• होमपेज
  • कृषिप्रधान देशमा खद्यान्न आयात गर्नुपर्ने विडम्बना

कृषिप्रधान देशमा खद्यान्न आयात गर्नुपर्ने विडम्बना

कृषिप्रधान देशमा खद्यान्न आयात गर्नुपर्ने विडम्बना

पुष्पराज खड्का
नेपाल कृषिप्रधान मुलुक हो । यसमा कुनै दुईमत छैन । आजका दिनसम्म पनि लगभग ७० प्रतिशत नेपालीहरुको प्रमुख पेशा कृषि नै हो । प्रमुख पेशा कृषि भए पनि नेपालीहरुलाई विहान बेलुका छाक टार्न गाह्रो छ । देशमा युवाशक्ति तथ्यांकमा मात्र सीमित छ । वास्तविकता भने अर्के छ नेपालको । अनी नेपाली दैनिकीको । आजका

दिनमा पनि करीब १५०० भन्दा धेरै युवाले देश छाड्नुपर्ने बाध्यता श्रृजना भएको छ ।
सरकार फेरियो सत्तामा जाने अनुहार फेरियो तर जनताको दैनिकी फेरिएन । दैनिक जसो करीब ३ वटा लास बोकेका बाकस त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा आउने क्रम जारी छ ।

यो सबै हाम्रो देशको राजनेता र यिनीहरुले बसालेको थितिको उपज हो । युवाहरुमा काम गर्ने तागत छ तर यो शक्तिलाई परिचालन गर्ने र देश विकास गर्ने नेतृत्व छैन । अधिकांसले आरोप लगाए जस्तै अस्थिर सरकार वा गैर जिम्मेवार राजनीतिक नेतृत्व मात्र हो या जनता पनि हुन् ?

प्रश्न यो उठ्न सक्छ । युवाहरु विदेशिने मात्र आजकै गतिमा रहने हो भने आजको २५ बर्ष पछी नेपालमा हिंडडुल गर्न सक्ने मान्छे रहलान त ? यि यावत प्रश्नहरुले आज देशको लागि केही गर्छु भनेर लागिपर्नेलाई दैनिक रुपमा थिचिरहेको छ ।

दैनिक रुपमा विदेशिने सयौं युवाहरुमा अधिकांस रोजगारिको सिलसिलामा अती निम्न स्तरको कस्टप्रद काम गर्नको लागि खाडी मुलुकमा जाने गरेका छन भने, केही सयको सँख्यामा युरोप अमेरिका लगायतका महादेशमा उच्च शिक्षाको लागि जाने गरेका छन् । यसले के देखाउछ भने प्रयाप्त रोजगारिको सृजना देशभित्र हुन नसक्नु नै आजको प्रमुख कारण हो जसले सयौंको संख्यामा उर्जावान नेपाली युवाहरुलाई यो देशको नेतृत्व र नीतिले बाहिर धकेलीरहेको छ भन्दा फरक नर्पला ।

युवाहरु चाहे पढ्ने बाहानामा होस् या काम गर्ने शिलशिलामा होस् । दैनिक जसो विदेशी रहेका छन् । हामी सबैले भन्दै सुन्दै आएको एउटा वास्तविकता के हो भने नेपाललाई छोटो समयमा नै सम्बृद्ध र अती कम विकशित मुलुकबाट विकासशिल मुलुकको सूचिमा पु¥याउने।

तर कृषि प्रधान देशका युवाहरु कृषिमा अधुनिकिकरण भित्रयउनेतर्फ नभएर कडा मिहेनत र परिश्रम गरेर डलर, रियाल, येन र दराम भित्र्याउन लागि परेका छन् । अनि त्यसरी भित्रिएको डलर र रियल उपभोगमा खर्च हुने गरेको छ । अनी ति डलर र रियालले चामल, दाल लगायत दैनिक उपभोग्य वस्तु किन्नुपर्ने र दैनिकी चलाउनुपर्ने बाध्यता हामीसँग छ । होइन भने कृषि र पर्यटन विकासको विकल्प छैन ।

पर्यटन नेपालको लागि यस्तो क्षेत्र हो हामी जसबाट बिना लगानी नै करोडौं डलर बिदेशी पुँजी नेपालमा भित्र्याउन सक्छौ र हजारौको संख्यामा रोजगारिका अबसरहरु सृजन ागर्न सक्छौं ।  देश विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र पर्यटन पछी सबैभन्दा बढी सम्भाबना बोकेको क्षेत्र हो ।

करीब ७० प्रतिशत नेपाली जनताको जीवनयापनको मुख्य आधार भनेको कृषि पेसा हो । तर जुन रफ्तार र तरिकाबाट कृषि क्षेत्रको बिकास हुनुपर्ने हो त्यसमा हामीले खासै ध्यानै दिइरहेका छैनौ । आफ्नो धरातल र भूबनोट अनुसारको उत्पानमा हामीले ध्यान दिनेहो भने हाम्रा युवा विदेशमा गाई दुन, मल भकारो गर्न, सँगुर पाल्न र बाँजो फोर्न जानुपर्ने थिएन ।

कृषि क्षेत्रले अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान ओगटेको भए पनि बिभिन्न समस्याले ग्रस्त छ । नेपालको कृषि परम्पराबादी र निर्वाहमुखी रहँदै आएको छ । अझ भन्नु पर्दा नेपालको कृषि क्षेत्र थोरै जग्गा भएका निर्वाहमुखी किसानहरुको भरमा चलिरहेको छ । कृषिको व्यबसायीकरण गर्नको लागि जती लगानी हुनुपर्ने हो, त्यो भैरहेको छैन र युवाहरुलाई यो पेसामा आकर्षित गर्न नसक्नु, यस क्षेत्रको पर्याप्त बिकास हुन नसक्नुको अर्को प्रमुख कारण बनेको छ ।

युवाहरु कृषि पेसामा आकर्षित नहुनुको एउटा प्रमुख कारण समाजमा कृषि पेसा अंगाल्ने ब्यक्तिलाई गरिने दोश्रो दर्जाको व्यबहार पनि हो । दोश्रो भनेको हाम्रो शिक्षा प्रणालिले टाई सुट वाला कामलाई दिएको अती महत्वले पनि कृषि लगायतका अन्य क्षेत्रहरु छायाँमा पर्ने गरेका छन ।

आर्थिक सामाजिक रुपमा समाजमा खासै योगदान पुर्याउन नसक्ने पेसाहरु समाजमा सम्माननीय भैइदिदा कृषि लगायतमा अती सम्भावना बोकेका क्षेत्रहरु ओझेलमा पर्दै आइरहेका छन, नतिजा ठुलो सङ्ख्यामा युवाहरु यस्तै जागिरको खोजिमा भौतारिरहेका छन जुन अस्तित्वमा नै नरहन पनि सक्छन् ।

कृषि क्षेत्र बिकास नहुनु एउटा पाटो हो तर नेपालमा यस क्षेत्र बिकासका निकै ठूला ठूला सम्भावनाहरु रहेका छन । समृद्धिका किरणहरु केही मात्रामा पशु पंक्षिका गोठ र गोलभेंडा काउलीका करेसाबाट देखिन थालेका छन । कैयौं युवाहरु कृषि क्षेत्रमा कायापलट गर्न सकिन्छ है भन्ने विश्वासका साथ सुझबुझ र नयाँ प्रविधिसँगै यस पेसामा सुन फलाउन सकिन्छ है भन्ने विश्वासका लागि परीरहेका छन । परम्परागत रुपमा गरिँदै आएको कृषि पेसालाई नियमित आय आर्जनको माध्यम बनाई रहेका छन । यो सबै करिब करिब किसानको एक्लो प्रयासबाट भैरहेको छ । यसमा संगठनिक प्रयास र पूँजी लगानी आवश्यक भएको छ ।

हामी दुई निकै ठुला र उदयमान अर्थतन्त्र भएका मुलुककाबीच विलाएको अर्थतन्त्रका रुपमा स्थापित छौँ भन्दा फरक नपर्ला । यस्तो अवस्थामा हामीले हाम्रो देशमा उपलब्ध जलस्रोत र भूमीको प्रयोग गरेर कृषि उत्पादनमा जोड दिने हो भने हाम्रा उत्पादनले पनि बजार ओगट् सक्छन् । प्रतिस्प्रधा गर्न किसानको एक्लो बलले धेरै समय थेग्न नसक्न पनि सक्छ । त्यसैले कृषि पेसामा लाग्ने कृषि उद्यमिलाई सुरक्षित लगानिको बातावरण र युवाहरुलाई कृषि उद्यममा लाग्न सरकारी तहबाट नै पहलकदमी लिनु निकै जरुरी भइसकेको छ ।

हाम्रो अर्थतन्त्रको मेरुदण्डलाई ग्रशीत मानशिकताबाट हेर्ने बानीले हामी आफैँ पछाडि परेका छौ । हाम्रो उत्पादनले हामीलाई पाल्ने अवस्थाबाट हामी विमुख भइरहेका छौँ । त्यसैले खाद्यान्न आयात होइन निर्यात गर्ने सोचमा हामी जाग्नु पर्छ । युवा पलायन होइन युवा स्थापित हुने अवस्थामा हामी पुग्नु पर्छ । युवाहरु कृषि पेशामानै स्थापित हुन सके यसको फाइन धेरै नै छ । समय लाग्छ तर कुर्न सक्नु पर्छ ।

सरकारले पनि किसानका लागि आकर्षक योजनाहरु ल्याउनु आवश्यक छ जसका कारण सरकारले किसानका लागि दिएको सेवा सुविधाबाट किसानले असहज र झन्झटिलो प्रकृया महशुष नगरीकन काम गर्न सक्ने वातावरण तयार गर्नु पर्छ । सरकारी छात्रब्रितिमा पढेका कृषि स्नातहक र प्राबिधिकलाई छुट्टै मापदण्ड बनाई सरकारले तोकेको न्यूनतम समय अबधिको लागि अनिवार्य सेवामा लगाउन सक्ने हो भने कृषि क्षेत्रको कायापलट गर्न समय लाग्छ र ? गर्ने मन, सोच र जाँगर भए देश विकासका नार लगाउनै पर्दैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका