सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

8155
Shares
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्रलाई

 

 

काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।

 

खेलको ५३ औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् । सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएपनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे ।

 

उक्त गोल नोर्लान र मछिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनिष डाँगीलाई समर्पण गरे । मनिषले च्यासलबिरुद्धको खेलमा चोट बोकेका थिए । मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो ।

 

मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो । नोर्लानको गोल बाहेक दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको ११ औं मिनेटमा सुनिल बलको पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट गएको थियो ।

 

१८ औं मिनेटमा सातदोबाटोका सुदिप गुरुङको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे । खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्तिमगरले दुई डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल सातदोबाटोका गोलकिपर अविशेक बरालले मुश्किलले बचाए ।

 

२२ औं मिनेटमा सिक्स यार्ड बक्स भित्र रहेका मछिन्द्रका देवेन्द्र तामाङको फ्लिक प्रहार सातदोबाटोका डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो । खेलको २४ औं मिनेटमा मछिन्द्रका नोर्लान नोब्रुजोभको क्रसमा विमलको उत्कृष्ट हेडर सातदोबाटोका गोलकिपर अविशेकले बचाए ।

 

२९ औं मिनेटमा सातदोबाटोले गोलको अवसर गुमायो । आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार मछिन्द्रका गोलकिपर विशालले बचाए । खेलको ३२ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको फ्रि-किकमा मार्टिनको हेडर मछिन्द्रका गोलकिपर विशालले मुश्किलले बचाए ।

 

यस्तै ५५ औं मिनेटमा अनमार्क रहेका मछिन्द्रका नोर्लानले पेनाल्टी क्षेत्र भित्रबाट बाहिर प्रहार गरे । यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ ।

मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौं स्थानमा रहेको छ ।

 

 

8155
Shares

ट्रेन्डिङ