सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पनौती ‘विश्व सम्पदा’मा पच्चीस वर्षपछि सूचीकृत

पनौती ‘विश्व सम्पदा’मा पच्चीस वर्षपछि सूचीकृत

12820
Shares
पनौती ‘विश्व सम्पदा’मा पच्चीस वर्षपछि सूचीकृत

काभ्रे, ३ पुस : ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । यूनेस्कोद्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ ।

सूचीकृतको अन्तिम प्रक्रिया नेपालको मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गएको साल नै अघि बढाइएपछि यूनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले अहिले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गरेका थिए ।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न यूनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

‘हामी यो वर्ष सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छु, नगरप्रमुख भीम न्यौपानेले भने । उनका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन एक करोड रुपैयाँ बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिए ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । यूनेस्कोको नेपालमा रहेको निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानेले बताए ।

पुरातत्त्व विभागद्वारा अहिले पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।

12820
Shares

ट्रेन्डिङ