सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

5315
Shares
वित्त आयोगको कार्यसम्पादन मुल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

काभ्रे : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनमा काभ्रेका नगरपालिकाहरुमध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ ।

आयोगले गत आर्थिक बर्ष २०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । जसमध्ये नमोबुद्ध नगरपालिका जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र स्थानीय तह र गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ ।

वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सुचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । नगरपालिकातर्फ पहिलो स्थानमा पर्न सफल भएको नमोबुद्ध नगरपालिकाले ६६.३९ अंक प्राप्त गरेको छ ।

जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको महाभारत गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ भने समग्र स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ ।

नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३ औं स्थानमा परेको छ । वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट स्थानमा पर्नु खुशी र गौरवको कुरा भएको नमोबुद्ध नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताए ।

‘हामीले तोकिएकै समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम गरिरहेका छौं’ तिमल्सिनाले भने, विनियोजित बजेट पनि समयमै कार्यान्वयनमा लगेका छौं ।

’आफूहरु निर्वाचित भएदेखि नै नगरपालिकामा सुशासन कायम गर्न लागिपरेको र त्यसैको परिणाम अहिले देखिएको उनले बताएका छन् । आयोगले तोकिएको समयमा बजेट ल्याए/नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए/नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्था लगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मुल्यांकन गरेको थियो ।

काभ्रेका अन्य स्थानीय तहमा नगरपालिकातर्फ दोस्रो स्थान र समग्रमा चौंथोमा परेको धुलिखेल नगरपालिकाले ६३.२९, पाँचौं स्थानमा परेको पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् ।

जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा  ३७.९० अंकमात्रै प्राप्त गरेको छ ।जिल्लाका अन्य स्थानीय तहमा नगरपालिकातर्फ बनेपाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुरले ५३ अंक प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।

5315
Shares

ट्रेन्डिङ