सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको उपयोगी

प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको उपयोगी

8335
Shares
प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधिको उपयोगी

काठमाडौं, १९ वैशाख । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिए ।

उनका अनुसार स्वस्थ खानपान र आयुर्वेदिक औषधिको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ  । “गम्भीर अवस्थामा पुगेका कोरोना सङ्क्रमितले भने आयुर्वेदिक औषधिको मात्रै भर पर्नु हुँदैन,” निर्देशक केसी सुझाव दिँदै थपे, ‘‘त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आईसीयू भेन्टिलेटरको आवश्यकता पर्छ । ज्यादै कम अक्सिजन भएको बेला आयुर्वेदिक औषधिले मात्रै ठीक नहुन सक्छ ।”

तर हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने उनको भनाइ छ । यो औषधि सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ  । चिकित्सालयले कोरोना भाइरसको सङ्क्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको जानकारी दिए  ।

उनका अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिए । “कोरोना सङ्क्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ भन्ने विश्वासका आधारमा वितरण अगाडि बढाएका हौँ,” उनँले थपे, “यो औषधिको सय वर्षको इतिहास छ ।”

नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटीहरू अधिक मात्रामा छन् ।

यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्धनाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तìवहरू रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको डा. केसीको भनाइ छ । कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ ।

आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्राप्त भएको उनको तर्क छ । घरायसी रूपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाईको पात, कालो जिरा, बेसारलगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिने राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका डा. जितेन्द्र श्रेष्ठको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

8335
Shares

ट्रेन्डिङ