सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

6125
Shares
आयोगद्वारा पूर्वप्रमुख आयुक्तसँग छलफल

काठमाडौं, माघ २०ः निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्वप्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्वप्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्तज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मात्रै निर्वाचनमा जान आयोगलाई सुझाए । त्यस्तै उनले आयोगलाई निर्वाचनको तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा जोड दिए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दलले पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए ।

उनीहरूले आयोगलाई संयुक्त रूपमा निर्वाचन गर्नेबारे दलहरूसँग निरन्तर सर्वदलीय बैठक गर्न, चुनावी माहोल निर्माण गर्न र सरकारलाई चुनावी माहोल निर्माण गर्ने वातावरण बनाइदिन आग्रह गर्नुपर्ने सुझाए ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरू नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल पनि सहभागी थिए ।

निर्वाचन आयोगले भने मतदाता अद्यावधिक कार्यक्रम सुरु भएको, मतदान स्थल पुनरावलोकनको काम जारी रहेको र आचारसंहिताको खाका बनाइरहेकोबारे जानकारी गरायो ।

यसैगरी निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारी र आवश्यक बजेटका विषयमा समेत भइरहेको प्रगति र दलहरूसँग विभिन्न चरणमा भएका छलफलबार जानकारी दिइयो ।

सरकारले १७ र २७ वैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेयता आयोगले निर्वाचनबारे सबै पक्षसँग छलफल गर्दै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

6125
Shares

ट्रेन्डिङ