सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जनतालाई फेस गर्न नसकेपछि धुलिखेलका मेयर अशाेक व्याञ्जु भागे !

जनतालाई फेस गर्न नसकेपछि धुलिखेलका मेयर अशाेक व्याञ्जु भागे !

12835
Shares
जनतालाई फेस गर्न नसकेपछि धुलिखेलका मेयर अशाेक व्याञ्जु भागे !

 

 

शनिबार धुलिखेल नगरपालिका वडा नम्बर १२ इट्टेमा मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ जाने कार्यक्रम वडा नम्बर १० का स्थानीयले पनि थाहा पाए । वडा नम्बर १२ मा मेयर ब्याञ्जुले ‘एक घर, एक धारा’ र सडक उदघाटन गर्नु भयो ।

 

छिमेकी वडामा एक घर, एक धारा उद्घाटन गरेर फर्किने क्रममा मेयरलाई आफ्नो वडामा चाँहि एक घर, एक धारा कार्यक्रम किन समयमै पुरा नभएको भनेर सोध्ने स्थानीयको इच्छा थियो । त्यहि अनुसार स्थानीय भेला भए । त्यसमा पनि काँग्रेस समर्थित केही ब्यक्ति सडकमा थिए ।

 

मेयरको गाडी आइपुग्यो । गाउँ आइपुगेका मेयरलाई गुनासो सुनाउन गाडी रोक्ने प्रयास स्थानीयले गरे । तर मेयर ब्याञ्जु सवार गाडी रोकिएन् । स्थानीय देखेपछि गाडी तीब्र गतिमा हुइकियो ।

 

हामीलाई प्राप्त स्थानीयले खिचेर पठाएको भिडियो हेर्दा मेयर ब्याञ्जुले गुनासो सुन्ने कुनै प्रयत्न नगरेको प्रष्ट देखिन्छ । भिडियोमा केही स्थानीयले ‘मेयर भाग्यो, भाग्यो’ भनेको सुनिन्छ ।

 

वडा नम्बर १० मा एक घर, एक धारा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७४-७५ सालदेखि बजेट विनियोजिन भएको स्थानीयको भनाई छ । स्थानीयले त्यो आर्थिक वर्षमा १ करोड ४ लाख रुपैयाँ विनियोजन भएको दाबी गरेका छन् ।

 

उनीहरुले हालसम्म कुन आर्थिक वर्षमा कति बजेट विनियोजन भयो भनेर फ्लेक्समै प्रिन्ट आम मानिसले हेर्न मिल्ने गरी टाँसेका छन् । र सामाजिक सञ्जालमा समेत पोष्ट गरेका छन् ।

 

यो खानेपानी आयोजनाका बारे स्थानीयले झण्डै दुई वर्षअघि मेयरकै कार्यकक्षमा पुगेर गुनासो गरेका थिए । त्यो बेला गुनासो गर्न पुग्नु भएका स्थानीय चन्द्र मान लामाले मेयरको कुरा सुनेपछि निराश भएको बताउनुभयो ।

 

‘म नेपाली काँग्रेसबाट २०७४ सालको निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेको थिए । मेयरलाई नगरपालिकामै पुगेर गुनासो सुनायौँ । मेयरले तपाईहरु काँग्रेसको मान्छे हो । तपाईहरु विरोधका लागि मात्रै यहाँ आउनुभएको हो ।

 

तपाईहरुको भोट पनि चाँहिदैँन् । यहाँ चार तिहाइ नेकपा छ । अहिले तपाईहरु जानुस् । तपाईहरुले चुनाव जित्नुभयो भने तपाईहरु काम गर्नुस् । अहिले हामीले चुनाव जितेका छौँ । हामीले काम गर्ने हो । तपाईहरुको काम हेर्ने हो । चुनाव जित्नुभयो भने तपाईहरु काम गर्नुहुन्छ । हामी छौँ ।’

 

स्थानीय गोविन्द भण्डारीले फ्लेक्समा लेखिएको बजेट सहित फेसबुक मार्फत भन्नुभएको छ ‘धुलिखेल नगरको गौरवको योजना मध्य पर्ने वडा नम्बर १० सारदा बतासेको सिमल चौर सल्लाघारीमा ‘एक घर, एक धारा’ खानेपानी योजना ढिलो भै रहेको छ ।

 

सारदा बासिको चाहाना माथी जति बेला बज्रपात भयो । जुन दिन शंखुको ‘एक घर, एक धारा’ उदघाटन भयो । अनि सारदा बासिको चित्त दुखाइ । २०७४ सालदेखि निरन्तर रकम बिनियोजित भको छ । हामीलाइ चै किन काकाकुल बनाइयको हो ?’

 

वडा नम्बर १० को झण्डै ३ सयघर धुरीमा एक घर, एक धारा पुर्याउनका लागि ‘सिमल चौर सल्लाघारी डिपबोरिङ खानेपानी आयोजना’ सुरु गरिएको थियो । यो खानेपानी आयोजना उपभोक्ता समितिको अध्यक्ष रविन्द्र थापा हुनुहुन्छ । स्रोतका अनुसार थापा एमालेका कार्यकर्ता हुन् । यो खानेपानी अन्तर्गत डिपबोरिङ खन्ने काम सकिएको छ ।

 

केही ठाउँमा पाइप पनि बिछ्याउने काम भएको छ । तर समयमै पाइप नपुर्दा पाइप क्षत विक्षत भएको छ । ‘हामी खानेपानीको चरम अभाव झिलिरहेका छौँ । वडाले त हाम्रो कुनै कुरै सुन्दैन् । मेयरले पनि चासो दिनु हुँदैन् ।

 

रकम बार्षिक विनियोजन भइरहेको छ । तर सहज रुपमा पानी खान पाइएको छैन् । कसलाई भन्ने ? के गर्ने ? आम वडाबासीको सवाल उठाउँदा राजनीतिकरण गर्न खोज्यो भन्छन् । समयमै काम सकाइदिए हामीलाई चाँहि बिना कारण कराइरहने मन त थिएन नि । चन्द्र मान लामाले भन्नुभयो ।

 

यो खानेपानी आयोजनाका बारे थप बुझ्न वडाध्यक्ष पुष्पराज राउतलाई हामीले मोबाइलमा ५ पटक सम्पर्क गर्दा पनि फोन उठाउनु भएन् । वडाध्यक्ष राउत धुलिखेल नगरपालिकाको प्रवक्ता समेत हुनुहुन्छ ।

 

 

12835
Shares

ट्रेन्डिङ