सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

6580
Shares
नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

काभ्रे : नमोबुद्ध नगरपालिका १० का दलित समुदायलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ ।वडाका सबै ८० दलित परिवारका लागि एक एक थान फिल्टर वितरण गरिएको हो । बुधबार आयोजित एक कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले फिल्टर वितरण गरेका थिए ।

नमोबुद्ध नगरपालिकाले प्रत्येक वडाका लागि दलित समुदायको आयआर्जन कार्यक्रमका लागि एक÷एक लाख रुपैयाँको दरले बजेट विनियोजन गरेको थियो । सोही रकमबाट स्वस्थ जीवनका लागि शुद्ध पिउने पानी अपरिहार्य रहेको सन्देश प्रवाहका लागि चेतनामुलक कार्यक्रमसमेटेर पानी शुद्ध बनाउने फिल्टर वितरण गरिएको हो ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले दलित समुदायको उत्थानका लागि नमोबुद्ध नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको र यसको पूर्ण तथा सफल कार्यान्वयनका लागि सोही समुदायका व्यक्तिहरु बढी क्रियाशिल भएमा प्रभावकारी बन्ने बताइन् । दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नमोबुद्ध नगरपालिकाबाट कस्ता अपेक्षा रहेका छन् माग गर्नसमेत उनले आग्रह गरिन् । उनले बालबालिकालाई शिक्षादिक्षा दिन आग्रह गर्दै चेतनाको विकास नै सबैभन्दा ठूलो विकास भएको पनि बताइन् ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले लक्षित वर्गका लागि नगरले सक्दो बजेट विनियोजन गरेको र त्यो बजेट लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिए । नगरपालिकाले दलित समुदायको आयआर्जन कार्यक्रमअन्तर्गत फरकफरक वडामा फरकफरक ढंगका कार्यक्रमहरु कार्यान्वयनमा लगिएको पनि बताए ।

अहिलेको अवस्थामा शुद्ध पिउने पानी स्वास्थ्यका लागि महत्वपुर्ण भएको महसुस गर्दै सांकेतिकरुपमा चेतनामुलक कार्यका लागि फिल्टर वितरण गरिएको र यसको पूर्ण सदुपयोग गर्न उनले आग्रह गरे । वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमुलक कार्यमा प्रयोगका लागि बाजा खरिदको योजना बनाइएको बताए । विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नं. १० मै वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै यसको सफल कार्यानवयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेको बताए । पानीबाट लाग्ने रोगबाट नगरबासी सुरक्षित होउन् भन्ने उद्देश्यले यस्ता कार्यक्रममा पनि नगरपालिकाले जोड दिएको उनले बताए ।

कार्यक्रममा वडा सदस्य बिष्णुकुमारी बिकले कार्यक्रमको आवश्यकताका विषयमा प्रष्ट पारेकी थिइन् ।नमोबुद्ध नगरपालिकाले दलित आयआर्जन कार्यक्रमअन्तर्गत यसअघि वडा न. २ मा बाख्रा तथा वडा नं. ३ मा बाजा वितरण गरेको थियो । अन्य वडामा पनि आयमुलक । चेतनामुलक कार्यक्रमहरु भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।

6580
Shares

ट्रेन्डिङ