर्न आग्रह गरेको थियो तर शनिबार मात्रै सेनाको स्काई ट्रकबाट लगिएको छ’, नेपाली दूतावास स्रोतले भन्यो।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई यो औषधि चलाइन्छ। सुईमार्फत यो औषधि दिइन्छ। यसले बिरामीको स्वास्थ्यमा छिटो सुधार ल्याउन सघाउने चिकित्सकको दाबी छ। तर यो कोभिड–१९ का बिरामीलाई निको बनाउने औषधि भने होइन। नेपालमा यो औषधिको कालोबजारी भैरहेको अवस्थामा सरकारले साउन १३ मै ल्याउन निर्देशन दिएको थियो। तर औषधि व्यवस्था विभागले साउन अन्तिम साता मात्रै तीनवटा कम्पनीलाई औषधि ल्याउन अनुमति दियो।

अमेरिकास्थित जिलिड कम्पनीले उत्पादन गरेको यो औषधिलाई अमेरिकी सरकारले कोरोना संक्रमितलाई प्रयोग गर्न अनुमति दिएको थियो। हाल यो औषधि भारत, पाकिस्तान, बंगलादेशले पनि उत्पादन गर्दै आएका छन्।

चिकित्सकका अनुसार एक बिरामीलाई ११ भाइल चलाउनुुपर्छ। स्वास्थ्य मन्त्रालयले दूतावासलाई बंगलादेश सरकारसँग २ हजार भाइल माग्न अनुरोध गर्दै पत्राचार गरेको भए पनि राजदूत डा. वंशिधर मिश्रको पहलमा ५ हजार भाइल प्राप्त भएको हो। नेपालमा सुरुमा साउन ७ गते विराटनगरका चिकित्सक डा. ज्ञानेन्द्र कार्कीलाई यो औषधि चलाइएको थियो।

कार्कीका आफन्तले कोलकाताबाट मगाएका थिए। त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका कार्कीलाई त्यहाँका चिकित्सकले रेमडिसिभिर औषधि आवश्यक रहेको भनेपछि उनका आफन्तले प्लेन चार्टर गरेर ल्याएका थिए। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

5965
Shares

ट्रेन्डिङ