सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

5610
Shares
नमोबुद्धमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापना हुने

काभ्रे : नमोबुद्ध नगरपालिकामा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइएको छ । नमोबुद्ध नगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नगरभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका विषयमा छलफलत सुरु भएको छ । सोही क्रममा आज बुधबार नगरपालिकामा नगर प्रमुख टिपी शर्मा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाबीच छलफल सम्पन्न भएको छ । छलफलले नगरपालिकाभित्र पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफू निर्वाचित हुनुअघि नगरबासीसँग गरेको प्रतिवद्धताअनुसार नगरमा पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाको पहल गरिएको बताए । उनले हिजोमात्रै काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका निर्देशक जमाल उद्दीन अहमदसँगको छलफलमा नगरपालिकाभित्र कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिँदै पशु र कृषिसँग सम्वन्धीत कार्यक्रम संयुक्तरुपमा गर्न सार्कको समेत सहभागिता गराइने बताए ।

‘नमोबुद्ध नगरपालिका कृषि र पशुपालनको क्षेत्रमा अब्बल नगरपालिका हो, त्यसलाई थप प्रवद्र्धनका लागि अनुसन्धान केन्द्र स्थापना हुनु जरुरी छ’ तिमल्सिनाले भने । छलफलमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. थापाले पशु विज्ञान अनुसन्धान केन्द्र स्थापनाका लागि नमोबुद्ध नगरपालिका उपयुक्त रहको र नगरमा अनुसन्धान केन्द्र स्थापनाको प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।

नमोबुद्ध नगरपालिकाले नगरकै वडा नं. ५ मा कृषि अनुसन्धान केन्द्र स्थापनाको पहल अघि बढाइसकेको छ । नगरपालिकाले पशुपालनलाई प्रवद्र्धन गर्न अघिल्लो आर्थिक बर्षदेखि नगरका विभिन्न वडामा उन्नत जातका भैसीका पाडी वितरणको काम सुरु गरिसकेको छ भने यो बर्ष पनि त्यसलाई निरन्तरता दिँदैछ । यस्तै अघिल्लो आर्थिक बर्षबाटै विभिन्न वडामा उन्नत जातका पाठी वितरणको कामसमेत सुरु भइसकेको छ ।

नगर प्रमुख तिमल्सिनाले चुनावमा नगरभित्र प्राविधिक विद्यालय स्थापना र प्राविधिक शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएअनुसार नमोबुद्ध नगरपालिका वडा नं. ४ मा रहेको जनक माविमा तिमल्सिना निर्वाचित भएलगत्तै पशु विज्ञान संकायको अध्ययनसमेत सुरु भइसकेको छ । नगर प्रमुख तिमल्सिनाका अनुसार नगरमा उत्पादित दूधको प्रशोधन केन्द्र स्थापना, आधुनिक बधशाला निर्माण लगायतका योजना समेत अघि सारिएको छ ।

छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, काठमाडौं विश्वविद्यालयका अन्य अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । काठमाडौं विश्वविद्यालयको टोलीले पशु विज्ञान संकायको अध्ययन भइरहेको जनक माविको अवलोकनसमेत गरेको छ ।

नमोबुद्ध नगरपालिकाको वडा नं. १० मा यसअघि नै स्वास्थ्य अनुसन्धान केन्द्र स्थापनाको निर्णय भइसकेको छ । नगरपालिकाले जग्गा उपलव्ध गराउने निर्णयगरेसँगै धुलिखेल अस्पतालले अनुसन्धान केन्द्र स्थापनाको तयारी अघि बढाइसकेको छ ।

5610
Shares

ट्रेन्डिङ