सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

4800
Shares
नमोबुद्धमा उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई सम्मान

 

काभ्रे : नमोबुद्ध नगरपालिकाले उत्कृष्ट कार्य गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज आइतबार एक कार्यक्रमका बीच नगरपालिकाले दुईजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद ५ हजारसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा वडा नं ४ की स्वास्थ्य स्वयंसेविका शर्मिला रम्तेल र वडा नं. ११ की स्वास्थ्य स्वयंसेविका मञ्जु तामाङ रहेका छन् । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उनीहरुलाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

दिवसकै अवसरमा नमोबुद्ध नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाबीच हाजिरीजवाफ प्रतियोगितासमेत आयोजना गरेको थियो । प्रतियोगितामा पुरानागाउँ स्वास्थ्यचौकीअन्तर्गतका स्वयंसेविकाको समूह पहिलो, भिडाबारी आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको समूह दोस्रो र कुरुगाउँ आधारभुत स्वास्थ्य केन्द्रअन्तर्गतका स्वयंसेविकाको टोली तेस्रो भए भने दाप्चा स्वास्थ्य चौकीअन्तर्गतका स्वयंसेविकाको समूहले सान्त्वना पुरस्कार पाएको छ ।

पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको थियो । प्रतियोगितामा १२ वटा समूह सहभागी थियो ।

नमोबुद्ध नगरपालिकामा ८१ जना महिला स्वास्थ्यं स्वयंसेविका रहेका छन् । उनीहरुले अघिल्लो आर्थिक बर्ष २०७७/७८ मा ५ हजार ३ सय १७ जनालाई सेवा दिएका छन् ।

कार्यक्रममा संवोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नमोबुद्ध नगरपालिका लागिपरेको बताउँदै सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको जानकारी दिए ।

महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको सम्मान गर्दै आएको र आगामी दिनमा पनि थप सेवा सुविधासहित उहाँहरुको कामको मुल्यांकन नगरपालिकाले गर्ने तिमल्सिनाले बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वास्थ्यमा संकट आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण बन्ने गरेको बताए ।

सामुदायिक स्वास्थ्य कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउन तथा चेतनाको विकास गर्न मद्दत पुगेको उनले बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुकै कारण बाल तथा मातृ मृत्युदर घटाउन सहयोग पुगेको उनले बताए ।

कार्यक्रममा नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, नगरपालिका स्वास्थ्य शाखा संयोजक नवराज दाहाल, स्वास्थ्य शाखामा कार्यरत सरस्वती शर्मा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमअघि महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुका टोलीले चेतनामुलक प्लेकार्डसहित नगर परिक्रमा गरेको थियो ।

 

4800
Shares

ट्रेन्डिङ