सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चुनौतीपूर्ण यात्रामा सभापति देउवा

चुनौतीपूर्ण यात्रामा सभापति देउवा

3540
Shares
चुनौतीपूर्ण यात्रामा सभापति देउवा

 

काठमाडौँ, पुस १ : १४औँ महाधिवेशनबाट कांग्रेस सभापतिमा पुनः निर्वाचित भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र राष्ट्रिय राजनीति सहज रूपमा अगाडि बढाउन चुनौतीपूर्ण यात्रा गर्नुपर्ने देखिन्छ । सरकार र पार्टीको नेतृत्वमा रहेका उनलाई अब पार्टी राजनीति र सत्ता राजनीति एकसाथ अघि बढाउनुपर्ने मुख्य चुनौती छ ।

महाधिवेशनबाट पार्टीभित्र बलियो उपस्थिति देखाएको इतर समूहको मत सम्बोधन र आफ्नै समूहका नेताको व्यवस्थापन गरेर अघि बढ्नुपर्ने चुनौती देउवासमक्ष छ । महाधिवेशनको उद्घाटन सत्रमा उनले सभापति जिते तीनै तहको चुनावमा पार्टीलाई पहिलो बनाउने उद्घोष गरेका थिए ।

विश्लेषक कृष्ण पोखरेलले आमजनताको त्यति धेरै अपेक्षा नभए पनि कांग्रेसजनमा भने देउवाले आमनिर्वाचनमा पार्टीको जित सुनिश्चित गर्ने अपेक्षा रहेको बताए ।

‘आमजनतामा नहोला, तर कांग्रेसभित्रै हिजोको पराजयको जिम्मेवारी देउवाको भएकाले अब त्यो अपजसलाई मेट्नुपर्ने मुख्य चुनौती उनका सामु छ,’ पोखरेलले भने, ‘कांग्रेसका लागि अहिलेको निर्वाचन अनुकूल देखिएको छ । त्यसैले तीनवटै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउने अवसर पनि छ । उनी स्वयंले पनि यो भनेका छन् ।’

देउवानिकट नेता एवं गृहमन्त्री बालकृष्ण खाणले नवनिर्वाचित सभापति देउवाले कांग्रेस र देशको कार्यभार पूरा गर्न सक्ने दाबी गरे । ‘सभापतिले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित बनाएर लैजानुहुन्छ ।

उहाँ (देउवा) को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ ।’

देउवालाई संविधान र लोकतन्त्र रक्षा गर्नुका साथै राष्ट्रियताको विषयमा बलियो अडान राखेर हिँड्नुपर्ने चुनौती पनि छ । प्रतिबद्धताअनुसार सत्तागठबन्धनलाई सँगै लिएर तीनै तहको निर्वाचन गराउनुपर्ने कठिन चुनौती उनको सामु छ ।

एमसिसीलगायत केही मुद्दामा गठबन्धनमा रहेका दलहरूबीच अविश्वास छ । चाँडो चुनाव गर्नुपर्ने पार्टीभित्रको दबाब र संसद्को कार्यकाल पूरा गराउनुपर्ने गठबन्धनका दलहरूको चाहना एकैसाथ सम्बोधन गर्नुपर्ने दबाब पनि छ ।

प्रमुख प्रतिपक्षी एमालेलाई विश्वासमा लिएर संसद् चलाउनुपर्ने चुनौती पनि देउवासामु छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ  ।

3540
Shares

ट्रेन्डिङ