सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा पाँच हजार विपन्न परिवारलाई १० हजारका दरले राहत

काभ्रेमा पाँच हजार विपन्न परिवारलाई १० हजारका दरले राहत

5855
Shares
काभ्रेमा पाँच हजार विपन्न परिवारलाई १० हजारका दरले राहत

काभ्रेपलाञ्चोक, २० कात्तिक । सरकारले कोरोना महामारीबाट प्रभावित काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।

रु दश हजारका दरले उनीहरुलाई राहत वितरण गरिएको हो । यहाँका स्थानीय तहहरुले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरेर राहत वितरण गरिएको बताइएको छ ।

विशेषगरी कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित भएका अतिविपन्न, असाहय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने विपन्न तथा हातमुख जोर्न समस्या भएका परिवारलाई राहत वितरण गरिएका छन् ।

सरकारले प्रतिस्थापन बजेटमा घोषणा गरिएअनुसार हालैमात्र उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित गरिसकेको छ ।

सोहीअनुसार देशभरका करिव पाँच लाख अति विपन्न परिवारसँगै काभ्रेपलाञ्चोकका पाँच हजार ३०३ परिवारलाई राहत वितरण गर्न लागिएको बताइएको छ ।
जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको पाँच हजार ३०३ परिवारलाई राहत रकम दिइने गत मङ्गलबार प्रकाशित राजपत्रमा उल्लेख छ ।

जसअनुसार बनेपा नगरका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखाल ४७१, नमोबुद्ध ४८४ र मण्डनदेउपुरका ५८७ तथा चौंरीदेउराली गाउँपालिकाको ४८२, भुम्लुको ४०७, तेमाल ४२२, बेथानचोक २४०, रोशी ४५०, महाभारत २८८ र खानीखोला गाउँपालिकाको २११ परिवारलाई परिवारलाई राहत वितरण गरेको छ ।सरकारले यसलाई गरिबलक्षित सबैभन्दा महत्वपूर्ण कार्यक्रमका रुपमा लिएको छ ।

कार्यविधिअनुसार कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका कारण पेशा–व्यवसाय वा श्रम गर्ने अवसर गुमाएका तथा आर्थिक रुपमा अतिविपन्न नागरिकले विगतमा गर्दै आएको रोजगारी पूर्ण रुपमा गुमाएका र रोजगारीको अर्को अवसर नपाएका बेरोजगार असङ्गठित क्षेत्रका मजदुर वा कामदारलाई यो रकम दिइने भएको हो ।

साथै, खुल्ला सडक, फुटपाथ, नाङ्लो पसल सञ्चालन गर्दै आएका, अतिविपन्न व्यवसायी र दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाढा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटक भरियालेसमेत राहत रकम पाउने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा कोभिड–१९ का कारण एकाघरको परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार वा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारलेसमेत उक्त रकम पाउने उल्लेख छ ।

तर, नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग वा नेपाल सरकार र विदेशी सरकारको निबृत्तिभरण) पाउने परिवारले यो रकम दाबी गर्न पाउने छैन् ।

सो राहत रकम प्राप्त गर्नका लागि सार्वजनिक सूचना जारी गरिएको १५ दिनभित्र स्थानीय वडा कार्यलयमा आवश्यक कागजातसहित निवेदन गर्नुपर्ने प्रावधान छ । सहायता रकम वडाबाटै उपलब्ध हुने पनि जनाइएको छ ।

नगदवापत नेपाल सरकारको न्यूनतम दैनिक ज्यालादारीका आधारमा हुन आउने न्यूनतम कार्यदिन बराबर कुनै सार्वजनिक विकास निर्माणको आयोजना स्वयंसेवकका रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ । रासस

5855
Shares

ट्रेन्डिङ