सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

विदेशिने युवाहरुको पिडा !

7990
Shares
विदेशिने युवाहरुको पिडा !


निमेष पौडेल ।
अहिलेको अवस्थामा स्कुल देखि कलेज हुँदै डिग्री हासिल गरेका नेपाली युवा युवतीहरुका लागि विदेश जान पाउनुनै खुसीको क्षण महसुस हुने गर्दछ । नेपालमा बेरोजगारीले पिल्सिएर जागिरको खोजीमा लाग्दा ठेश लागेको घाउमा पटक-पटक ठोक्किँदै मन भरिको गहिरो चोट लिएर दिन-रात फुटबल जस्तै कहिले यता त कहिले उता हुँदै जागिरका लागि भौतारिएर थाकेका हुन्छन् ।
एकातिर बाबुआमाले पढाइको लागि साहुबाट लिएको ऋणको भार र अर्को तिर आफु बेरोजगार हुनु एक कर्मठ युवा-युवतिको लागि मुटुमा आगोको ज्वाला दन्दनी बलेको आभाष हुन्छ, तब एक मात्र विकल्प विदेशमा गएर आफ्नो पसिना साट्नु साबित हुन्छ ।
हुन त यस्ता पिडा ज-जसले भोगेका छन् उसैलाई थाहा हुन्छ । तब उसलाई ५५ डिग्रीको खाडीको घामलाइ पनि आफ्नो मनमा जलेको आगोको ज्वाला भन्दा कमै तातो महसुस हुन्छ, त्येसैले ति युवा मरुभूमिको तातो बलुवासँग केही गुनासो नराखी खटिएका हुन्छन् । एक बोतल पानी र एक प्याकेट खुपुस तिनका लागि चौरासी ब्यान्जन सरह हुन्छन् र खजुरका बोटमुनीको छायाँ चौतारीको बरपिपलको शितलता भन्दा काम हुँदैन, यहि सितलता लिँदै जीवन गुजारा हुन्छ । दैनिक बिहान सबेरै मिठो निन्द्रालाइ घण्टी बजाएर भंग गरेसंगै आखाँ चिम्रो पार्दै न्यानो विस्तारालाई विदा लिएपछि सर्पले काँचुली फेरे जस्तै आमाले किनेर दिएकी टिशर्ट र जिन्सको पेन्टलाइ सर्लक्क फुकालेर पसिना साट्न तयार हुन्छन् ।
आज तिनै युवा युवतीहरुका पसिनाको फलले देशका आर्थिक अर्थतन्त्र धानेको छ । त्यही भएर होला सरकार पनि वैदेशिक रोजगारलाई प्रोत्साहन गर्दै आएको पाइन्छ तर, एक उखान छ ‘आचानोको ब्यथा खुकुरीलाई के थाहा’ भने जस्तो विदेशमा ज्याला मजदुरीको कथा ब्यथाबाट सरकार विल्कुलै अन्जान छ ‘ति मेहनतका फलको मूल्य कति हुन्छ’ भनेर । साँच्चिकै भन्ने हो भने विदेशिएका युवा युवतीहरुका अमिलो पिडासँग अरुको पिडा दाज्न मिल्दैन, जसरि भएपनि परिवार धान्न कर्मठ युवा युवतीहरु मरुभूमिमा कष्टकार जीवन बिताउन बाध्य छन् ।
नेपालीहरू वैदेशिक रोजगारका लागि विभिन्न देश धाउने गर्छन् । कतार, साउदी अरेविया, इजराइल, मलेसिया, आदि । नेपालीहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्यको रूपमा रहेको खाडी मुलुक कतारमा लाखौँ नेपालीहरू विभिन्न पेसामा कार्यरत छन् । सङ्ख्याका आधारमा पनि मलेसिया पछि सबैभन्दा बढी नेपालीहरू रहेको मुलुक कतारमा नेपालीहरूको सङ्ख्या कतारको पुरा जनसंख्याको करिब १७% भन्दा बढी अर्थात् ४ लाख भन्दा बढि छ जुन यहाँका मुलबासी कतारीहरु भन्दा झन्डै दोब्बर हो । जसले बिगतको दशकदेखि नेपालको अर्थतन्त्रको उल्लेख्य हिस्सा ओगटेको छ । विशेष गरि नेपालमा बढ्दो बेरोजगारीका कारण विदेशिनेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।
उता विदेशमा भोग्नु परेको पिडा र बाध्यता सहन नसकेर केही पैसा कमाएर घर परिवारलाई हेर्ने र दुई पैसा आर्जन गरेर जीवनस्तर उकास्ने सपना दिनानुदिन लासको रूपमा बाकसमा प्याक भएर फिर्ता हुन्छ । नेपालमा बसे केही गरी खाने ठाउँ छैन । सरकारले लाखौं युवा शक्तिहरूलाई कुनै नीति कार्यक्रम ल्याएर वा कुनै अवसर प्रदान गरेर देशमै केही न केही योगदान गर्ने व्यवस्था मिलाउन सकिरहेको छैन । फलस्वरूप लाखौँ दक्ष युवाहरू पलायन भइरहेका छन् भने अर्कातिर सामान्य योग्यताको स्तर भएका युवाहरू बेरोजगारीको चरम बाध्यताका कारण खाडी लगायतका मुलुकमा अत्यन्त सस्तो मूल्यमा आफूलाई बेच्न बाध्य छन् । त्यो पनि मानव तस्करिको रूपमा दलालहरूको हातबाट कैयौँ पटक बेचिन बाध्य छन् । जसलाई नियमन र नियन्त्रण गर्ने न त कुनै बलियो सरकारी निकाय छ, न भएकाहरूले काम नै गर्न सकेका छन् ।
नेपालीहरूका लागि जसरी युरोप अमेरिकाको सपना धेरै महँगो र झन्झटीलो छ । कतार या मलेसिया जस्ता मुलुक जानको लागि पनि त्यति सजिलो छैन । यो क्रम सुरु हुन्छ कुनै म्यानपावर या म्यानपावरमा दलाली गर्ने कोही चिनजानको मान्छेबाट अनि सुरु हुन्छ बेचिने क्रम पनि । कुन देश जाने, कति पैसा लाग्ने, के कामको लागि जाने भन्ने विषयमा पनि बार्गेनिङ हुन्छ । नेपालीहरूलाई कतार, मलेसिया, साउदी अरेविया लगायतका मुलुकमा अधिकांशजसो अदक्ष कामदारको लागि घर, सडक, पुल आदि बनाउने देखि सेक्युरिटी गार्ड, होटेल मजदुर, आदिको लागि भिसा मिल्छ त्यो पनि फ्री भिसा । अनि पत्रपत्रिकामा निकालिन्छ विज्ञापन, ‘फ्री भिसा ! फ्री भिसा ! फ्री भिसा !’ भनेर । त्यसमा लागत खर्च बढीमा २० हजार लेखेको हुन्छ । म्यानपावर खोज्दै पुगेर सोधेपछि खुलेआम भन्छन्- “त्यो त लेखेको मात्र हो । कम्पनीको नियम अनुसार यति पैसा लाग्छ । जाने भए फर्म भर्नुस् नत्र जानुस् ।”
विदेशका सुन्दर कल्पना गर्दै भविष्यको सुन्दर सपना बोकेर विदेशीने नेपालीहरू जब विदेशमा पुगेर कठिन र जोखिम काममा खटिनुपर्छ, त्यो बेला उनीहरूको कल्पना र सपना भताभुङ्ग हुन पुग्दछ । अनि छातिमा ढुंगा राखे जस्तै गह्रुंगो मन बनाएर पसिना बगाउन सुरू गर्नु पर्दछ ।
उता दलाल र म्यानपावर बीचमा पनि म्यानपावर चिनाई दिए बापत २०/३० हजार सम्मको सम्झौता हुन्छ । यस्ता भिसाहरुको लागि वैदेशिक रोजगार विभाग र नेपाल सरकारले तोकेको पुरा लागत खर्च २० हजार हुन्छ । उता म्यानपावरमा कम्पनीको रेट भनेर १ लाखभन्दा बढी सुरुमै मौखिक सम्झौता गरिन्छ । यस्तो खुलेआम ठगी हुने गरेको जानकारी हुँदा पनि केही गर्न सक्ने अवस्था हुन्न कसैसँग । उजुरी गरुम भने विदेश जानु पर्ने बाध्यता छ, २/४ पैसा भएपनि कमाएर तिर्नु छ ऋण । त्यसैले घर परिवारलार्इ दुःख र पीडाले पोलेको बेला यो सबै कुराको सोच पनि आउँदैन । उता बर्षौदेखि चलेको खुलेआम यस्ता ठगी धन्दा रोक्ने प्रयास समेत कुनै निकायबाट हुँदैन । यसबाट पनि प्रष्ट छ कि, यो ठगी गिरोहको संजालको जालो बलियो छ । अनि कैयौँ पटक म्यानपावर धाउँदा र दलाललाई फोन गर्दा गर्दै साहूसँग महिनौदेखि लिएको ऋण पनि सकिँदै जान्छ ।
विदेशमा जानेहरू प्राय युवा अवस्थाकै हुने गर्दछन् । विदेश जानुको बाध्यता पनि आफ्नै खालको हुन्छ । बिहान बेलुका छाक टार्नै गाह्रो भइरहेको अवस्थामा बिहेवारी हुने र बच्चा जन्मीएपछि त घरायसी समस्या पनि झन् जटिल बन्दै जान्छ । यस्तो अवस्थामा आफ्नो देशमा रोजगारीको व्यबस्था नहुने र विदेशमा गएपछि धेरै पैसा कमाई हुने आशामा कतिपय युवाहरू घरजग्गा धितो राखेर वा बेचेर विदेश पुग्छन् । तर घरमा झन् जटिल समस्या देखापर्छन् । घरमा कृषि पेसा गर्ने जनशक्ति हुँदैन । बुढाबुढी, केटाकेटी र महिला मात्र घरमा हुँदा कैयौं खेतीयोग्य जमिन बाँझो रहने, गाईबस्तु पाल्न नसक्ने, मल नहँदा गरेको खेती पनि राम्रो नहुने समस्याले कृषि चौपट बन्दै जाने स्थिति सिर्जना हुन्छ ।
कतिपय गाउँहरू त युवाविहीन हुँदा गाउँमा कोही बिरामी पर्दा, मृत्यु हुँदा पनि कठिनाई उत्पन्न हुने गरेका छन् । भर्खरको जवानी अबस्थामा आफ्नो प्यारी जीवनसाथीलाई चटक्कै छाडेर २-३ बर्षको लागि विदेशमा बस्नु कम पिडादायी कुरा होइन । अझ आफ्नो प्रिय जीवनसाथीको मायाले गर्दा आफ्ना बाबुआमा, दाजुभाइलाई छाडेर श्रीमानको घरमा आउने चेलीले श्रीमान विदेशमा जाँदा कम्ति पिडा भोग्नु पर्दैन । घरमा सासु–ससुरा, देवर–देउरानीहरूसँग मनमुटाब सुरूहुने र घरमा बस्नै नसक्ने स्थिति र्सिजना हुँदै जाँदा उनलाई माइतीमा जानु पर्ने वा शहरमा कतै डेरा गरेर बस्नुपर्ने बाध्यताहरू सिर्जना हुने गरेका कतिपय घटनाक्रमहरू देखापर्ने गरेका छन् । कति महिला त केटाकेटीलाई राम्रो शिक्षा दिने निहुँमा विदेशबाट श्रीमानलाई पैसा मगाएर शहर बस्ने गर्छन् । यसरी शहर बसेका कयौं महिलाहरूप्रति पर–पुरूषको आकर्षण बढ्ने तथा कतिपय महिलाहरू पर–पुरूषसँग नजिकिँदै जाँदा उनीहरूबीच यौनआकर्षण र सम्बन्ध शुरू हुने र पहिलेको घरबार बिग्रने गरेका थुप्रै उदाहणहरू पाइन्छन् ।
अझ विदेशमा कठिन परिश्रम गरी पसिनासँग साटेको श्रीमानको धन पैसा समेत उडाएर श्रीमति पर–पुरूषसँग जाँदा श्रीमानले कम पीडा भोग्नु पर्दैन । स-साना बालबच्चालाई समेत छाडेर जाँदा श्रीमानलाई घरमा झनै कठिनार्इ उत्पन्न हुने गरेको छ । उता विदेशिएको श्रीमान पनि विदेशमा कैयौं विकृतिको सिकार हुने सम्भावना पनि त्यतिकै हुन्छ । कति नेपाली युवा विदेशमा कमाएको रकम रक्सी, जुवातास र बेश्याबृत्ति खर्च गर्छन् अनि कमाइ नै गर्न सक्दैनन् । अझ विदेशी महिलाको फन्दामा पर्ने युवाहरू त पैसा कमाउने कुरा त टाढै छ उतै पलायन हुने वा जीवन नै खतरामा पर्ने सम्भावना त्यतिकै हुन्छ ।
त्यतिमात्र होइन वैदेशिक रोजगारीका कारण घर ब्यबहारबाट टाढिएका हजारौं नेपालीहरुको घर गृहस्थी पनि नराम्ररी ध्वस्त भईरहेको छ । खासगरि रोजगारीका सिलसिलामा टाढिएका परिवारहरु टुक्क्रिदै छन् । यसरी एक्लिनुको बाध्यता र पिडाले सल्केको आगोले बिकराल रुप लिईसकेको छ । जसका कारण समाजमा बलत्कार लगायतका यौनजन्य अपराध, समन्ध बिच्छेद र हत्याका घटनाहरु बढ्दैछन् । यसरी छिन्न र भिन्न भएका मनहरु र घरहरु केले जोड्ने होला ? यसरी पराइको भुमिमा पिडा माथि पीडाको भारि बोकेर कुण्ठित जीवन बिताउन बाध्य छन् नेपालीहरू । यस्तै बाध्यताले कति त १० औँ बर्षदेखि मरुभूमिमा रगत र पसिना बगाउन विवश छन् । विदेशी भुमिमा नेपालीहरु पीडित निमुखा र सामान्य मानव अधिकारबाट समेत बञ्चित छन् ।
अर्कोतिर नेपालीहरूलाई कसरी हेरिन्छन् ? नेपालीहरूलाई आम रुपमा कसरी चिनिन्छ विदेशमा भन्ने कुरा छ । जसरि हामी विर गोर्खालीको देश, सगरमाथा र गौतम बुद्धको देश भनेर गर्व गर्छौं, त्योभन्दा अत्यन्तै फरक हुन्छ काम गर्ने ठाउँमा । नेपालीलाई सोझा र ईमन्दारीतामा त केही राम्रो रुपमा हेरिन्छ तर सँगसँगै जसरी नेपालीहरुले तल्लो स्तर र कम दक्षता हुने ठाउँमा काम गर्छन् त्यस्कै आधारमा निमुखा प्राणी र दुनियाँकै गरिव देशका मान्छे भनेर हेपिन्छन् । फेरि छिमेकी भारतीयहरुको बर्चस्व र बाहुल्यता रहने मुलुकमा नेपालीहरुलाई त्यति सम्मानजनक दृष्टिकोणले हेरिन्न व्यबहार गरिन्न । ब्यबहारिक रुपमा भन्ने हो भने विशेषगरी कतारमा “नेपाली” र “बंगाली” भन्ने शब्दहरु सबैभन्दा अपहेलित शब्दहरु हुन भन्दा फरक पर्दैन ।
अर्कोतिर रहयो भारि र घिनलाग्दो काम नेपालीहरुले गर्नु पर्ने ! एउटा विडम्बना नै मान्नु पर्छकी आफ्नो देशमा कृषि लगायतका अन्य पेसालाई अप्ठ्यारो मान्ने र घृणा गर्ने युवाहरू विदेशमा कठिनभन्दा कठिन काम गर्न पनि पछि पर्दैनन् । चर्को गर्मी भएको मरूभुमिमा भेडा चराउनेदेखि वायरिङको लागि आकाश छुने, घरका भित्ताहरूमा झुन्डिएर काम गर्ने तथा शरिरलाई अत्यन्तै क्षति पुर्याउने, केमिकल कारखानामा काम गर्न समेत उनीहरू पछि हट्दैनन् वा त्यसो गर्न बाध्य हुन्छन् । भारी बोक्नेदेखि इराक, अफगानीस्तान लगायतका आतंककारी समूहहरूको विगविगी रहेको क्षेत्रहरूमा काम गर्नसमेत उनीहरू तयार हुन्छन् । सजिलो काममा आफ्नो देशका युवाहरूलाई लगाउने तथा कठिन जोखिमपूर्ण काममा नेपाल जस्ता विदेशबाट गएका युवाहरूलाइ प्रयोग गर्ने सम्बन्धित देशको नीति रहेको हुन्छ । त्यही नीति अनुरूप विदेशमा काम गर्न जाने नेपाली मजदुरहरूले कडा र जोखिम काममा लाग्नुपर्ने बाध्यता हुन्छ ।
नेपाल जस्तो अर्धसामन्ति, अर्धऔवेनिवेशिक मुलुकका युवाहरू जो पुँजीवादी मुलुकहरूमा रोजगारीको सिलसिलामा पुगेका छन् । उनीहरूलाई शोषण, अन्याय, अत्याचारको विरूद्ध जुध्न मजदुरवर्गका महान नेता कालमाक्र्स र एगेंल्स, लेनिन तथा माओले देखाएको महान बाटोको बारेमा प्रशिक्षित गर्नु जरूरी छ । मजदुर वर्गको मुक्ति वर्गीय आन्दोलनबाट मात्र संभव छ भन्ने कुराको ज्ञान उनीहरूमा भर्न सकेमा र हजारौं मजदुरको एकता सामन्ति या पुँजीवादी कालाकानुनभन्दा कैयौं गुणा शक्तिशाली हुन्छ भन्ने कुराको चेतना उनीहरूलाई दिनसकेमा नेपाली क्रान्तिको लागी मात्र होईन विश्वकै सर्वहारा वर्गीय मुक्ति आन्दोलनमा ठूलो टेवा पुग्ने छ । त्यो संभावनालाई पक्रन हामी सबै सचेत क्रान्तिकारी शक्तिहरूले ध्यान दिनु जरूरी छ ।
नेपाली जनशक्तिलाई नेपालमै संरक्षण गर्न सर्व प्रथमतः देश मै उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै आर्थिक विकासका अबसरहरु श्रृजना गरि विदेश पलायन हुने लाखौंको युवा जनसक्तिलाई परिचालन गरेर बढ्दो बेरोजगारी समस्याको समाधान गरि खाडी लगायतका मुलुकमा तल्लो स्तरमा काम गर्न जाने सङ्ख्यालाई कम गराउँदै लैजान सकिन्छ । साथै नेपाल सरकारले तत्काल आवश्यक अध्ययन गरि मजबुत वैदेशिक रोजगार नीति बनाएर यसको प्रभाबकारी कार्यान्वयन गर्ने र सम्बन्धित मुलुकसँग आवस्यक समन्वय र परामर्श गरि बिद्यमान अब्यबहारिक श्रम नितिहरुलाई नबिकरण गर्दै दक्ष र शिपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाइ देशको आर्थिक उन्मुक्ति र समग्रमा गिरेको नेपाली शानलाई थप उचाइ दिलाउन सकिन्छ ।

7990
Shares

ट्रेन्डिङ