सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • ४ वटा वनमा हात्ती सफारी गर्न पाइने

४ वटा वनमा हात्ती सफारी गर्न पाइने

3515
Shares
४ वटा वनमा हात्ती सफारी गर्न पाइने

एजेन्सी ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत चारवटा सामुदायिक वनले हात्ती सफारीका लागि अनुमति पाएका छन् ।
पर्यटकलाई हात्तीमा चढाएर वन्यजन्तु अवलोकनका लागि सौराहा आसपासमा हात्ती सफारी हुँदै आएकामा अहिले चितवनको पश्चिम क्षेत्रमा समेत सफारीको अनुमति दिइएको हो ।
निकुञ्जको बरन्डाभार उपभोक्ता समितिअन्तर्गत बाटुली मध्यवर्ती सामुदायिक वन, दक्षिणकाली मध्यवर्ती सामुदायिक वन, नवज्योति र वनदेवी मध्यवर्ती सामुदायिक वनलाई पनि हात्ती सफारीको अनुमति दिइएको हो ।
यहाँ आठवटा हात्ती सञ्चालन गर्ने अनुमति पाइएको र केहीदिनमै हात्ती सफारी सुरु गरिने दक्षिणकाली मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष विष्णु तिवारीले जानकारी दिए ।
उनका अनुसार चितवनको टिकौली करिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल आसपास क्षेत्रमा हात्ती सफारी गर्न लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले सामुदायिक वनको कार्ययोजनाअनुसार हात्ती सफारीको अनुमति दिइएको बताए ।
चितवनमा आउने अधिकांश पर्यटकले हात्तीमा चढेर बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोलजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न मन पराउँछन् ।
हात्ती सञ्चालको अनुमति पाएको चारवटा सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडाको राम्रो वासस्थान छ ।
यस्तै विभिन्न तालतलैया तथा मनोरम क्षेत्र भएकाले पनि पछिल्लो समयमा यहाँ पर्यटक आगमन वृद्धि हुँदै आएको छ । अघिल्लो वर्षदेखि यहाँ पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल लेक ट्वाइटी थाउजेन्ड रिसोर्ट सञ्चालनमा आएपछि पर्यटन गतिविधि बढ्दो छ ।
सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ ।
हात्ती सफारी गराएबापत चितवन निकुञ्जमा  छुट्टै राजस्वस्वरुप विदेशीले एक हजार ५००, सार्क देशका पर्यटकले ७०० र नेपालीले रु १०० तिर्नुपर्ने हुन्छ ।
यहाँ हरेक दिन बिहान ८ बजे र दिउँसो १ तथा ३ बजे हात्ती सफारी हुने गरेको छ । रासस

3515
Shares

ट्रेन्डिङ