सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पूर्व आईजीपीको बगैँचाबाट ‘एभोकाडो’ चोर्ने काभ्रेका ५ सहित १२ जना पक्राउ

पूर्व आईजीपीको बगैँचाबाट ‘एभोकाडो’ चोर्ने काभ्रेका ५ सहित १२ जना पक्राउ

15350
Shares
पूर्व आईजीपीको बगैँचाबाट ‘एभोकाडो’ चोर्ने काभ्रेका ५ सहित १२ जना पक्राउ

काभ्रे : पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा काभ्रेका ५ सहित १२ जना युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल बोहराको घरपरिसरसहित अन्य १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेका यमबहादुर तामाङ,मिलन दुलाल, समिर तामाङ उर्फ वादशा र देव तामाङ रहेका छन् । त्यस्तै रामेछापका सञ्जीव खड्का, निरज नेपाली र शंकर कठायत रहेका छन् । त्यस्तै हेटौंडा घर भएका २० वर्षीय राजेश राई, राजिव गुरुङ,सुनसरीका मोहित दाहाल, झापाका प्रदिप यादवसहित १२ जना पक्राउ परेका अपराध महाशाखाले जनाएको छ ।

गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई आज पक्राउ गरिएको जनाएको छ । चोरीमा संलग्न समूहले राति घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । दुई समूहमा रहेका आरोपीहरुले बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट चोरी गरेको खुलेको छ ।

बजार मूल्य ३५० देखि ४ सय रुपैयाँ प्रतिकेजी रहेको एभोकाडो उनीहरुले १५० देखी २०० मा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरुले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेका थिए ।

एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि पनि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ । घिउ फलको रुपमा परिचित एभोकाडो काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंमा लामो समयदेखि एभोकाडो चोरी हुने गरेपनि कसैले प्रहरीलाई जानकारी गराएका थिएनन् । पूर्व आईजीपी बोहराले आफ्नो घर कम्पाउण्डको एभोकाडो चोरिएको जानकारी प्रहरीलाई दिएपछि त्यसबारे अनुसन्धान शुरु गरिएको थियो ।

15350
Shares

ट्रेन्डिङ