सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र

काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र

6480
Shares
काभ्रेमा एकीकृत–समाजवादीको सङ्गठन विस्तार तीव्र

 

काभ्रेपलाञ्चोक, २० मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो ।

गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ । रोशी–६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो ।

स्थानीय तहमा कमिटी निर्माणपछि पार्टीको हप्ताअघि बसेको बैठकले काभ्रेमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पार्ने निर्णयअनुसार अघि बढिएको जनाइएको छ ।

काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दिपक गौतमले जानकारी दिनुभया । उहाँका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भैसक्ने छन् ।

जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् । हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिनुभयो । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररुपमा भइरहेको छ, आउँदो पुस १५ सम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, उहाँले भन्नुभयो ।

मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताउनुभयो । वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ ।

पार्टीले विशेष गरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ । “हामी क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै जाने योजना बनाएका छौँ”, वाइवाले भन्नुभयो ।

नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए ।

तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो ।

उक्त पार्टीमा काभ्रेपबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ ।

देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद पोलिटब्युरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ । रासस

6480
Shares

ट्रेन्डिङ