सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रसर उद्योगको मनलाग्दीले काभ्रेका तीनवटा वस्ती भूगोलबाट हराउँदै

क्रसर उद्योगको मनलाग्दीले काभ्रेका तीनवटा वस्ती भूगोलबाट हराउँदै

17815
Shares
क्रसर उद्योगको मनलाग्दीले काभ्रेका तीनवटा वस्ती भूगोलबाट हराउँदै

काभ्रे, साउन २२ : जथाभावी उत्खननको कारण दुई तीनवटा वस्तीहरु काभ्रेको भूगोलबाट हराउँने सम्भावना बढ्दो छ । सरकारले नै अनुमति दिएर काभ्रेको पनौती नगरपालिकाको रोशी खोलामा सञ्चालित एक दर्जन बढी रोडा ढुंगा उद्योगहरुको कारण काभ्रेको पनौती नगरपालिका भित्र हाल समेटिएका खारखोला, जोरघट्ट र भैरा महादेव वस्ती जोखिममा परेका छन् । यहाँ सञ्चालित उद्योगहरुले औलो दिदा डुडुल्नो निल्ने प्रवृति देखाएपछि तीनवटा वस्तीमा ५ सय बढी स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् ।

कुनै पनि क्रसर उद्योग मापदण्ड अनुकुल सञ्चालन नहुँदा स्थानीयवासीको यो हविगत भएको हो । रोशी खोलामा दिउँसै रात पार्न खोेज्ने र कानूनको ठाडै उल्लंघन गर्दा वस्ती मात्र होइन खोलामाथि वनहरु समेत वग्ने अवस्थामा पुगेका छन् । नियामक निकाय मौन रहदा र स्थानीवासीको गुनासो सुनिदिने कोही नहुँदा गाउँलेहरु निराश बनेका छन् ।

सिंगो तीनवटा वस्ती जोखिममा हुँदा स्थानीयवासीको स्वास्थ्य पनि प्रतिकुल बन्दा क्रसर उद्योगले धुवा र धुलो उडाउन एकै छिन पनि छोड्दैन । क्रसर उद्योगहरुको मनपरिको कारण हेपिनु पर्दा र जस्तो सुकै अत्याचार पनि सहनु पर्दा स्थाीयवासीले राज्यको अनुभूति समेत गर्न पाएका छैनन् ।

५ सय बढी स्थानीयवासीको स्वाथ्य पनि जोखिममा
रोशी खोलामा सञ्चालित एक दजर्न बढी रोडा ढुंगा उद्योगले काभ्रे पनौती नगरपालिकाका सयौं घरपरिवार जाखिममा परेका छन् । २०५८ सालदेखि सञ्चालित उक्त खानीका कारण लगभग ५०० स्थानीय घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । उनीहरुमा प्राकृतिक प्रकोपको जोखिम मात्रै नभइ स्वास्थ्यको पनि उच्च जोखिममा छन् ।

तीनवटा वस्तीका सबै विस्थापित हुने अवस्थामा
खानी सञ्चालनको असरले अहिले सबैभन्दा बढी पनौती नगरपालिका २, ७, ८, ११ र १२ वडाका गरि ५०० भन्दा बढी घरपरिवार मर्कामा परेका छन् । यी सबै परिवार खानीकै कारण विस्थापित हुने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।

१३ खानी सञ्चालनमा, मेयर साब भन्छन : केही गर्न सकिँदैन
रोशी खोलामा हाल झण्डै १३ वटा खानी संचालनमा रहेका छन् । खानी सञ्चालनको प्रभावको विषयमा पनौती नगरपालिका मेयर भीम न्यौपानेसंग गुनासो राख्दा केही हुँदैन भनेर पन्छिन खोजेको स्थानीयवासीको गुनासो छ ।

तर अहिले प्रभावित सबै वडाका बाटोमा मानिस हिड्ने अवस्था समेत छैन । रोशी खोलाबाट आउँदा मान्छे हिड्ने अवस्था हुँदैन । केही दिन अघि डोजरले मानिस निकालेर ल्याउनुपर्ने स्थिति आयो ।

क्रसरले मिचेको मापदण्ड हेर्न कोही आएनन्
यहाँ भएका उद्योगहरु वैधानिक रुपमा सञ्चालन भएको नभएको भन्ने पनि स्थानीयलाई थाहा छैन । तर जथावाभी उत्खननले उनीहरु आजित भइसकेका छन् । बाटो बनाउने भन्दै बढी भएको माटो पनि जहाँ त्यही फाल्ने प्रवृत्तिले सडक र वातावरणको स्थिति अन्यत्तै नाजुका बनेको स्थानीयको गुनासो छ । जसका कारण हरेक वर्षको बर्षा महिनामा सडकका कारण अत्यन्तै स्थानीयवासीले अत्यन्तै सास्ती खेप्नु परिरहेको छ ।

खोलामाथिको वन खस्ने अवस्थामा
रोडा ढुंगा उद्योगले गरेको नदी उत्खननका कारण यहाँको वातावरण अत्यन्तै खराब बन्न पुगेको छ । खानीको वैधानिकता या अवैधानिकतासंगै यस्ले यहाँको वातावरणमा पारेको प्रभावको बारेमा अध्ययन गर्न आवश्यक भइसकेको छ । वनसँगै जोडिएर संचालन भइरहेको उद्योगहरुले सडकको मापदण्ड पनि मिच्ने काम गरिरहेको छ । खोला आसपासका चौरहरु सबै अतिक्रमित भइरहेको स्थानयीवासी बताउछन् । जसले गर्दा खोलामाथिको वन नै खस्ने स्थितिमा पुगेको छ ।

रोडा ढुंगा उद्योगको मनपरि र वातावरणको तीब्र विनासले यहाँका वस्तीहरुले भोलि मेलम्चीको हालत भोग्नु पर्ने पीरलो पनि धेरैलाई छ । उद्योग वैधानिक भए मापदण्ड अनुसार चल्नु पर्ने र अवैधानिक भए तत्काल सरकारले बन्द गरेर स्थानीयको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने स्थानीयको भनाइ छ । खानीका कारण स्थानीय वालबालिका वृद्धवृद्धाको स्वास्थ्य स्थितिमा नकारात्मक असर परिरहेको गाउँलेहरुको गुनासो छ ।

वस्ती स्थानान्तरण गर्न माग
उद्योग बन्द गर्न नसके सरकारले यस क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने माग पनि अघि सारेका छन् । उद्योगमा आवत जावत गर्ने ठूला ठूला ट्रिपर र स्काईभेटरका कारण गाउँघरको सडकमा बस र एम्बुलेन्ससमेत गुड्न नसक्ने अवस्था उत्पन्न भएको छ ।

जथाभावी उत्खननले कृषि क्षेत्रमा उस्तै असर पारेको छ । तर स्थानीयवासीले खानी उद्योगहरुविरुद्ध दर्जनौ ठाउँमा उजुरी हालेर अनुनय विनय गरेपनि कुने सुनुवाई भएको छैन ।

जनताको जनप्रतिनिधि पनि निराश
सडकको विकराल स्थितिले वालबालिकाहरुलाई स्कुल जान आउन समेत समस्या भएको छ ।स्थानीय जनप्रतिनिधिहरु भने स्थानीय तहको हैसियतले मात्रै यो समस्याको समाधान हुने सम्भावना नरहेको बताउछन् । नेपाल सरकारले खानी सञ्चालनका लागि अनुमति दिएकोले उनीहरुको कार्यलाई स्थानीय वडाध्यक्षहरुले रोक्न नसक्ने पनि स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

यो समस्या समाधानका लगि केन्द्रीय सरकारले नै ध्यान दिनु पर्ने उनीहरुको भनाइ छ । सरकारले तोकेको मापदण्ड अनुरुप सञ्चालन भए नभएको बारेमा अनुगमनमात्र गरेपनि धेरै खानी उद्योगहरु वन्द हुने स्थानीय जनप्रतिनिधिको विश्वास छ । पनौतीको रोशी खोलामा काठमाडौं रोडाढुंगा उद्योग, पनौती रोडाढुंगा उद्योग, डायमण्ड स्टोन उद्योग, क्रिष्टल कोहिनुर उद्योग, रुसी रोडाढुंगा उद्योगलगायत दर्जन उद्योगहरुले रोसीमा दिउँसै रात पार्दै आएका छन् । तर नियामक निकाय मौन हुँदा उनीहरुको मनपरि बढ्दो छ ।
भिडियाे-

साभार : न्युज24 बाट

17815
Shares

ट्रेन्डिङ