सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसमा गणेश लामा निर्णायक

काभ्रे कांग्रेसमा गणेश लामा निर्णायक

81435
Shares
काभ्रे कांग्रेसमा गणेश लामा निर्णायक

काभ्रे : काभ्रे कांग्रेसको जिल्ला महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व विवाद पनि चुलिएको छ । काभ्रे कांग्रेसको यो विवाद नयाँ भने होईन । जानकारीहरूका अनुसार दुई दशक अर्थात् झन्डै २० वर्षदेखि जिल्ला नेतृत्वमा यो वा त्यो कोणबाट एक अर्का दोषारोपण गर्दै आ–आफ्नो गुटगत स्वार्थमा हानथापमा चल्दै आएको छ ।

एकथरीले कांग्रेसको १३ औं महाधिवेशनबाट गुटगत भागबण्डा केहि रोकिएको महशुस गरे । केहिले अझ संस्थागत गरेको अनुभूति गरे । १४ औं महाधिबेशनको तयारी स्वरुप क्रियाशील सदस्यको नवीकरण तथा नयाँ सदस्यताको विवादले जिल्ला नेतृत्व फेरि पनि गुटगत दलदलमै फसेको छ ।

कांग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाका अनुसार क्रियाशील सदस्य संख्या १० हजारबाट बढेर २० हजार पुगेको छ । १३ औं महाधिवेशनमा १० हजारमात्रै क्रियाशील सदस्य थिए । अहिले त्यो संख्या ठ्याक्कै दोब्बर बनेको छ । तर क्रियाशिल सदस्य वितरणमा गुटगत ब्यवहार गरिएको कतिपय कांग्रेसका युवाहरूले गुनासो गर्न छोडेका छैनन् ।

प्रतिनिधि सभा १ मा केन्द्रिय सदस्य शिव हुमागाईंको प्रभाव पर्ने भएकाले तिर्थ लामा, पार्टी सचिब दिनेश लामा, सहसभापति रमेश हुमागाईं सहितको टोलि जिल्ला सभापति मधु आचार्य खेमालाई तह लगाउने दाउमा छन् । जसको पहिलो निशाना प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) का उमेदवार गणेश लामा बनाईने धेरैको ठम्याइ छ ।

त्यसै गरि प्रतिनिधि सभा २ अन्तर्गतका क्रियाशील सदस्यता वितरण र आन्तरिक रणनीतिमा सभापति आचार्य कुनैपनि हालतमा केन्द्रिय सदस्य शिव हुमागाईंलाई कम्जोर बनाउने योजनामा रहेको बुझिएको छ । यसरि व्यक्ति केन्द्रित राजनीति गर्दा समग्र जिल्ला संगठन फितलो हुने निश्चित छ । सभापति आचार्यलाई साथ दिँदै प्रतिनिधि सभा २ का सभापति कन्चनचन्द्र वादे, सहसभापति महेश खरेल एवं प्रदेश सभा उमेदवार गणेश लामा लागि परेका छन् ।

गणेश लामा कांग्रेस राजनीतिमा पछि आएका हुन् । लामा विजय कुमार गच्छदारले नेतृत्व गरेको दलबाट राजनीतिमा होमिएका थिए । कांग्रेससँग एकीकृत भएपछि कांग्रेस काभ्रेको दरिलो खम्बाको रूपमा लामाको उदय भएको छ । गुटमा खासै रमाउन नचाहाने लामा पछिल्लो समय युवा माझ लोकप्रिय बन्दै गईरहेका छन् ।

लामा २०७४ सालमा भएको आम निर्वाचनमा बागमती प्रदेश सभा सदस्य अन्तर्गत संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (ख) मा एमालेका चन्द्र लामासँग पराजय भएका थिए । त्यो बेला पनि एमाले र माओवादी नमिलेको हो भने गणेश लामा स्पष्ट मतका साथ विजयी हुने धेरै कांग्रेसीहरूले अहिले पनि भन्दै आईरहेका छन् ।

अहिले क्रियाशील सदस्य वितरणमा जति गुट हेरेर एकले अर्कोलाई माईनस गर्न खोजेपनि गणेश लामा दुबै पक्षको रोजाईमा पर्ने छन् । अहिले लामा जिल्ला सभापति मधु आचार्यको पक्षमा खुलेका छन् । आचार्य रामचन्द्र पौडेल पक्षका हुन् ।

पूर्व सभापति शिव हुमागाईं देउवाका खास मान्छे हुन् । उनी पनि गणेश लामालाई चिडाउने पक्षमा छैनन् । संसदीय निर्वाचनमै जानु पर्दा पनि गणेश लामा हुमागाईको दरिलो पात्रो हुनेछन् । भलै अहिले गणेश लामासंग पार्टी महाधिवेशनमा मतदान गर्ने सदस्यको संख्या कम होला । तर यहि मत आचार्य र हुमागाईका लागि निर्णायक भने निश्चित छ ।

महाधिवेशनमा लामाले युवाहरूको साथमा आफुलाई दरिलो दंगले प्रस्तुत गर्ने पक्का छ । कांग्रेसबाटै उम्मेदवार बनेर कम मतले पराजय बेहोरेका लामालाई धक्का दिने गरी अघि बढ्ने मनस्थितिमा आचार्य र हुमागाई दुवै पक्ष नरहेको यी दुई नेताका निकटस्थहरू बताउँछन् । गण्डकी प्रदेशको सरकार ढाल्न उनले गरेको कसरत र सफलताले उनको राजनीति जीवनको उचाई बढाईदिएको छ ।

गणेश लामाले २०७२ सालको विनाशकारी भुकम्प देखि नै आफ्नो निर्वाचन क्षेत्रमा पनि उपस्थिति बाक्लो बनाएका छन् । कोरोना भाईरसको पहिलो र दोस्रो चरणमा पनि लामाको सहयोग अरू कांग्रेसका नेताहरूको भन्दा बढी नै छ ।

कांग्रेसको निर्वाचन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन आउँदो असार २० गते, गाउँ/नगर अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते हुने छ । कांग्रेसको वडा अधिवेशन साउन ६ गते, गाउँ/नगर अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रिय अधिवेशन साउन १६ गते हुनेछ ।

प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन तथा एकमात्रै प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन साउन २० गते, एक भन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन साउन २४ गते गर्ने कार्य तालिका सार्वजनिक भएको छ । त्यसैगरि प्रदेश अधिवेशन भदौ १ र १ गते हुनेछ ।केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने जनाइएको छ।

81435
Shares

ट्रेन्डिङ