सबैको समाचार
बुधबार, बैशाख १२, २०८१

धुलिखेल हस्पिटल र पालो !

25260
Shares
धुलिखेल हस्पिटल र पालो !

हिजो बिहान ८ बजे भिडियो एक्सरेको पालो थियो । केही नखाई ठीक ८ बजे धुलिखेल हस्पिटलमा पुगेर भिडियो एक्सरे को झ्यालबाट कार्ड दिँदा भित्रबाट केही रुखो जबाफ आयो । “पैसा तिरेर आउनु ।”
‘कहाँ सिस्टर ?’
“उ माथी बिल्डिंगमा” । जवाफ केही रुखो नै छ ।

भुँडी हल्लाउँदै पैसा तिर्न ‘नाम दर्ता’ को लाईनमा बसियो । (थाहा थिएन पैसा कहाँ तिर्ने भनेर )
१५ मिनेट लाईन बसेर नाम दर्ता गर्ने ठाउँमा बिमा कार्ड दिँदा बिमा ३ महिनापछि लागू हुने कुरा आउँछ । ठीकै छ भनेर भिडियो एक्सरे को पैसा तिर्न खोज्दा भित्रबाट नाम दर्ताको लागि लागि मात्र १०० रुपैयाँ यहाँ हो बाँकी तल नै जानु भनेर पठाउँछ ।

भिडियो एक्सरे को कोठामा गएर कार्ड दिन्छु।
“खोई पैसा तिरेको, पैसा तिरेर आउनु भनेको होईन ।?” कहाँ तिर्ने सिस्टर??
नगदमा जाने, अनि तिर्ने । (अझै रुखो स्वरमा सिस्टर बोल्छ ।)

फेरि लुखुर लुखुर पैसा तिर्न माथी गईयो । अब स्टाफलाई सोध्न मन लागेन । दुई चार जना मान्छेलाई सोधेपछि बल्ल पैसा तिर्ने ठाउँ पत्ता लाग्छ । र, तिरेर भिडियो एक्सरे को रुममा पुगियो । यति गर्दा सम्म टोकन नम्बर ४९ को कुपन आउँछ ।
अब पालो ४८ जना पछि मात्र आउने भो ।

एक्सरे शुरु भयो । टोकन नम्बर ५ पुग्यो । अनि रोकियो । पावरवाला मान्छेहरु आए । एक्सरे गरेर गए । केही बेरपछि टोकन नम्बर ९ सम्म पुग्यो । वार्डका बिरामीहरु आए एक्सरे गरेर गए । फेरि टोकन सर्यो । १३ पुग्यो । ईमरजेन्सीको बिरामीहरु आए, एक्सरे गराएर गए । यति बेलासम्म ११ बज्यो ।

भोक लाग्यो । यही हिसाबमा बेलुका ४ बज्ने छ । खाली पेट बस्नु पर्ने बस्न नसकिने भो । होटलमा गएर चिया नास्ता गरेर फर्कदा टोकन नम्बर १९ को पालो आयो बल्ल ।

कुर्सीमा बस्नेहरु कोही निदाए, कुर्सी नपाएर रेलिङमा अडेस लगाउनेहरु हाई हाई काड्दै थिए । सिँडिमा बसेर पालो कुर्नेहरुको मोबाईलको ब्याट्री ४० प्रतिशतमा झरिसक्यो ।

दिउँसोको १ बज्यो । टोकन नम्बर २७ पुग्यो । फेरि भोक लाग्यो । डाक्टरले खाली पेट बस्नु भनेको थियो । के गर्ने? पालो आउँदा सम्म पेट खाली भईहाल्छ नि !

खाजा खाएर फर्किँदा ३ बज्यो । टोकन नम्बर ४१ पुग्यो । कुर्सिमै ढल्किएर एक निद्रा सुतियो । पालो आउँदा ४ बज्यो ।
अब रिपोर्ट १ घन्टा पछि । डाक्टरलाई रिपोर्ट कहिले देखाउने ? घर कहिले फर्कने ?
लौ आज भ्याईएन ।
पालो आजलाई सारेर घर फर्कियो ।

25260
Shares

ट्रेन्डिङ