सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

2990
Shares
बीवाईएससीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

 

पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।

पोखरा रंगशालामा रवी थिङ नायक बनेपछि एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो ।

पहिलो हाफमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुआतमै बीवाईएससीले अग्रता बनाएको थियो ।

खेलको ४७ औं मिनेटमा राइलीको क्रसमा मिगल पेलाफक्सले हेडरमार्फत गोल गर्दै बीवाईएससीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७० औं मिनेटमा आवाश लामिछानेले पेनाल्टीमा गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ८४ औं मिनेटमा रवी थिङले गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा रवीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-१ को जित दिलाए ।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।

यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । बिवाइएसी युएसए भने सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

2990
Shares

ट्रेन्डिङ