सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लाभग्राही सूचीबाट हटे काभ्रेका ५ हजार भूकम्पपीडित

लाभग्राही सूचीबाट हटे काभ्रेका ५ हजार भूकम्पपीडित

5540
Shares
लाभग्राही सूचीबाट हटे काभ्रेका ५ हजार भूकम्पपीडित

 

काभ्रेपलाञ्चोक: काभ्रेका ५ हजार बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ ।

निजी आवास पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो ।

तत्कालीन प्राधिकरणले ०७२ गोरखा भूकम्पले निजी आवासमा क्षति पु¥याई पुनर्निर्माणार्थ सूचीकृत गरेको तर पटक–पटक गरी ०७८ कात्तिक मसान्तससम्म म्याद थप्दा सम्झौता गर्न नआएकाको नाम लाभग्राही सूचीबाट हटाउने निर्णय गरेको थियो ।

सोहीअनुसार काभ्रेपलाञ्चोकका ५ हजार ३७२ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको जिल्ला कार्यान्वयन इकाइ (भवन तथा आवास) प्रमुख इञ्जिनियर सन्तोष निरौलाले बताए ।

उनका अनुसार प्राधिकरणले जिल्लास्थित गत वर्ष पुसमा आवास पुनर्निर्माणमा सूचीकृत भई सम्झौतासमेत नगर्नेको नाम माग गरेको थियो । हालै सहरी विकास मन्त्रालयमार्फत आएको परिपत्रअनुसार आवास निर्माण अनुदानमा म्याद थप गरिएको प्रक्रियाअन्तर्गत सम्झौता गरेको तर आवास निर्माण गर्न बाँकीले मात्रै अब कबुलियत गरी ‘म आउँदो फागुन महिनाभित्र घर बनाउँछु’ भनेर स्थानीय जनप्रतिनिधिसँग प्रतिबद्धता जनाउनुपर्ने निरौलाले जानकारी दिए ।

‘प्राधिकरणबाट लाभग्राहीमा सूचीकृत भएको तर सम्झौता नगर्ने ५ हजार बढीको सूची पठाइएको थियो । सोहीअनुसार लाभग्राही सूचीबाट हटाइएको हो’, उनले भने ।

प्राधिकरणले पुनर्निर्माणका लागि पहिलो किस्ता नलिएकाको पनि लाभग्राही सूचीबाटै हटाउने निर्णय गरेपछि पुनः ०७८ साल कात्तिक मसान्तभित्र आवास अनुदान लिएर घर बनाइसक्नुपर्ने गरी गत असारमा म्याद थपेको थियो ।

यसअघि सम्झौता भएका भूकम्पपीडितले मात्रै प्रतिबद्धता जनाएर आवास पुनर्निर्माणको प्रथम किस्ताबापतको ५० हजार रुपैयाँ लैजान पाउनेछन् । दोस्रो किस्ताबापत १ लाख ५० हजार तथा तेस्रो किस्ताबापतको १ लाख रुपैयाँ रकम आवास पुनर्निर्माण सकेपछि दिने नीति छ ।

हालसम्म जिल्लामा निजी आवास पुनर्निर्माणमा सूचीकृत भएका ८४ हजार ६९० भूकम्पपीडित परिवारमध्ये ५ हजार ३७२ सम्पर्कमा नआएका हुन् ।

जिल्लास्थित भवन तथा आवास कार्यालयका अनुसार ७९ हजार ४४० आवास पुनर्निर्माणका लाभग्राहीमध्ये हालसम्म ६५ हजार ८७६ ले निजी आवास पुनर्निर्माण गरेका छन् ।

पहिलो किस्ताबापतको ५० हजार लिएकामध्ये ८७ दशमलव ३६ प्रतिशत लाभग्राहीले मात्रै दोस्रो र ८३ प्रतिशतले घर निर्माण सकेर तेस्रो किस्ताको रकम लिएका छन् । २ हजार ४०१ लाभग्राहीले विभिन्न गैरसरकारी संस्थाबाट अनुदान रकम लिएर घर बनाएको निरौलाले जानकारी दिए ।

कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेको आधारमा काभ्रेपलाञ्चोकमा ८३ प्रतिशत आवास पुनर्निर्माण सकिएको बताएको छ ।

कार्यालयमा हालसम्म स्वैच्छिक रूपमा ५२ जनाले आवास पुनर्निर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने संघ–संस्थामार्फत आवास पुनर्निर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । संघ–संस्थाको सहयोगमा निजी आवास पुनर्निर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान थियो । कार्यालयका अनुसार जिल्लाको भुम्लु गाउँपालिकामा सबैभन्दा बढी आवास पुनर्निर्माण भएको छ ।

६ हजार २६१ लाभग्राहीमध्ये ९३ प्रतिशत अर्थात् ५ हजार ५६९ ले निजी आवास निर्माण सकेका हुन् । सबैभन्दा कम बनेपा नगरपालिकामा ७१ दशमलव ६ प्रतिशतले मात्रै घर निर्माण सकेका छन् ।

यसैगरी धुलिखेल नगरमा ४ हजार ३६२, मण्डनदेउपुर नगरमा ८ हजार ५९, नमोबुद्ध नगरमा ५ हजार ३५९, पाँचखाल नगरमा ८ हजार १६८, पनौती नगरमा ६ हजार ५४८ ले घर निर्माण गरिसकेका छन् ।

यस्तै, बेथानचोक गाउँपालिकामा ३ हजार ३४०, चौंरीदेउरालीमा ५ हजार ४८२, खानीखोलामा ३ हजार ५५२, महाभारतमा २ हजार ७१९, तेमालमा ३ हजार ९३१ र रोशी गाउँपालिकामा ५ हजार ५० ले घर निर्माण सकेर अन्तिम किस्ता बुझेका छन् । रासस

 

5540
Shares

ट्रेन्डिङ