सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

4190
Shares
आजदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

 

काठमाडौं, १९ माघ : पश्चिमी वायुको प्रभावका कारण आज रातिदेखि मौसम बदली भई पहाडी तथा तराईमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने जनाइएको छ।

बुधबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रही बाँकी भागमा सामान्यतः सफा रहेको छ।

तर‚ आजदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा पानी पर्नुका साथै हिमपात हुने मौसमविद वरुण पौडेलले जानकारी दिए।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा तथा बागमती र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी तथा तराईका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए।

बिहीबार गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसमविद पौडेले बताए।

पहाडी तथा तराईका अधिकांश स्थानमा मेघगर्जनसहित असिना र हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद पौडेले बताए।

पहाडी तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि भने पश्चिमी न्यून चापीय मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलब २ डिग्री सेल्यिस मापन भएको छ। दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्न सकिने अनुमान महाशखाले गरेको छ।

4190
Shares

ट्रेन्डिङ