‘दोस्रो राष्ट्रिय माझी गोल्डकप’मा काभ्रे जिल्लाले महोत्तरी जिल्लालाई पराजित गरेको छ ।
रामेछापको मन्थलीस्थित कुनौरीमा आज भएको खेलमा काभ्रेले महोत्तरीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । काभ्रेको जितका लागि खेलाडीहरु प्रविण माझी दुई गोल र मनिष माझी १ गोल गरे ।
त्यस्तै महोत्तरीका खेलाडीहरुले २ गोलबाहेक थप गोल गर्न सकेनन् । ‘नेपाल माझी उत्थान संघ, रामेछाप’को आयोजनामा जारी गोल्डकप अन्तर्गत शनिबार (आज) चार वटा खेल सम्पन्न भएका छन् ।
जहाँ बारा जिल्ला र ओखलढुंगा जिल्लाबीच भएको खेलमा ओखलढुंगाले जित निकालेको छ । ओखलढुंगाले बारालाई १–० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै रामेछाप ‘बी’ टिम र धनकुटाबीच भएको खेलमा रामेछाप ‘बी’ टिमले जित निकालेको छ ।
रामेछाप ‘बी’ टिमले धनकुटालाई ३–० ले पराजित गरेको हो । यस्तै रामेछाप ‘ए’ टिम र धादिङबीच भएको खेलमा रामेछाप ‘ए’ टिमले जित निकालेको छ । रामेछाप ‘ए’ टिमले धादिङलाई ४–० ले हराएको हो ।
मंसिर १५ गतेदेखि २१ गतेसम्म जारी रहने यस गोल्डकपमा २० टिम सहभागी भएका छन् । यस गोल्डकप विजेतालाई रु. २ लाख, दोस्रोलाई रु. १ लाख, तेस्रोलाई रु ५० हजार र चौथो हुनेलाई रु. २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजक ‘नेपाल माझी उत्थान संघ, रामेछाप’ले जनाएको छ ।