सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ‘डन्डीको भाउ घट्न सक्छ, उद्योगमा लगानी बढ्छ’

‘डन्डीको भाउ घट्न सक्छ, उद्योगमा लगानी बढ्छ’

3225
Shares
‘डन्डीको भाउ घट्न सक्छ, उद्योगमा लगानी बढ्छ’

काठमाडौं ,भदौ ३१, ;सरकारले बजेटमार्फत डन्डी बनाउन चाहिने बिलेट स्वदेशमै उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको भन्सार नलाग्ने व्यवस्था गरेको छ। पहिले स्पन्ज आयात गर्दा पाँच प्रतिशत भन्सार महसुल र एक किलोमा एक रूपैयाँ ६५ पैसा अन्तशुल्क लाग्दै आएको थियो।स्पन्ज आइरन आयात गरी केही उद्योगीले यहीँ बिलेट र छड उत्पादन गर्दै आएका छन्।

केही उद्योगीले भने सिधै बिलेट आयात गरी छड उत्पादन गर्दै आएका छन्। बिलेट आयातमा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको संशोधित बजेटमार्फत कर बढाएका छन्।बिलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार कर लाग्ने उल्लेख छ। यसअघि आयात हुने बिलेटमा प्रति मेट्रिक टन एक हजार ६ सय ५० रूपैयाँ अन्तशुल्क लाग्दै आएको थियो। हाल यसमा वृद्धि गरी प्रति मेट्रिक टन दुई हजार पाँच सय रूपैयाँ अन्तशुल्क लगाइएको छ।स्पन्ज आइरन र बिलेट दुवै कच्चा पदार्थ हुन्।

बिलेटमा कर बढ्ने र स्पन्ज आइरनमा भन्सार नलाग्ने यो व्यवस्थाले डन्डी उद्योगमा लगानी बढ्ने जगदम्बा स्टिलका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए।’बिलेट उत्पादन गर्ने ठूला उद्योगले तत्कालै उत्पादन क्षमता बढाउँछन्,’ अग्रवालले भने, ‘६ अर्ब रूपैयाँको हाराहारीमा लगानी थपिन्छ।’

उनका अनुसार अहिले १३ वटा उद्योगले स्पन्ज आइरन आयात गरी बिलेट उत्पादन गर्दै आएका छन्। ती उद्योगको पूर्ण क्षमता वार्षिक १४ लाख टन भए पनि चार लाख टन मात्रै उत्पादन हुँदै आएको छ। अब उद्योग पूर्ण क्षमतामा चल्ने उनी बताउँछन्।

‘पहिले स्पन्ज र बिलेटको आयात गर्दा लाग्ने कर एउटै थियो,’ उनले भने, ‘हामी प्रतिस्पर्धा गर्न नसक्ने भएर डराएका थियौं। अब पूर्ण क्षमतामा चल्छौं।’उनका अनुसार लगानी थपिँदा तीन हजार रोजगार सिर्जना हुनेछ। आगामी दिनमा आफैं बिलेट उत्पादन गरी स्टिल उद्योग सञ्चालन गर्ने उनले बताए। नेपालमा डन्डी उद्योगको इतिहास पचास वर्ष पुरानो भएपनि आयातमा भरपर्दा उद्योगको विकास हुन नसकेको उनको भनाइ छ।

‘स्टिल उद्योग ४०/५० वर्षदेखि खुलेका छन्, तर खोइ विकास भएको! खाली बिलेट आयात गरेर उद्योग चलाएर मात्र हुँदैन, नेपालमै उत्पादन गर्नेतर्फ लाग्नु पर्छ,’ उनले भने।बिलेट आयात गरी छड उत्पादन गर्ने उद्योगले पनि लगानी थप गरी यहीँ बिलेट उत्पादन गर्नतिर लाग्नु पर्ने नेपाल रोलिङ मिल एसोसिएसनका अध्यक्ष समेत रहेका अग्रवालले बताए।

‘केही साथीहरू बिलेटको कर बढायो, स्पन्जको शून्य गरायो भनेर विरोधतर्फ लागेका छन्,’ उनले भने, ‘विरोध गर्न पर्दैन। त्यो सबै उद्योगीलाई दिएको सहुलियत हो, सबैले उपयोग गर्न सक्छन्।’स्पन्ज आइरनबाट बिलेट बनाएर उत्पादित छड न्यून गुणस्तर भएको हल्ला समेत चलेको छ। यो सत्य नभएको उनको दावी छ।

‘एउटै गुणस्तरको छड उत्पादन हुने हो। उच्च कोटीको बिलेट आयात गरेर कसैले पनि छड बनाइरहेको छैन। मध्यम खालको बिलेट आयात हुने हो। सबभन्दा बढी बिलेट आयात गर्ने हामी नै हौं,’ उनले दावी गरे। अग्रवालका अनुसार स्टिल उद्योगमा लगानी थपिएसँगै उद्योगको क्षमता विस्तार भई विद्युत खपत समेत बढ्ने छ। स्वदेशी डन्डी उद्योगहरूले नयाँ आयोजनाबाट उत्पादन हुने तीन हजार मेगावाट विद्युत खपत गर्न सहयोग पुर्‍याउने उनले बताए।

त्यस्तै स्टिल उद्योगमा प्रयोग हुने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रूपैयाँ समेत स्वदेशमै रहने उनको भनाइ छ।अब हामीलाई फर्नेस आयल आयात गर्न पर्दैन। त्यो पैसा अन्य उद्योगमा लगानी गर्न सक्छौं,’ उनले भने।यसका साथै स्वदेशभित्रै पूर्ण रूपमा बिलेट उत्पादन गर्दा उपभोक्तालाई समेत फाइदा हुने उनले बताए। कच्चा पदार्थबाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा लागत घट्ने र सस्तो हुने उनको दावी छ, ‘डन्डीको मूल्य प्रति किलोग्राममा तत्काल तीन रूपैयाँसम्म घट्न सक्छ।’

स्पन्जमा कर नलाग्दा आगामी दिनमा स्वदेशी उत्पादन निर्यात गर्न सहज प्रतिस्पर्धात्मक वातावरण तयार पार्ने उनले बताए। उनका अनुसार वार्षिक ११ लाख ७६ हजार ५ सय ४६ मेट्रिक टन बिलेट आयात हुँदै आएको छ। त्यस्तै १६ लाख ६ हजार २ सय ३५ मेट्रिक टन डन्डी उत्पादन हुन्छ।यहीँ बिलेट उत्पादन गर्दा आगामी दिनमा गाडी, फ्रिज, लगायत विद्युतीय सामग्रीमा प्रयोग हुने स्टिल पनि यहीँ उत्पादन गर्न सकिने उनको दावी छ। बंगलादेश, पाकिस्तान, भारत लगायत देशमा पनि यही नीति अपनाइएको उनले बताए।

-सेटोपाटी

3225
Shares

ट्रेन्डिङ