सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज हरिबोधनी एकादशी : यस्तो छ एकादशीको महत्‍व

आज हरिबोधनी एकादशी : यस्तो छ एकादशीको महत्‍व

5765
Shares
आज हरिबोधनी एकादशी : यस्तो छ एकादशीको महत्‍व

आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ ।

क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो ।

कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा बताइएको छ । गरुड पुराणअनुसार यस महिनामा एउटा मात्र तुलसी पत्र भगवान् विष्णुलाई चढाउँदा पनि १० हजार गाई दान गरे बराबरको फल मिल्नेछ ।

आज उपत्यकाका चार नारायण भनिने भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडाैंकाे शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्छ । साथै काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लाग्छ ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परंपरा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ ।

भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजा गरेर हवन गरी चतुर्मासभर भगवान् विष्णुको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

हरिशयनी एकादशीदेखि आज अर्थात् हरिबोधनी एकादशीसम्मको चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा हुन्छ । साथै, यो समयमा विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यसमेत गरिँदैन । विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू पनि आजदेखि खुला हुने गर्छन् अर्थात् ज्योतिषीय रूपमा त्यस्ता कार्यका लागि मुहूर्त निस्किन्छन् ।

हरिबोधनी एकादशीको महत्व
कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।

चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

5765
Shares

ट्रेन्डिङ