सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • १६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी

१६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी

4420
Shares
१६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी

काठमाडौँ, १८ असोज :  कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ ।

अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिदबिक्रीको खुलासा
आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिसमेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो ।

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे)को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए ।

प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाले गरेको अध्ययन रिपोर्टमा उल्लेख छ ।

अमेरिकाको वासिंटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे)ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य तथा अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको हो । ती कम्पनी विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा रहेको खोपकेले उल्लेख गरेको छ ।

खोपकेले अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि रहेको खुलासा गरेको छ । गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमै कम्पनी रहेको फेला पारिएको छ ।

नेपालिक्समा उल्लेख भएका नेपाली नागरिक अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी पनि सञ्चालनमा रहेको तथ्य फेला पारिएको छ । यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायी– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न नपाइने व्यवस्था रहेको छ । ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐनविपरीत काम गरेमा ‘बिगोबमोजिम जरिमाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

अफसोर दुनियाँले गरिबी बढाउने, असमानता निम्त्याउने अनि जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्याजस्ता थुप्रै समस्या निम्तने गर्छ ।हालसम्म ५५ नेपाली तथा गैरआवासीय नेपालीले अफसोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्समार्फत् २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।

आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ ।

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।

प्यान्डोरा लिक्सअनुसार, चौधरीकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिस भर्जिन आइल्यान्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिस भर्जिन आइल्यान्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनीसहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ ।

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी रहेको पनि पाइएको छ । फल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिएको खोपकेको खोजमा देखिएको छ ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेसन परेको देखिएको थियो ।

लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरणअनुसार हाल हंसराज हुलासचन्द एन्डको, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राट्सलगायतका कम्पनीहरू सञ्चालनमा छन् ।

सुमार्गीका पाँच कम्पनी
अनौपचारिक माध्यमबाट रकम विदेश पु¥याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफसोर कारोबारका थप विवरण पनि फेला परेका छन् । नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २ सय २२ अमेरिकी डलर (त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको छ ।

यसपटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन् । त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्नेगरी खाता खोलेको पाइएको छ ।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्यान्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ । सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन् । यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन् ।

सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ । उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्यान्डको अस्मिताज वल्र्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ । सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन् ।

अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डकै ‘द न्यु डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ । उनी यो कम्पनीका निर्देशक हुन् ।
कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्यान्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यु डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउन्ड विदेशी लगानी (एफडीआई) नेपाल भिœयाएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ । द न्यु डिजिटेक कम्पनीको स्रोतका रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ ।

सुमार्गीका नातेदारका नाममा पनि
सुमार्गीको एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ । ब्रिटिस भर्जिन आइल्यान्डको ट्राइडेन्ट ट्रस्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्डअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डको डेलोर भेन्चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन् ।

शर्मालाई सो कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एन्डको एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ । थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटिएको थियो ।

गुण ग्रुुपका अध्यक्ष राजेन्द्र शाक्यको अफसोर कारोबार
ब्रिटिस भर्जिन आइल्यान्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ । कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्यान्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रस्ट हो ।

सुुहृदराज घिमिरे र पुरुषोत्तम पौडेलको संलग्नता
नेपालमा किया गाडीका बिक्रेता सुुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी भेटिएको छ । घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन् । पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन् ।

सुधीर मित्तलको अफसोर कारोबार
‘श्री एयरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ । मित्तलले ब्रिटिस भर्जिन आइल्यान्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ । प्राप्त कागजातअनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन् र उनले कम्पनीका नाममा बैंक खाता पनि खोलेका छन् । उनले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजात पेस गरेका छन् । पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ ।

किशोर राना: शंकास्पद कारोबारमार्फत् अर्बका मालिक
प्यान्डोरा लिक्समा समावेश विवरणअनुसार सन् २०१७ मा थाइल्यान्डको सुकुम्भितमा बस्दै आएका ३५ वर्षीय किशोर रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन् ।

उनले ‘क्रिप्टो करेन्सी’ बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए । सिंगापुरस्थित ल फर्म एसियासिटी ट्रस्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरणअनुसार सो काम मापदण्डभन्दा बाहिरको थियो । तर, किशोरले क्रिप्टो करेन्सीको कारोबारलगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेस्टमेन्ट नामक कम्पनी खोल्न सफल भए । किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज लिमिटेड हो ।

३१ मे २०१७ मा बैंक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको बैंक स्टेटमेन्टअनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता सेयर लगानी छ । इल्डोराडोले अमेरिका, युरोप र एसिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ ।

सराफ परिवारको ट्याक्स हेभनमा दर्जन कम्पनी
नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एन्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड (हायात) सञ्चालन गर्दै आएका भारतीय मूलका सराफ, उनका दुई छोरा र श्रीमतीले अफसोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो ।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बरभन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ । यो विषयमा संघीय संसद्, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन् ।

उनी ब्रिटिस भर्जिन आइल्यान्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ । सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन् । यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बिमा वा पुनर्बिमा कम्पनीसम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्डसम्बन्धी व्यवसाय गर्नेलगायत काम गर्नेगरी दर्ता भएको देखिन्छ । यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रस्टले सहयोग गरेको छ ।

राधेश्याम, उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रस्ट नामक कम्पनी खोलेको पाइएको छ । यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन् ।

उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रस्ट कम्पनी खोलेका छन् । यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ । उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन्।
नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँचवटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झन्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिकको अफसोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।

ट्याक्स हेभन हुँदै फोब्र्सको सूचीमा चौधरी
आजभन्दा २१ वर्ष अगाडि ट्याक्स हेभन मुलुकहरूमा कम्पनी खडा गर्ने र त्यसमार्फत विभिन्न तहगत कम्पनी खडा गरी विनोद चौधरीले विश्वका धेरै मुलुकमा आफ्नो व्यवसाय विस्तार गरेको कुरा प्राप्त कागजातहरूबाट पुष्टि हुन्छ । विनोदले ट्याक्स हेभन मुलुकमा दर्ता रहेको सिनोभेसन कम्पनीमार्फत धेरै देशमा व्यवसाय विस्तार गरेको पाइएको छ ।

नेपालबाट ट्याक्स हेभन र ट्याक्स हेभनबाट विश्वका विभिन्न देशमा व्यावसायिक लगानी गर्ने विनोद सन् २०१३ मा अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको ‘अर्बपति’ सूचीमा पर्न सफल भएका थिए । सुरुमा फोब्र्सको सूचीमा पर्दा चौधरीको सम्पत्ति एक बिलियन अमेरिकी डलर (१ खर्बभन्दा बढी) थियो ।

त्यसयता बर्सेनि उनको सम्पत्ति बढ्दो क्रममा छ । सन् २०१९ मा विनोदको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (झन्डै २ खर्ब) पुगेको थियो । फोब्र्सका अनुसार पछिल्ला दुई वर्षमा उनको सम्पत्ति बढेन, घट्यो । अर्थात् सन् २०२० र २०२१ मा १.४ बिलियन अमेरिकी डलर (करिब डेढ खर्ब रुपैयाँ) छ । चौधरी हाल विश्वका अर्बपतिहरूमध्ये २ हजार १ सय ४१औं स्थानमा छन् ।

कानुनको उल्लंघन भएको छैन– चौधरी ग्रुुप
खोज पत्रकारिता केन्द्रका लागि वासिङटन पोस्टका पत्रकार पिटर होरिस्कीले सोधेको प्रश्नमा राहुल चौधरीले सीजीले सम्मानित, प्रतिष्ठित र अग्रणी बहुर्राष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरेको बताएका छन् ।’ जहाँसम्म हाम्रो लगानीमा साझेदारहरूको कुरा छ, सीजी र यसका कम्पनी समूहमा विश्वस्तरमा सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीसँग हाम्रो साझेदारी छ ।

ट्याक्स हेभन मुलुकमा गोल्छा परिवारको कनेक्सन
अफसोर कम्पनीमार्फत किसानलाई ठ गी
कर छल्ने उद्देश्यले खोलिने अफसोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफसोर कम्पनीमार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै आएको’ खुलासा भएको छ

जसअनुसार गोल्छा परिवारका पाँच जना सदस्यकोसमेत स्वामित्वमा रहेको इस्टर्न सुगर मिल्सले किसानलाई ठगी गरेको पाइएको हो । गोल्छा परिवारका केही सदस्यहरूको लगानीमा खोलिएको अफसोर कम्पनीसमेतको स्वामित्वको यो मिल्सले लामो समयदेखि उखु किसानलाई भुक्तानी गरेको छैन ।

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का अनुसार गोल्छा परिवारका केही सदस्यहरूले ट्याक्स हेभन मुलुक (कर पारदर्शिता नभएको) ब्रिटिस भर्जिन आइल्यान्डमा आफ्नो नाममा कम्पनी खोल्ने, त्यसैबाट नेपालस्थित आफ्नै कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने गरेको भेटिएको छ ।

गोल्छा परिवारका लोकमान्य गोल्छा, हाल दिवंगत भइसकेका उनका दुई भाइहरू, उनका काकाका छोरा चन्द्रकुमार गोल्छा र भतिजा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा ‘फ्ल्याटउड लिमिटेड’ नामक कम्पनी छ ।

उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ । नेपालको कानुनअनुसार यो काम सोझै गैरकानुनी र दण्डनीय मानिन्छ ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । सो खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा लोकमान्य, उनका एक जना दिवंगत भाइ र भतिजा हितेश गोल्छालाई कम्पनीले निर्णय गरेर अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ ।

फ्ल्याटउड लिमिटेड नामक कम्पनीमार्फत लोकमान्य गोल्छालगायतको समूहले सन् २००८ मा नेपालको इस्टर्न सुगर मिल लिमिटेडको सेयर खरिद गर्ने निर्णय गरेको भेटिएको छ ।

फ्ल्याटउड लिमिटेड कम्पनीमार्फत गोल्छा परिवारका सदस्यहरूले सन् २००८ मा नेपालको सुनसरीको अमही बेल्हास्थित इस्टर्न सुगर मिल्स लिमिटेडको सेयर खरिद गरेको हो । यो कम्पनीले मिलको १३१७.५०० कित्ता सेयर खरिद गरेको पाइएको हो । तर, १५ फेब्रुअरी २००८ मा फ्ल्याटउड लिमिटेडले आफूसँग रहेको मिल्सको ३८४.१६६ कित्ता सेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ ।

फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्रअनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिलमा ९३३.३४४ कित्ता सेयर रहेको थियो । सोही पत्रअनुसार फ्ल्याटउडले हुलास मेटललाई मिलबाट २८८.१२५ कित्ता अतिरिक्त राइट सेयर खरिद गर्ने गरी जिम्मा दिएको देखिन्छ ।

हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेसनभित्रकै कम्पनी हो । कम्पनी रजिस्ट्रारको कार्यालयको दस्ताबेजअनुसार हुलास मेटल गोल्छा परिवारका १८ जनाको नाममा दर्ता छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयको विवरणअनुसार इस्टर्न सुगर मिल्समा गोल्छा परिवारका लोकमान्य, आकाश, राज्यलक्ष्मी, राजकुमार, दिनेश, हितेश, हिमांशु गोल्छाको लगानी अहिले पनि छ ।

यसबाहेक ब्रिटिस भर्जिन आइल्यान्डमा गोल्छा परिवारको पाँच जनाको नाममा दर्ता रहेको फ्ल्याटउड लिमिटेडको पनि सेयर छ । जसको प्रवेश २०६४ पुस ५ गते भएको हो । यसबाहेक इस्टर्न सुगरमा हुलास वायर इन्डस्ट्रिज लिमिटेड, पूजा इन्टरनेसनल नेपाल प्रालि, युनाइटेड डिस्ट्रिब्युटर नेपाल कम्पनीको समेत लगानी रहेको देखिन्छ ।

यी हुन् १६ नेपाली
विनोद चौधरी
सारिकादेवी चौधरी
निर्वाण चौधरी
बरुण चौधरी
राहुल चौधरी
लोकमान्य गोल्छा
चन्द्रकुमार गोल्छा
हितेश गोल्छा
अजेयराज सुमार्गी
अर्जुनप्रसाद शर्मा
किशोर राना
राजेन्द्र शाक्य
सुुहृदराज घिमिरे
पुरुषोत्तम पौड्याल,
सुधीर मित्तल
किशोर राना
राधेश्याम सराफ (नेपालमा व्यापार गर्ने भारतीय नागरिक)

यो समाचार आजको राजधानी दैनिकमा छ ।

4420
Shares

ट्रेन्डिङ