सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

4245
Shares
नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

 

काभ्रे : ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ ।

नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल सुरु गरिएको हो । नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो ।

“नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल सुरु भइसक्यो, यसका लागि प्रक्रिया थालिएको छ” नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएको छ ।

नगरले युनेस्कोका नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकृतका लागि प्रदेशस्तरबाटसमेत पहल भएको वाग्मती प्रदेशका सांसद चन्द्र लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचीकृतका लागि काम अघि बढिसक्यो, युनेस्कोका प्रतिनिधिलाई अवलोकन गराउने योजना बनाएका छौँ ।”

उहाँका अनुसार वातावरण सहज भए आउदो पुसमा युनेस्कोसहित सरोकारवालाद्वारा नमोबुद्धको औपचारिक अवलोकन–भ्रमण हुनेछ । पर्यटकीयस्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ ।

शान्तिका प्रतिक गौतमबुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेकोस्थल हो नमोबुद्ध । बुद्धले लुम्बिनीमा पुर्नजन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामारकण भएको पाइन्छ ।

किंबदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ ।

हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । यस्तै, काभ्रेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ ।

पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ ।” पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गतसाल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको बताउनुभएको थियो ।

“हामी मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदा सूचीमा सूचीकृत हुने पर्खाइमा छौँ” उहाँले भन्नुभयो, “पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।”

मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम धमाधम भइरहेको छ ।

नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

काभ्रेपको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष साँस्कृतिक महत्व राख्ने (जस्तै : वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पु

रातत्व विभागद्वारा हाल पनौती नगरका ए्तिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ । पनौती नगरपालिका–५, ६ र ७ नम्बरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटीपौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडाँै उपत्यका (उपत्यका सात क्षेत्र : काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने बताइएकोे छ । रासस

4245
Shares

ट्रेन्डिङ