सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा

नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा

3495
Shares
नायिका रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलमा

 

नायिका रेखा थापाले आफू राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा रहेको बताएकी छन्। राप्रपाका एक मात्र निर्वाचित सांसद लिङ्देनको प्यानलबाट उनले उम्मेदवार दिनेबारे परामर्श पनि गरिरहेकी छन्।

लिङ्देनले बिहीबार एल्लो प्यागोडा होटलबाट अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। उक्त समारोहमा नायिका थापा पनि थिइन्। थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी छिन्। उनले आफू युवा नेता लिङ्देनको प्यानलबाट उम्मेदवारीसमेत दिने तयारीमा रहेको खुलाइन्।

‘अहिले म सल्लाह गरिरहेकी छु, पार्टीका नेताहरूसँगको छलफलपछि कुन पदमा उम्मेदवारी दिने भन्नेबारे टुंगोमा पुग्छु,’ रेखाले भनिन्। थापाले राप्रपा अब युवा नेतृत्वपंक्तिले हाँक्नुपर्ने बताइन्। युवा पुस्ताले मात्रै विद्यमान राजनीतिलाई सुधार गर्न सक्ने उनको भनाइ छ।

नेतृत्वमा पुरानै सोच र संस्कार जीवित रहेको भन्दै उनले युवाहरूले पार्टीमा ‘हस्तक्षेपकारी’ भूमिका निर्वाह गर्ने हिम्मत राख्नुपर्ने बताइन्। ‘अबको राजनीति जनताको हितमा हुनुपर्छ, त्यसका लागि नयाँ पुस्ता अगाडि आउनुपर्छ,’ उनले भनिन्, ‘नयाँ पुस्ताबाट नेतृत्व हाँक्ने आँट गर्नुभएकाले मैले राजेन्द्र दाइलाई समर्थन गरेकी हुँ।’

थापा यसअघि अध्यक्षत्रयमध्ये पशुपतिशमशेर राणानिकट थिइन्। ‘जनताको भावना हामीले कहाँनेर बुझिरहेका छैनौं? जनतालाई आश्वासन मात्र दिइरहेका छौं। तर जनताको भावना सम्बोधन गर्न अब युवापुस्ता नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्।

थापाले राप्रपाको केन्द्रीय सदस्यसँगै प्रवास विभागमा रहेर काम गरिसकेकी छन्। उनी अभिनयसँगै राजनीतिमा समानान्तर रूपमा सक्रिय छिन्। राप्रपाको एजेन्डामा राजनीति गरेर जनताको सेवा गर्ने इच्छा रहेको उनको भनाइ छ।

राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन आह्वान गर्ने निधो गरेको छ। त्यसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणा र लिङ्देनले प्यानल बनाउने सहमति गरेका छन्।

उनीहरू आफ्नो प्यानलमा क-कसले उम्मेदवारी दिनेबारे छलफलमा छन्। थापा डेढ दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छिन्। राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयता खारेजीको एजेन्डा लिएर महाधिवेशनमा जाँदैछ।

3495
Shares

ट्रेन्डिङ