सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • हिन्दूवादी दल खोल्दै कमल थापा

हिन्दूवादी दल खोल्दै कमल थापा

4115
Shares
हिन्दूवादी दल खोल्दै कमल थापा

 

काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन ।

उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए ।

उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।

त्यस पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो माग ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् ।

उनले अध्यक्ष लिङ्देनले आफूलाई आएर भेटेको तर माग सम्बोधन गर्ने दिशामा उनी नदेखिएको पनि बताएका छन् । ‘अध्यक्षजीसँग मेरो घरमै सामान्य कुरा भयो ।

मैले दुईपटक लिखितपत्र बुझाएर उठाएका विषय समाधानतर्फ उनी गम्भीर भएको मैले पाइनँ,’ उनले भनेका छन्, ‘अध्यक्षको कुराअनुसार समस्याको निकास दिने सम्भावना रहेन । अहिलेसम्म निकास दिने छाँट नदेखिएकाले अब विकल्प खोज्नैपर्ने भएको छ ।’

राप्रपाका निवर्तमान अध्यक्ष थापा अहिले जुन रूपमा अघि बढिरहेका छन्, त्यसले राप्रपा कुनै पनि दिन विभाजन नहोला भन्न सकिन्न ।

 

एकता महाधिवेशनमा लिङ्देनसँग पराजित भएसँगै उनले पार्टी गतिविधि पनि बहिष्कार गर्दै आएका छन् । उनका पछिल्ला गतिविधि नियाल्ने हो भने थापा नयाँ पार्टी गठनमा लागेको देखिन्छ ।

जस्तो उनले सोमबार नै सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आफूनिकट पदाधिकारी र सदस्यको भेला राखेर अध्यक्ष लिङ्देनले आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले नयाँ विकल्पका लागि तयार रहन आग्रह गरेका छन् ।

‘मैले उठाएका राजनीतिक र संगठनात्मक विषयलाई अध्यक्ष लिङ्देनजीले सम्बोधन गर्ने कुनै तत्परता देखाउनुभएन’, अध्यक्ष थापाले भेलामा भने,’ मैले उठाएका माग सम्बोधन भएमा पार्टीमै बस्छु ।

यदि ती विषय सम्बोधन नभएमा विकल्प खोज्छु । त्यो अवस्थामा मलाई सबैको साथ सहयोग चाहिन्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

4115
Shares

ट्रेन्डिङ