सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • संखुवासभा हत्याकाण्ड: आरोपितका भाइको साथबाट भेटियो हराइरहेको बुहारीको फोन

संखुवासभा हत्याकाण्ड: आरोपितका भाइको साथबाट भेटियो हराइरहेको बुहारीको फोन

4035
Shares
संखुवासभा हत्याकाण्ड: आरोपितका भाइको साथबाट भेटियो हराइरहेको बुहारीको फोन

काठमाडौं,भदौ ३१ ;संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा हराइरहेको फोन प्रहरीले फेला पारेको छ। प्रहरीले सो मोबाइल फोन ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका १७ वर्षीय भाइको साथबाट फेला पारेको संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।

भदौ २१ गते सोमबार बिहान मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या भएको थियो। तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

उनीहरूको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी तथा भतिज नाता पर्ने लोकबहादुरलाई गत शुक्रबार पक्राउ गरेको थियो। शुक्रबार पक्राउ गरी आइतबार पत्रका सम्मेलन गरि ,उनीमाथि थप अनुसन्धान गरिरहँदा प्रहरीले बुहारी रञ्जनाको मोबाइल फोन फेला पारेको हो। लोकबहादुरका भाइले गोठमा लुकाइरहेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक भीम दाहालले बताए।

‘अभियुक्तको भाइको साथबाट फेला परेको छ। उनले गोठमा लुकाएको भन्ने छ। अहिले यसमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘यसलाई अर्को प्रमाणको रूपमा पनि लिन सकिन्छ। किन लगियो भन्ने कुराहरू बुझ्दैछौं।’फोन बरामद भएपछि भाइलाई पनि सोधपुछका लागि गएराति प्रहरी कार्यालयमा ल्याइएको उनले बताए। यद्यपि पक्राउ गरिनसकेको उनले बताए।

साथै घटना हुँदा उनी पनि पछि-पछि भएको खुलेको छ। यस बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘घटना हुँदा भाइ पछि-पछि गएको भन्ने पनि कुरा खुलेको छ। उनलाई प्रत्यक्षदर्शीको रूपमा पनि लिन सकिन्छ,’ प्रहरी उपरीक्षक दाहालले भने,’अझै अरू कुरा खुल्दै जाला। उनको संलग्नता के कस्तो छ भन्ने खुलिसकेको छैन। अहिले पक्राउ वा नियन्त्रणमा लिइसकेको अवस्था होइन।’

बुहारी रञ्जनाको मोबाइल फोन घटना भएको बिहानैदेखि हराएको थियो। बिहानदेखि नै स्विच अफ भएपछि प्रहरीले फोनको खोजी गरिरहेको थियो। प्रहरीले फोन फालिन सक्ने सम्भावित ठाउँहरूमा पनि खोजेको थियो। तर फेला परेको थिएन। ‘त्यो फोन खोज्नको लागि हामीले हुँइकाएर फ्याँकिन सक्ने सम्भावित ठाउँहरूमा खोजी गरेका थियौं,’ उनले भने, ‘त्यहाँका सबै बारी, खेत झारीहरूमा खोज्यौं। मोबाइल हराएको विषय रहस्यमय थियो। फेला पर्छ भन्ने थियो। त्यसैक्रममा हामीले खोज्दा बलियो प्रमाणको रूपमा पाइयो।’

यसमा अरू पनि प्रत्यक्षदर्शी हुनसक्ने प्रहरीको भनाइ छ। घर वरिपरिका छिमेकीहरूले पनि देखे-सुनेको हुनुपर्ने प्रहरीले बताएका छन्। तर त्रासका कारण उनीहरूले भन्न नसकेको प्रहरी उपरीक्षक दाहालले बताए। प्रहरीले लोकबहादुर कार्कीलाई मुख्य अभियुक्तको रूपमा खडा गरेको छ। उनले हत्या गर्दा लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकारिसकेका छन्। हत्या गर्न प्रयोग गरेको चिर्पट आगो लगाएर जलाइसकेको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।घटना भएपछि अनुसन्धान गर्न विभिन्न टोली घटनास्थल पुगेको थियो। प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुगेको थियो।

 

-सेतोपाटी

4035
Shares

ट्रेन्डिङ