सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • पात्लेखेतको ‘पात्ले धारो’ थप ब्यवस्थित

पात्लेखेतको ‘पात्ले धारो’ थप ब्यवस्थित

15390
Shares
पात्लेखेतको ‘पात्ले धारो’ थप ब्यवस्थित

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ मा रहेको ‘पात्ले धारो’ लाई थप ब्यवस्थित गरिएको छ । स्थानीयको सक्रिय सहभागिता र नगरपालिकाको आर्थिक सहयोगमा ‘पात्ले धारो’ को संरक्षण गरिएको पात्ले धारो पुन: निर्माण तथा मर्मत उपभोक्ता समितिका अध्यक्ष राम धितालले जानकारी दिनुभयो ।

‘पात्ले धारो’ पुन: निर्माणका लागि नगरपालिकाले चार लाख ५० हजार रूपियाँ उपलब्ध गराएको उपभोक्ता समितिका कोषाध्यक्ष प्रतिमा धितालले बताउनुभयो । ‘पात्ले धारो’ त्यहाँको पुरानो मुल हो । खेत बारीमा सिँचाई देखि खाने पानी समेत यहि धाराको पानी प्रयोग हुँदै आएको छ ।

धारा पुनः निर्माणको काम असार २३ गतेबाट सुरु भएको थियो । तर बीचमा आकाशबाट धेरै पानी परेकाले काम रोकिएको थियो । लगभग २६ दिनमा प्राविधिकले तोके बमोजिमको काम सकिएको छ । पानीको वारपर सफा गरिएको छ । चिटिक्क पारिएको छ । हेरि रहुँ झैँ लाग्ने बनेको छ ।

‘पहिला ढुंगा बिच्छाएको थिएन । ढुङ्गाको धारा पनि पुरानो भएर फलामको पाइप हालेर ३ वटा धारा निकालिएको थियो । अहिले धारा पुरानै स्वरूपमा हालिएको छ । तीन वटै ढुङ्गाको धारा राखिएको छ । नचिप्लियोस् भनेर ढुंगा बिछ्याईएको छ । पानी नचुहिने बनाईएको छ, उपभोक्ता समितिका अध्यक्ष धितालले भन्नुभयो ।’

यो धाराको पानी धिताल टोल, शर्मा टोल र डाँडा घरे टोलका स्थानीयले उपभोग गर्छन् । झण्डै ३०-४० घरधुरीले दैनिक यहि धाराको पानी प्रयोग गर्दै आएका छन् । करिब एक हजार रोपानी भन्दा बढी खेतमा यहि मुलको पानीले धान रोपाइँ र तरकारी खेति हुँदै आएको छ ।

धाराकै आडमा सतल निर्माण गरिएको छ । जसले पानी लिन जाँदा आराम गर्न, घाम छल्न र आकाशे पानी परेका बेला ओत लाग्न सजिलो भएको छ । ‘पात्ले धारो’ साबिक पात्लेखेत गाविसको पुरानो मुल हो । भूकम्पको बेला पनि यो मुलमा कुनै समस्या नआएको स्थानीयले बताए ।

धुलिखेल नगरपालिकाले पुराना ढुङ्गे धाराको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर ५, ६ र ७ नम्बर वडामा पनि यस्तै पुराना धाराहरू नगरपालिकाको पहलमा संरक्षण गरिएको छ ।

15390
Shares

ट्रेन्डिङ