सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एमसीसी पारित गर्न प्रचण्ड–नेपाल लचक

एमसीसी पारित गर्न प्रचण्ड–नेपाल लचक

5405
Shares
एमसीसी पारित गर्न प्रचण्ड–नेपाल लचक

 

काठमाडौं, १५ फागुन: संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लचक हुने भएका छन् । संशोधनविना एमसीसी पारित नगर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्न लचक भएका हुन् ।

 

एमसीसी संसद्मा पेस भएसँगै सत्ता गठबन्ध नै संकटमा परेको भन्दै सत्ता गठबन्धन जोगाउने र एमसीसी पनि पारित गर्ने गृहकार्य तीव्र भएको छ । माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिनुभएको छ ।

 

एमसीसी सम्झौता टेबल भएपछि मात्र तीनपटक प्रधानमन्त्री देउवाले ओली निवास बालकोटमै पुगेर भेटवार्ता गर्नुभएको छ । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले निरन्तर रुपमा प्रतिपक्षसँग संवाद अगाडि बढाएसँगै एमसीसीको विपक्षमा मतदान गर्ने अडान लिँदै आएका माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्ने र सत्ता गठबन्धन जोगाउने निष्कर्षमा पुगेका हुन् ।

सत्ता गठबन्धन जोगाउन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार साँझ एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ । पार्टीभित्र आन्तरिक गृहकार्य गरेर प्रचण्डले अन्ततः गठबन्धन जोगाउने नै निष्कर्षमा पुगेको बताइएको छ ।

 

नेकपा माओवादीका नेता हरिबोल गजुरेलले एमसीसीको विषयमा आफ्नो पार्टीले राख्दै आएको संशोधनको विषयलाई समेत स्पष्ट पारेर एमसीसी पारित गर्नुपर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो– ‘सत्ता गठबन्धनको लक्ष्य पूरा भएको छैन, आगामी निर्वाचनसम्म गठबन्धन निर्माण गरेका हौं, संशोधनको विषय समावेश गरेर एमसीसी पारित गर्नुपर्ने मत पार्टीभित्र निर्माण भएको छ ।’

 

शान्ति प्रक्रियाको कतिपय काम अझै बाँकी रहेकाले सत्ता गठबन्धनलाई जोगाउने प्रयत्न भइरहेको बताउँदै गजुरेलले सकेसम्म गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताउनुभयो । यसैबीच एमसीसी पारित गर्ने विषयमा निर्णय गर्नका लागि एकीकृत समाजवादी पार्टीले आइतबार स्थायी कमिटीको बैठक बोलाएको छ ।

 

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्वलाई सहमत बनाउने दौडधुप शुरु भएको छ । शुरुमा व्याख्यात्मक घोषणासहित पारित गर्न कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव राख्नुभएको थियो । अहिले उक्त प्रस्तावअनुसार नै एमसीसी पारित गरेर गठबन्धन जोगाउने सहमति जुटेको छ ।

 

नेकपा एकीकृत समाजवादीका नेतृ एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर अगाडि बढ्ने विषयमा मोटामोटी सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशको हितलाई केन्द्रमा राखेर एमसीसी सम्झौता अगाडि बढाउनुपर्नेमा साझा धारणा निर्माण हुने अवस्था रहेको छ ।’

 

एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने विकल्पको खोजीमा जुटेका थिए । माओवादी र एकीकृत समाजवादीले राखेको अहिलेको अडानको विकल्पका रुपमा एमसीसीबारे प्रश्न उठेका विषयहरुमा व्याख्यात्मक घोषणा गर्ने गरेर पारित गर्ने विषयमा दुई दलबीच मोटामोटी सहमति जुटेको छ ।

 

व्याख्यात्मक घोषणामा एमसीसी सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्छजस्ता विषय समावेश गरिएको छलफलमा सहभागी कांग्रेसका एक नेताले बताए । यो खबर आजको नेपाल समाचार पत्रदैनिकमा छ ।

 

 

5405
Shares

ट्रेन्डिङ