सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

2990
Shares
रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

काठमाडौं, १६ असोज : सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन ।

 

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो ।

नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर दुई सेट रेल २ असोज २०७७ असोजमा नेपाल ल्याइएको थियो । जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई सो रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन ।

खरिद गरेको एक वर्ष पूरा भएपछि सो रेलको इन्जिन र बोगीको वारेन्टी ३ असोजमा नै सकिएको छ । रेललाई खुला आकाशमा पालले ढाकेर सशस्त्र प्रहरीको पहरा दिएर राखिएको छ । लामो समयसम्म राखिँदा रेललाई ढाकिएको पालसमेत च्यातिन थालेका छन् ।

अघिल्लै सरकारको पालादेखि सरकारी पक्षबाट रेल सञ्चालनको लागि पटकपटक समय तोके पनि सञ्चालनको मिति जुर्न सकेको छैन । रेल सञ्चालनका लागि कानुनदेखि जनशक्तिलगायतका समस्या रहँदै आएको छ । यसअघि सरकारले रेल सञ्चालनका लागि अध्यादेश जारी गरे पनि अहिले रेल सञ्चालनको विषय कानुनविहीन अवस्था रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ३५ करोड रुपैयाँ वार्षिक तिर्ने गरी भारतीय कोंकण रेल्वेलाई सञ्चालनको जिम्मा दिएको थियो । सम्झौताअनुसार सरकारले रेल चलाइदिने कम्पनीलाई दैनिक करिब १० लाख रुपैयाँ बुझाउनुपर्नेछ । यस हिसाबले रेल सञ्चालनका लागि मात्रै वार्षिक १० करोडभन्दा बढी घाटा राज्यले बेहार्नुपर्ने भएको छ ।

रेल सञ्चालनको जिम्मा पाएको कोंकण रेल्वेले ८ करोड भारतीय रुपैयाँ भुक्तानी मागिरहेको छ । आफूले पाउनुपर्ने अग्रिम २० प्रतिशत भुक्तानी नदिए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी सो कम्पनीले दिएको छ ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले १९ जेठमा नै रेल सञ्चालनका लागि सबै तयारी पूरा भएकाले निषेधाज्ञा खुलेपछि जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन हुने बताएका थिए । तर, अहिले सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले रेल खरिद गरे पनि कहिलेदेखि सञ्चालनमा आउने भन्ने अझै अनिश्चित छ । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

2990
Shares

ट्रेन्डिङ