सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

2635
Shares
यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

 

काठमाडौँ, मङ्सिर २८ : राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ ।

ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

महोत्तरीको साविक नमूना गाउँ विकास समितिको कार्यालय गौशालाका तत्कालीन सचिव नागेश्वर रायले आफैँले हस्ताक्षर गरी राज्यले उपलब्ध गराएको रकम बुझ्ने गरेको अनुसन्धानमा खुलेको छ ।

आर्थिक वर्ष २०६७÷०६८ मा जिल्ला विकास समितिको कार्यालय जलेश्वरले उपलब्ध गराएको रकम दुरुपयोग गरेको आयोगको ठहर छ ।

भर्पाइको बुझी लिनेको सहीछाप महलमा आफैँले र अरु व्यक्तिलाई समेत औँठाछाप गर्न लगाई रु १२ लाख ८६ हजार ८०० बराबरको भ्रष्टाचार गरेको पाइएको छ ।

आयोगले तत्कालीन सचिव नागेश्वरविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लहानमा कार्यरत लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र हेल्पर सत्यनारायण साहले पाउने रकममा बदमासी गरेको पाइएको छ ।

गुप्ताले ठाकुरको नामको रु आठ लाख सात हजार ३६० को चेक आफ्नै खातामा जम्मा गर्न लगाएको र सत्यनारायण साहको रु एक लाख २४ हजार २०० बराबरको चेक कार्यालय सहायकलाई सटही गर्न लगाई आफैँले लिएको तथा बीमाबापतको रकम पाउँदैनाँै भन्दै पदीय दुरुपयोग गरेको आयोगको अध्यनबाट पुष्टि भएको छ ।

बीमाबापतको रकम नदिने मनसायका साथ लेखा प्रमुखले भ्रष्टाचारजन्य गतिविधि गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी गलत विवरण पेश गरी शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला परीक्षामा सहभागी भई नियुक्त समेत भएको र सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मनकला चौलागाईं आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आचार्यले तलब भत्ताबाट लिएको रु छ लाख ७४ हजार ५११ बराबरको बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिनुभयो । रासस

 

 

2635
Shares

ट्रेन्डिङ