सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अक्सिजन सिलिन्डर अपर्याप्त

अक्सिजन सिलिन्डर अपर्याप्त

5180
Shares
अक्सिजन सिलिन्डर अपर्याप्त

काठमाडौं, १५ वैशाख । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ ।

मन्त्रालय सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सिलिन्डर ल्याउन कूटनीतिक प्रयास जारी रहेको छ । ‘नेपालमा सिलिन्डर बन्दैन, यदि सिलिन्डर किनेर घरमा राखियो भने भर्ने भाडा बजारमा नभेटिन सक्छ,’ उनले भने, ‘मार्केटमा भएका सिलिन्डर बाहिर देश पनि पठाउनुभएन ।’

सरकारले अक्सिजन अभाव नहुने तर सिलिन्डर अभाव हुनसक्ने आँकलन गर्दै विदेशबाट ल्याउन कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट रहेको छ । जसबाट दैनिक २ हजार ५ सय ४९ सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमताका छन् ।

निजी क्षेत्रले प्रतिदिन ७ देखि ८ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएका छन् । केही अस्पतालमा लिक्विड अक्सिजन टयांक छन् । देशभरका स्वास्थ्य संस्थामा ६ देखि ७ हजार सिलिन्डर छन् ।

सरकारी तथा निजी अस्पतालले बजेट सुनिश्चितता भए पनि समयमा हाइडिपेन्डेन्सी युनिट (एचडीयू) तयारी अवस्थामा नराखेको देखिएको छ । मन्त्रालयले युनिट छिटो सञ्चालनका लागि द्रुत गतिमा काम गर्न भन्दै सबै अस्पताललाई निर्देशन दिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

हालसम्म देशभरका २३ अस्पतालमा पहिलो र दोस्रो चरण गरी १ हजार शय्याका एचडीयू तयार भएर सञ्चालनमा आइसक्नुपर्ने थियो । तर, केही अस्पतालमा अझै एचडीयू सञ्चालनमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५ शय्याको एचडीयू सञ्चालनमा ल्याउन ३ करोड १२ लाख रुपैया“ लागत लाग्छ । अझैसम्म वीर अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताललगायतमा एचडीयू सञ्चालनमा आउन सकेको छैन । केही अस्पतालमा भने सञ्चालनमा आउनेक्रममा छन् ।

यसैबीच, संसदीय समितिले अक्सिजन, भेन्टिलेटर र आईसीयू तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले अक्सिजन, भेन्टिलेटर र आईसीयू अभावमा बिरामी छट्पटिएर मृत्युवरण हुने अवस्था आउन नदिनका लागि ‘कुनै पनि कसर बाँकी नराख्न’ सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले सरकारी र निजी अस्पतालमा कोभिड–१९ उपचारमा लाग्ने दररेटसम्बन्धी निति बनाएर यथाशीघ्र लागू गर्न सरकारलाई निर्देशन दिएको बताइन् । उनका अनुसार कोभिड–१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ ।

संसदीय समितिले कोभिड बिरामी कुरुवालाई स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न सुझाव दिएको छ ।

भेन्टिलेटर र आईसीयू भरिए
त्यस्तै, गम्भीर प्रकृतिका संक्रमित बढेपछि देशभरका सरकारी तथा निजी अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू भरिएका छन् ।

गम्भीर संक्रमितले भेन्टिलेर नपाउँदा आफन्तले मन्त्री, सांसददेखि चिकित्सकलाई लगातार फोन गर्न बाध्य भएका छन् । बेड नपाउँदा जिल्लाबाट काठमाडौं आएका संक्रमितका आफन्तले जिल्लावासीको हैसियतले आफूलाई फोन आउने गरेको सांसदले गुनासो गरेका छन् ।

‘मलाई फोन आइरहेको छ, बेड मिलाइदिनुप¥यो भनेर, यस्तोबेला स्वास्थ्य मन्त्रालयले बेडको अवस्थाबारे सूचना आमनागरिकले देख्नेगरी प्रत्येक दिन सार्वजनिक गर्नुपर्छ,’ पूर्वशिक्षामन्त्रीसमेत रहेका गिरिराजमणि पोखरेलले भने ।

त्यस्तै, विभिन्न अस्पतालमा उपचारमा संलग्न चिकित्सकले ‘बेड मिलाइदिनुप¥यो’ भनेर तारान्तार फोन आउने गरेको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २ सय १५ आईसीयू र ८४ जना भेन्टिलेटरमा छन् ।

एकै दिन ४ हजार ५ सय २४ संक्रमित
देशभर कोरोना संक्रमण दर अत्यधिक बढ्न थालेको पाइएको छ । मंगलबार मात्रै देशभर थप ४ हजार ५ सय २४ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १५ हजार ६ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ । नेपालमा संक्रमित सख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।

देशभर सक्रिय संक्रमित संख्या २६ हजार २ सय २५ पुगेको छ । हालसम्म २ लाख ७८ हजार ५ सय ६ संक्रमित निको भइसकेका छन् । ५८ जना क्वारेन्टाइनमा छन् ।

केही दिनयता संक्रमण दर उकालो लाग्दो क्रममा छ । संक्रमित संख्या बढ्दै गए दैनिक ११ हजार जनासम्म संक्रमण देखिने स्वास्थ्य मन्त्रालयको आँकलन छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

5180
Shares

ट्रेन्डिङ