सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

दाउ हेर्दै एमाले !

4200
Shares
दाउ हेर्दै एमाले !

 

काठमाडौं, २ फागुन : राजनीतिक तरंग ल्याएका वर्तमानका दुवै विषय निचोडमा पुर्याउन एमाले यस्तो कडी बनेको छ, जसले जता साथ दिन्छ, निर्णय उतै ढल्किन सक्छ।

संसद्को सबैभन्दा ठूलो यो दल हाल प्रतिपक्षमा छ। उसको संसदीय अंकगणित मजबुत मात्र छैन, त्यसलाई सत्ता गठबन्धनविरुद्ध भरपुर उपयोग गर्ने रणनीतिसमेत बनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीनिकट एक नेता भन्छन्, ‘चाहे त्यो एमसीसी होस् वा प्रधानन्यायाधीशविरुद्धको महाभियोग, दुवैमा एमाले परिस्थितिको प्रयोग गर्न तयार छ।’

अहिले धेरैलाई चासो छ, एमसीसी के हुन्छ ? त्यसमा एमालेको भूमिका कस्तो हुन्छ ? सत्ता गठबन्धनका साझेदार दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पक्षमा मतदान गर्लान् कि नगर्लान् ?

माओवादीले एमसीसीलाई ‘राष्ट्रघा ती’ भन्दै देशव्यापी विरोध गर्यो। अध्यक्ष पुष्पकमल दाहाललाई अहिले त्यही विषय निल्नु न ओकल्नु बनेको छ।

‘गठबन्धन छाड्न जति गाह्रो छ, एमसीसीका पक्षमा मतदान गर्न झन् साह्रो छ’, दाहालनिकट एक नेता भन्छन्, ‘सकेसम्म हामीले मतदान नगरी पास होस् भन्ने अध्यक्षज्यूको चाहना छ।’

उच्च स्रोतका अनुसार दाहाल एमसीसी संसद्मा लैजान दिन तयार भएका छन्। मतदान गरिहाल्ने मनस्थितिमा भने छैनन्।

उपस्थित सांसदको बहुमत चाहिने भएकाले एमालेबाहेक बहुमत पुर्याउन कांग्रेसबाट मात्र सम्भव छैन। एमालेका ९८ सांसद छन्। तिनले पक्षमा मतदान नगरे प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गराउन कम्तीमा ९९ सांसद चाहिन्छन्। माओवादीबिना त्यो सम्भवै छैन।

ओलीको रणनीति
एमसीसीबारे एमालेले खुला अवधारणा बनाइसकेको छैन। ऊ यसलाई घरेलु राजधानीको लाभ-हानिमा प्रयोग गर्ने योजनामा देखिन्छ। स्रोतका अनुसार गठबन्धन भत्काए देउवालाई सघाउन तयार छ। गठबन्धन रहिरहे संसद्मा उभिन्छ। ९८ सांसद खडा गर्छ। बहुमत पुयाउन माओवादीलाई मतदानका लागि बाध्य बनाउँछ।

‘माओवादी अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग हालै भएको टेलिफोन संवादमा एमाले के गर्छ भनेर चासो राख्नुभएको थियो। हामी कम्युनिस्टहरू बाहिरै बसौं भन्नुभएको थियो।

त्यसको अर्थ कांग्रेसले कोरम पुयाओस्, बैठक गरोस् र उपस्थित सांसदको बहुमत देखाई पारित गरोस् भन्ने हो’, ओली निकट ती नेताले सुनाए, ‘तर, एमाले त्यति नबुझ्ने छैन ।

माओवादीले कि गठबन्धन त्याग्नुपर्छ, कि एमसीसीमा मत दिनैपर्छ । त्यसमा बाध्य पार्ने पोजिसनमा हामी छौं।’ अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले र तारा चापागाईंले खबर लेखेका छन् ।

4200
Shares

ट्रेन्डिङ