सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जनमुखी योजनासहित समृद्ध बेथानचोक बनाउनेछौंः कमलप्रसाद तिमल्सिना

जनमुखी योजनासहित समृद्ध बेथानचोक बनाउनेछौंः कमलप्रसाद तिमल्सिना

5480
Shares
जनमुखी योजनासहित समृद्ध बेथानचोक बनाउनेछौंः कमलप्रसाद तिमल्सिना

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार बनेका छन्, कमल तिमल्सिना । उनी नेकपा एमाले बेथानचोक गाउँ कमिटीका अध्यक्षसमेत हुन् ।

बेथानचोक गाउँपालिकाका बौद्धिक व्यक्तित्व तिमल्सिना लामो समयदेखि सामाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशिल छन् । अधिवक्तासमेत रहेका तिमल्सिनाले लामो समय शिक्षण पेशासमेत गरे । अहिले समृद्ध र समुन्नत बेथानचोक बनाउने अभियानका साथ चुनावी मैदानमा होमिएका तिमल्सिनाका एजेण्डा कस्ता छन् र किन उनी बेथानचोक गाउँपालिकाका लागि उपयुक्त पात्र हुन् भन्नेबारे गरिएको कुराकानी ?

बेथानचोक गाउँपालिकाको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
बेथानचोक गाउँपालिका प्राकृतिक तथा मानविय श्रोत साधनले पर्याप्त सम्भावना भएको क्षेत्र हो । यहाँ विकास र समृद्धिका प्रशस्त सम्भावना र आधारहरु छन् । तर, सम्भावना रहँदा रहँदै पनि यसको सही सदुपयोग हुन सकेको छैन । यसलाई मध्येनजर गर्दै बेथानचोक गाउँपालिकामा भएको प्राकृतिक र मानवीय स्रोत साधनको उचित परिचालन गरी दिगो बिकास मार्फत समृद्ध बेथानचोक, सुखी नागरिक भन्ने नारालाई सार्थक बनाउन नेकपा एमालेले मलाई जिम्मेवारी दिएर अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

बेथानचोक गाउँपालिकाको समग्र विकासका लागि यहाँहरुले विगतमा के गर्नुभयो र अब तपाईंहरुलाई बेथानचोकबासीले मत दिने ?
नेकपा एमाले यस पालिकाको एक सशक्त राजनितिक दल हो ।

नेकपा एमालेले पञ्चायत कालिन समयदेखि नै आफ्नो सशक्त उपस्थिति देखाउदै आएको छ । २०४८ सालको संसदिय निर्वाचनदेखि लिएर बिभिन्न समयमा भएका संसदिय निर्वाचन र २०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा समेत भाग लिएर जनताको विचमा लोकप्रिय मत प्राप्त गरिसकेको छ ।

बिभिन्न निर्वाचनमा जनताको विचमा गरेको प्रतिबद्वता अनुसार नेकपा एमाले वेथानचोकले संघिय र प्रदेश सरकारसँग समन्वय गरी बिभिन्न जनमुखि कार्य गरेकोछ । संघिय सरकार तथा संसद बिकास कोषमार्फत सडकतर्फ बनेपा–पनौती–कामीडाँडा–तालढुङ्गा सडक अन्र्तगत हाल बल्थली–कामीडाँडा खण्डमा सडक स्तरोन्नती हुँदैछ ।

चलाल गणेशस्थान ठुलो गाउँ, बागने खोला, अर्खाैले सडक स्तरोन्नती भएका छन् भने सोलाभञ्ज्याङ भालुछाप्रा सडकको ट्रयाक ओपन भएको छ । त्यसैगरी एक घर एक धारा कार्यक्रम अन्र्तगत बेथानचोक–२, श्रीचौर र वडा नं–३, बोल्देमा खानेपानी योजना सम्पन्न भएका छन ।

शिक्षातर्फ पार्वती कलेजको भवन निर्माण र सामुदायिक विद्यालयमा कम्प्युटर ल्यावको ब्यवस्था गरिएको छ । सबै मा.बि मा सोलार बत्ती जडान गरिएको र सरस्वती मा.वि., भुग्देउको भवन निर्माण कार्य सम्पन्न भएको छ ।

राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आत्मबिकास मा.वि., भिमसेनस्थान मा.वि, सरस्वती मा.वि, भुग्देउ र सरस्वती मा.वि., पार्थलीको भवन निर्माण भएको छ । वडा नं १ मा टेलिफोन टावरको निर्माण कार्य सम्पन्न गरिएको छ । महाभारत पद मार्ग, सिढि निर्माण र सितल निवास निर्माण कार्य भएका छन ।

यस्तै प्रदेश सरकारसँग समन्वय गरी कलङसिं फुर्केथली सालधारा सडक, ताङग्रेमाराङ गौतम टोल, मिल्चे सडक, मौवाडाँडा गोठेडाँडा फुर्केथली सडक, पाट्नेखोला बागाखोर सडक, जात्रेफेदी कामीखोरिया सडक, आहाले च्यानडाँडा सडक, पार्थली डाँडागाउँ सडक, तिप्चोक पार्थली सडक, बल्थली लडकुपौवा छिर्के कामिडाँडा सडक, छिर्के फ्याङखोला सडक, सयले नारायणस्थान सडक, अस्पताल चोक, गैरीभञ्ज्याङ शौरे सिरथली नारायणस्थान सडक, च्याल्टी खोला खरिडाँडा सडक, टोडके फ्याङखोला तावरी भञ्ज्याङ सडक, सिउरानी थिङछाप मेधाम्सु सडक, भन्ज्याङ भुग्देउगाउँ मेधाम्सु सडक, भुग्देउ खेल मैदान, कामीडाँडा नागपोखरी खेल मैदान, कामीडाँडा चिया पकेट क्षेत्र बिकास कार्यक्रम, खानेपानी तर्फ एक घर एक धारा कार्यक्रम वडा नं ३ र ५ मा सञ्चालन भएका छन् । च्याल्टीखोला र भुग्देउ खोलामा पक्की पुलको डि.पि आर गरिएको छ । यी कार्यमा हामीले पहलकदमी लिँदै आएका छौं । यस्ता धेरै योजना सम्पन्न गर्न र नयाँ योजनामार्फत बेथानचोकलाई समृद्ध बनाउनका लागि आम बेथानचोकबासीले हामीलाई मत दिनुहुन्छ भन्ने विश्वास छ ।

बेथानचोकको विकासका लागि पूर्वाधारको क्षेत्रमा कस्ता योजना लिएर आउनुभएको छ त ?
हामीले आम नागरिकको जीवनस्तरलाई माथि उठाउन दुरगामी सडक निर्माण प्रक्रियाको थालनी गर्ने र निर्माण भई सकेका सडकको स्तरोन्नती गर्ने, पालिकाभित्र रहेका कृषिउत्पादन ओसारपसार गर्ने सडक बर्षात्को कारणले अबरुद्ध भएमा चौविस घण्टाभित्र सञ्चालनमा ल्याउने, प्रत्येक बस्तीलाई सडक सञ्जालले जोड्न योजना बनाएका छौं र ।

यो गाउँपालिकाको वडा नं. १ का स्थानीयबासीले बिभिन्न बैक वा सहकारीमा आफनो जग्गाधनी प्रमाण पुर्जा धितो राखेर ऋण लिई मोटरबाटो निर्माण गर्नुभएको छ । उहाँहरुको ऋण मोचनका लागि पहल पनि गर्नेछौं ।

यस्तै व्यवसायीहरूसँग समन्वय गरी पालिकाभित्र सञ्चालनमा रहेका पुराना यातायातका साधन हटाई नयाँ यातायातका साधन प्रयोगमा ल्याइने छ भने संघीय सरकारसँग समन्वय गरी बनेपा पनौती–चलाल–गेल्डुङ–च्याम्राङवेसी–फापरबारी जोड्ने सडक, पनौती बल्थली टोड्के टावरी भुग्देउ मेधाम्सु फलामेसाघु विपी राजमार्ग जोड्ने मोटरबाटो र बनेपा पनौती कामीडाँडा तालढुङ्गा सडककोे स्त्तरोन्नतीको लागि पहल गर्नेछौं ।

‘एमालेको सरकार–टोलटोलमा स्तरिय सडक अभियान’ कार्यक्रममा बेथानचोक गाँउपालिका अन्र्तगतका वडाहरूमा निम्नानुसारका सडक निर्माण, स्तरोन्नती र पिच–ढलानका काम सम्पन्न गरिनेछ ।

प्रदेश सरकारसँग समन्वय गरी गेल्डुङ गोल्माकोट कामीडाँडा भञ्ज्याङ भुग्देउ मेधाम्सुबाट तिनधारे झरनाजोड्ने सडक, सयले ठूलाचौर नारायणस्थान पर्यटन सडक, अस्पतालचोक सौरे नारायणस्थान पर्यटन सडक, मल्पी–तिपचोक–पार्थलीभन्ज्याङ–कुनेखर्क–गोल्माकोट सडक, बल्थली–लड्कु–कोरथली–छिर्के–कामिडाँडा सडक, गेल्डुङ–पाट्नेभञ्ज्याङ–बागाखोर–अस्पताल चोक (ललितपुर जोड्ने) सडक, गोलगाउँ मगर तावरी सिउरानी भञ्ज्याङ्खर्क टोड्के सडक, मगर तावरी फ्याङखोला टोड्के सडक, टोड्के फ्याङखोला छापडाँडा मगर तावरी सामुदायिक भवन सडक, रेलसिङ मौवाडाँडा फुर्केथली सालधारा सडक, चलाल गणेशस्थान भञ्ज्याङखर्क सलिनडाँडा मदनबास सडक, पाटीखर्क पटगाँउडाँडा पार्थली सडक, बल्थली लड्कुपौवा खोलामा आरसिसि ब्रिजनिर्माण, सयाले बाह्रविसे बतासे बोल्दे थलिडाँडा च्याल्टी सडककोे निर्माण तथा स्तरोन्नती गरिनेछ । यसका साथै हामीलृे प्रत्येक वडाका लागि छुट्टाछुटटै योजनासमेत तयार पारेका छौं ।

बेथानचोक बासीलाई स्वास्थ्य उपचारका लागि निकै समस्या हुने गरेको छ । गाउँमै सहज स्वास्थ्य सेवा पाउन के काम गर्नुहुन्छ ?
हामीले प्रतिवद्धतापत्रमै स्वास्थ्य पहिलो धन, स्वस्थ जीवन भन्ने नारा अघि सारेका छौं । सो अनुसार पालिका स्तरिय ५१ शैयाको सुबिधा सम्पन्न अस्पताल स्थापना गरिनेछ भने नागरिक स्वास्थ्य विमाको लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरिनेछ ।

यस्तै गाउँपालिकाका ६० वर्ष भन्दा माथिका प्रत्येक नागरिकलाई निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइनेछ । हामीले विरामीको उपचारलाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गर्न प्रत्येक वडाका स्वास्थ्य संस्थामा एक एक वटा एम्वुलेन्स व्यवस्था गर्नेछौं भने गाउँपालिका भित्रका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र लाई साधनस्रोत र प्रविधिमैत्री बनाई आवश्यक दक्ष जनशक्तिको व्यवस्था गर्नेछौं । यस्तै प्रत्येक समुदायमा गुणस्तरिय र स्रोतसाधन सम्पन्न गाँउघर क्लिनिकको व्यवस्था गर्ने, गाउँपालिका भित्र एउटा सुविधा सम्पन्न प्राकृतिक तथा आयुर्वेदिक अस्पतालको स्थापना गर्ने, मुटु, कलेजो, मृगौला, क्यान्सर, मेरुदण्ड लगायत अन्य गम्भीर प्रकृतिका रोगीहरूलाई थप एक लाख उपचार खर्च प्रदान गर्ने, ‘गर्भवती तथा सुत्केरी महिलालाई पौष्टीक आहार नवजात शिशुलाई सुन्दर संसार’ अन्र्तगत गर्भवती महिला र नवजात शिसुको स्वास्थ्य हेरचाह, सहयोग र सुरक्षाका लागि कार्यक्रम गर्नुका साथै पालिकाभित्रका स्वयमसेविकाहरूलाई वर्षको एक पटक निःशुल्क पोशाक वितरण र मासिक रुपमा प्राप्त हुने सेवा, सुविधा र भत्तामा दोव्बर बृद्धि गर्नेछौं ।

गाउँपालिकामा शिक्षको विकासका लागि के कस्ता योजना बनाउनुभएको छ ?
गुणस्तरिय र प्रविधिमैत्री शिक्षा : बेथानचोकको आवश्यकता नारासहित हामी शिक्षा क्षेत्रको विकासमा क्रियाशिल हुनेछौं । गाँउपालिकाभित्र रहेका बिद्यालय र कलेजको भौतिक पुर्वाधारको बिकास गरी विश्वबजार अनुकुलन गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षाको लागि क्रमिक रुपमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको व्यवस्था मिलाइनेछ भने प्रत्येक सामुदायिक विद्यालयमा विषयगत शिक्षक दरबन्दीको ब्यवस्था गरिनेछ । यस्तै गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षणका लागि दिवा खाजाको व्यवस्था गरिनेछ ।

माध्यमिक तहमा संस्कृत विषयलाई ऐच्छिक विषयका रुपमा राख्नुका साथै सम्पूर्ण माध्यमिक विद्यालयमा क्रमशः एक विद्यालय एक नर्सको व्यवस्था गरिनेछ । यस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विषयगत कक्षाको व्यवस्थापन र पठनपाठनलाई प्रविधिमैत्री बनाउने, पालिकाभित्र अपाङ्गमैत्री आवासिय विद्यालयको स्थापना गरी सञ्चालन गर्ने, पालिका भित्रका माध्यमिक विद्यालयमा एक व्यवसायिक तथा प्रबिधिक विषयलाई ऐच्छिक रुपमा राखी पालिकास्तरमा प्राविधक कलेजको स्थापनाको काम अघि बढाउने योजना बनाएका छौं । यसका सार्थै जेहेन्दार विद्यार्थीलाई प्राविधिक तर्फ (डाक्टर, नर्स, पाइलट, इन्जीनियर, कृषि विज्ञ लगायतका) विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहेमा एक विषय एक जनाका दरले कुल लाग्ने शुल्कको २५ प्रतिशत रकम छात्रबृत्ति वापत वाषर््िाक रुपमा उपलब्ध गराइनेछ ।

बेथानचोक क्षेत्रका जनताको मुख्य आयस्रोत कृषि हो । तर किसानका लागि पर्याप्त काम हुन नसकेको गुनासो छ । तपाईंहरु यसलाई कसरी संवोधन गर्नुहुन्छ त ?
कृषि क्षेत्रको विकासबाटै बेथानचोक गाउँपालिकामा समृद्धि सम्भव छ भन्ने हाम्रो ठहर छ । निर्वाहमुखी कृषिलाई हामी उत्पादनमुखी र आर्थिक विकासको मुख्य माध्यमको रुपमा विकास गर्नेछौं ।

यस गाउँपालिकामा रहेका किसानको पहिचान र वर्गीकरण गरी बास्तबिक कृषि श्रमिक र महिला किसानलाई विशेष प्रोत्साहनको व्यवस्था मिलाइने छ भने किसानहरूले उत्पादन गरेका कृषि उत्पादन तथा विउँ विजनको सुरक्षाका लागि गाउँपालिकाभित्र सित भण्डार (कोल्ड स्टोर) को स्थापनामा जोड दिइनेछ । गाउँपालिकामा बाँझो खेतीयोग्य जमिनको सदुपयोग गरी खेती गर्न चाहाने किसानलाई खेतीयोग्य जमिन सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुका साथै एक घर एक टनेलको वितरण गरी कृषि उत्पादनमा जोड दिइने छ साथै वास्तविक किसानलाई हेल्वर र सावेल उपलब्ध गरिनेछ । एक वडा एक उत्पादनमा जोड दिइने छ ।

बेथानचोक–१ च्याम्राङवेशीमा कफी, दुध र तरकारी, बेथानचोक–२ र ३ ढुंखर्कमा दुध, खुवा र तरकारी खेती, बेथानचोक–४ चलाल गणेशस्थानमा ३, “अ” अर्थात् अलैची, अम्रिसो र ओखर, बेथानचोक–५ कामीडाँडामा ३ “च” अर्थात् चिया, च्याउ र चिराइतो, बेथानचोक–६ भुग्देउमा लप्सी, कागती र सुन्तला खेतीलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै कृषि प्रर्वद्धनका लागि सिप, पुंजी र प्रविधि प्रदान गरिनेछ । यस्तै पशुपालक किसानको आर्थिक जीवनस्तर माथि उकास्न पशुपंक्षी विमा गर्दा लाग्ने विमा शुल्कको ५० प्रतिशत पालिकाबाट व्यहोरिनेछ । हामीले ‘पाडी हुर्काऊ, पैसा कमाऊ’ कार्यक्रम पनि अघि सारेका छौं । यस कार्यक्रम अन्र्तगत पाडी हुर्काउने उत्कृष्ट किशानलाई प्रोत्साहन गरिनेछ ।

विशेषगरी च्याम्राङवेशी र भुग्देउमा भएको बसाइसराइको अवस्थालाई न्यूनिकरण गर्न पशुपालन र तरकारी खेतीलाई विशेष प्राथमिकतामा राखिनेछ । कृषि क्षेत्रकै विकासका लागि पालिका भित्रका खेतियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्न विगतमा भएका कच्ची कुलोलाई व्यवस्थित र आवश्यकताका आधारमा नयाँ कुलोको निर्माण गरिनेछ भने पालिका भित्रका खेतियोग्य भिरालो जमिनमा स्पीङकल र थोपा सिंचाईको व्यवस्था गरिनेछ । बेथानचोक गाउँपालिका–१ च्याम्राङवेशी, कलाङसिङ र सुकुम फेदीमा ब्यबस्थित सिंचाई कुलो निर्माण गरिनेछ । वडा नं ३ नारायणटार बोझोघारी, मंहाकाल खोला महांकालस्थान भ्याङ्लाटार कुडुल्ले, महांकाल खोला लप्सीबोट गोर्खाली गाउँ सिंचाई योजनालाई मर्मत र व्यवस्थित गरिनेछ । वडा नं ४ को पट्गाउ डाँडा र पोखरीडाडामा वर्षदको पानी जम्मा गरी सिचाइको ब्यवस्था गरीने छ । वडा ६ को सिमसिम खोलामा बाँध बाधि भुग्देउ गाउँमा र नारायणस्थान बाहुनबेसी लामबेसी आगेटारमा सिचाईको व्यवस्था मिलाइने छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामीले स्थानीय तहको निर्वाचनको क्रममा ल्याएका प्रतिवद्धताहरु पुरा गर्न नसकिनेखालका छैनन् । स्थानीयस्तरको आवश्यकतालाई हेरेरै हामीले योजना बनाएका छौं ।

आम बेथानचोकबासीले विगतमा हामीले बेथानचोकको विकास र समृद्धिका लागि गरेको पहल, हाम्रा आगामी कार्यक्रमलाई हेरेर हामीलाई मत दिनुहुन्छ भन्ने विश्वास लिएको छु । युवा, महिला बालबालिका, जेष्ठ नागरिकका लागि हामीले विशेष कार्यक्रमहरु सञ्चालन गर्नेछौं । काभ्रेमा विकासका अलि पछि परेको भनेर चिनिने बेथानचोकलाई विकासमा अग्रणी पालिका बनाउन हामी प्रतिवद्ध छौं । हामीलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु । धन्यवाद !

5480
Shares

ट्रेन्डिङ