सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको तेमाल खानेपानी आयोजनाको पहिलो चरणको काम सकियो, सांसद बमध्वजले गरे अनुगमन

काभ्रेको तेमाल खानेपानी आयोजनाको पहिलो चरणको काम सकियो, सांसद बमध्वजले गरे अनुगमन

4810
Shares
काभ्रेको तेमाल खानेपानी आयोजनाको पहिलो चरणको काम सकियो, सांसद बमध्वजले गरे अनुगमन

 

काभ्रे : तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना अन्तर्गत पहिलो चरणको काम सकिएको छ । पहिलो चरण अन्तर्गत मुहानको सबै काम सकिएको छ । त्यस्तै मुहान देखि मुख्य ट्याङकी रहेको ठाउँ याङमेल डाँडामा पानी खसाल्ने काम समेत भइसकेको छ ।

त्यस्तै २३ वटा ट्याङकी मध्ये ११ वटामा अबको एक हप्ता भित्र पानी संकलन गर्न मिल्ने चन्द्रा एण्ड बसन्त कम्पनीका बसन्त चन्दले जानकारी दिनुभयो । पहिलो चरणको काम सकिएकोपछि आज काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ का सांसद गंगा बहादुर दोङ बमध्वजको नेतृत्वमा अनुमन गरिएको छ ।

अनुगमनमा सांसद दोङसँगै खानेपानी तथा ढल ब्यवस्थापन विभागको सिनियर डिभिजनल इन्जिनियर रामेश्वर घिमिरे, संघीय खानेपाती तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ, कन्सल्ट्रन्ट इन्जिनियर पारस तिमल्सिना, पत्रकार र स्थानीय उपभोक्ताहरु सहभागि हुनुभएको थियो ।

तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको मुहान गत असार १, साउन १७, १८ र १९ गते सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको थियो । निकै मेहेनतपछि मुहानलाई पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम अहिले धमाधम भइरहेको छ । प्रशोधन केन्द्रबाट मुख्य ट्याङकीसम्मको पाइपमा सफल परीक्षण समेत भइसकेको छ ।

सांसद दोङले मुहानको प्रशोधन केन्द्र देखि याङमेल स्थित मुख्य ट्याङकीको अवलोकन गरी पछि शुद्ध पानी पिउने तेमालबासी जनताको इच्छा पुरामा हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

‘बाढीपछि मुहान क्षेत्रको हेर्दा पुग्दा म निकै निराश भएको थिए । तर आज लगभग पुरानै अवस्थामा मुहान देख्न पाइयो । सुनकोशीको पानी प्रशोधन भएर याङमेल डाँडामा समेत खसेको प्रत्यक्ष देख्न पाउन निकै खुशी लागेको छ । अब छिट्टै तेमालका सबै नागरिकको घर घरमा पानी पुग्नेछ भन्ने विश्वास लिएको छु । त्यसका लागि मैले गर्नु पर्ने पहल गर्न प्रतिबद्ध छु । सांसद दोङले भन्नुभयो ।’

खानेपानी तथा ढल ब्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियिर घिमिरेले निर्माण कम्पनीलाई यहि चैत महिनासम्मको मात्रै म्याद रहेको जानकारी दिनुभयो । ‘पछिल्लो समय काम निकै रफ्तारमा भइरहेको छ । यही गतिमा काम निरन्तर भइरह्यो भने हामीले यहि वर्षको चैत महिनाभित्र पानी वितरणको काम सकिसक्छौँ । त्यसका लागि सबैले आ आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ । घिमिरेले भन्नुभयो ।’

संघीय खानेपाती तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले आयोजनाको कामलाई जतिसक्दा छिटो सकाएर काकाकुल अवस्थामा रहेको तेमालमा शुद्ध पानी वितरण गर्न आफुहरु पनि लागिपरेको बताउनुभयो ।

‘पहिलो चरणको काम सकिएपछि धेरै नै आश पलाएको छ । अब पाइप लाइन बिछ्याउने काम मात्रै बाँकी छ । यसलाई पनि छिटो भन्दा छिटो सकाएर घर घरमा पानी पुर्याउन हामी जुटिरहेका छौँ । श्रेष्ठले भन्नुभयो ।’

निर्माण कम्पनीको बसन्त चन्दले उपभोक्ता समितिले गर्नुपर्ने १० प्रतिशत बापतको काम अघि बढाए आफुहरुको काम लगभग अन्तिम चरणमा पुगेको बताउनुभयो ।

‘हामीले गर्नुपर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । अब धेरै काम उपभोक्ता समितिले गर्नुपर्ने मात्रै छ । यदि उपभोक्ता समितिले आफ्नो दायित्व अनुसारको काम गर्ने हो भने यसै वर्षको चैत महिनाभित्र आयोजनाको सबै सकिएन्छ । घर घरमा पानी पुग्छ । चन्दले भन्नुभयो ।’

आयोजनाबाट तेमाल गाउँपालिका वडा नम्बर १ देखि ९ सम्म, नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४ र ५ तथा रोशी गाउँपालिकाको वडा नम्बर ७ पार्थलीका नागरिकले सुनकोशीका पानी खान पाउनेछन् । शुरुमा ८ हजार ३ सय ७४ घर धुरी सवेक्षण गरेपछि आयोजना सकिँदासम्म साढे ९ हजार पुग्ने अनुमान गरिएको छ ।

4810
Shares

ट्रेन्डिङ