सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

4315
Shares
नमोबुद्धमा अशक्तलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

काभ्रे :नमोबुद्ध नगरपालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरबासीका लागि घरघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । गत आर्थिक बर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरुका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालिएको हो । सोही क्रममा आज आइतबार वडा नं. २ का २० जनालाई लुम्बिनी विकास बैंकका कर्मचारीहरुसहितको टोली पुगेर भत्ता वितरण गरिएको छ ।

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिएका छन् । नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० बर्षमाथिका जेष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० बर्षमाथिका दलित जेष्ठ नागरिकको संख्या १ सय २१ रहेको छ ।

यस्तै २ हजार रुपैयाँ मासिक भत्ता पाउने जेष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् । यसैगरी मासिक ३ हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपांगको संख्या ७१, मासिक १६ सय रुपैयाँ पाउने आंशिक अपांगको संख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ बर्षसम्मका)को संख्या २ सय २७ रहेको छ ।

नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता विरण गर्न थालेको हो । आइतबार २ नंवरबाट सुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमश सञ्चालन हुनेछ ।नमोबुद्ध नगरपालिकाले जेष्ठ नागरिक, अपांग लगायतका लागि विगतदेखि नै विशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यो बर्षदेखि जेष्ठ नागरिकका लागि मुस्कानसहितको सेवा अन्तर्गत दाँत राख्ने, कान नसुन्नेहरुका लागि सहयोगी उपकरण व्यवस्था गर्ने लगायतका योजना अघि सारेको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिएका छन् ।

4315
Shares

ट्रेन्डिङ