सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चरम शुल्क असुल्दै निजी अस्पताल

चरम शुल्क असुल्दै निजी अस्पताल

4870
Shares
चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं, २३ वैशाख । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।

विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’ मा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरिएका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

सो कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ ।

यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो । त्यस्तै, ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । सो अस्पतालद्वारा जारी कोभिड–१९ उपचारसम्बन्धी मञ्जुरीनामाअनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन/सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्डअनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५ सय, मध्यम जटिल केस का लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

गम्भीर विरामीको आईसीयूमा भेन्टिलेटरसहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर, केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले सरकारले तोकेको शय्या शुल्कभन्दा ५० प्रतिशत जोडेरमात्रै लिन मिल्ने प्रस्ट पारेका छन् । यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित उपचारका लागि भन्दै तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने भएको छ ।

मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अत्यधिक शुल्क लिएको पाइए कडा कारबाही गरिने छ । उनले कुनै पनि अस्पतालले तोकिएभन्दा बढी शुल्क लिएको पाइए स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयमा खबर गर्न आग्रहसमेत गरेका छन् ।

महामारी संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समय ‘अनावश्यक दुःख दिने, समस्या बढाउने कार्य नगर्न’ सरकाले आग्रह गरेको हो । बुधबार ५८ को मृत्यु देशभर बुधबार ५८ सहित हालसम्म ३ हजार ४ सय ७५ संक्रमितको मृत्यु भएको छ ।

सक्रिय संक्रमित सख्ंया ६६ हजार ३ सय ५२ पुगेको छ । बुधबार नै १ हजार ९ सय ९३ संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म २ लाख ८९ हजार ७ सय ८३ संक्रमित निको भएका छन् । नेपालमा कुल संक्रमितमध्ये निको हुने दर ८० दशमलव ६ प्रतिशत छ ।

गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ संक्रमित पुष्टि भएका छन् । २० हजार ७ सय ५६ जनाको पीसीआर र ६ सय १६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६ सय ५९ मा कोरोना पुष्टि भएको छ । हालसम्म देशभर ३ लाख ५९ हजार ६ सय १० व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बुधबार ६६ हजार ३ सय ५२ सक्रिय संक्रमित छन् । जसमध्ये ६१ हजार ५ सय ८८ जना होम र ४ हजार ७ सय ६४ संस्थागत आइसोलेसनमा छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

4870
Shares

ट्रेन्डिङ