सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

5875
Shares
अक्सिजन हाहाकार, अस्पतालले हात उठाए

काठमाडौं, २७ वैशाख । देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ । अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, ‘अब कहाँ खोज्न जाने होला ?

ओम अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने स्पष्ट पारेको छ । उसले आइतबार सूचना जारी गर्दै अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो ।

सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएपछि बिरामी उपचारका लागि तत्पर र तीव्र इच्छा हुँदाहुँदै उपचार गर्न असमर्थ रहेको अस्पतालले जनाएका छन् । ‘अस्पतालले अक्सिजन छैन भन्यो अनि खाली सिलिन्डरसहित अक्सिजन खोज्दै बालाजु औद्योगिक क्षेत्र आएको हुँ,’ संक्रमितका एक आफन्तले राजधानीसँग भने ।

यसअघि, अल्का अस्पताल, मेडिकेयर अस्पताल, लिमिटेड, नेपाल भारतमैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर, हेल्पिङ ह्यान्डले अक्सिजन अभाव भएको बताइसकेका छन् ।

अक्सिजन कार्यदल गठन
सरकारले कोरोना संक्रमित उपचारमा आवश्यक अक्सिजन सहज उपलब्ध गराउन कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठका संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तथा वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र नेपाल प्रहरी अस्पतालका एकएक चिकित्सक छन् ।

३ लाख २ हजार ७ सय ८७ संक्रमणमुक्त
देशभर आइतबार एकै दिन ४ हजार २२ संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनामुक्त संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ५० संक्रमित थपिएका छन् । आइतबार ५२ संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु संख्या ३ हजार ६ सय ८४ पुगेको छ । देशभर ८ सय ३२ संक्रमित अस्पतालको आईसीयू र २ सय ६७ भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा आईसीयू र भेन्टिलेटरमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १३ आईसीयू र १७ भेन्टिलेटर, प्रदेश २ मा ६० आईसीयू र ३७ भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ४ सय ४३ आईसीयू र १ सय ५७ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ६१ आईसीयू र १३ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ८६ आईसीयू र २१ जना भेन्टिलेटर, कर्णालीमा ३३ आईसीयू र ११ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३६ आईसीयू र ११ जना भेन्टिलेटरमा छन् ।

काठमाडौं उपत्यकाका अस्पतालमा १ सय ६९ संक्रमित आईसीयू र भेन्टिलेटर र १ हजार ४ सय ६ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न मास्क समूचित प्रयोग, भौतिक दूरी र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

5875
Shares

ट्रेन्डिङ