सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पत्रकारको पसिनामा मिडिया संचालकको मस्ती, पत्रकारका भन्नै नमिल्ने दुःख !

पत्रकारको पसिनामा मिडिया संचालकको मस्ती, पत्रकारका भन्नै नमिल्ने दुःख !

6925
Shares
पत्रकारको पसिनामा मिडिया संचालकको मस्ती, पत्रकारका भन्नै नमिल्ने दुःख !
  • रवि धिताल

पत्रकार मुलुकको चौँथो अंग । समाजको ऐना अनि आवाज विहिनहरुको आवाज । अन्याय र अत्याचारका विरुद्ध बोल्ने पहिलो माध्यम,सञ्चार माध्यम । पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशन वा प्रशारणमाा ल्याउँछ ।

बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम र नीति सम्झाउँछ । जनताका दुःख, पीडा र वेदनालाई मुखरित गर्छ । शासकलाई सुशासन सम्झाउँछ । नेतालाई जनतासँग जोड्छ ।

जति नै आलोचना वा नकारात्मक टिप्पणी गरे पनि ताजा घटना, तिनको गहन विश्लेषण र अन्तरकुन्तरका जानकारी मिडियाबाटै पाउँछौँ । हो पछिल्लो समय मिडिया सस्तो हुँदै गएको छ ।

यसमा केही विकृति नआएका पनि होइनन् । निष्पक्षता र निरपेक्षताको खाँचो छ । यी हरेक कुरालाई जनतासंग जोड्ने पत्रकारका पीडा सुनिनसक्नु छ। तर यसका समाचार कहिले बन्दैनन्।

रात दिन दुःख गरेर अरूका दुःख देखाउने पत्रकारको दुःख कसले देखेको छ ? कसले लेखेको छ ती पत्रकारहरुका दर्दनाक स्टोरी? भोको पेट,फाटेको जुत्ता अनि झुत्रो कपडामा कति पत्रकारले समाचार लेखे ? कसैसँग हिसाब छैन । एउटा पत्रकारको तब समाचार बन्छ जब उ यो धर्तीबाट टाढा गईसकेको हुन्छ । या भनौ उसले अन्तिम सत्य मृत्युलाई अँगाल्छ । के एउटा पत्रकारको समाचार बन्न उ मर्नुनै पर्ने हो ? यसको जवाफ कसले दिन्छ ?

घर परिवार, आफन्त,चाडपर्व बाट वञ्चित भएर देश र जनतामा सर्मपित हुने पत्रकारको पीडा अर्काे पत्रकारले समाचारको रुपमा किन बाहिर ल्याउँदैन ?
के पत्रकारलाई दुःख छैन ?के महिनौँ तलब नपाएको पत्रकारका पीडा समाचार बन्न लायक छैनन् ? काम गर्दागर्दै विभिन्न बाहानामा संचारगृहबाट पीडित र अपहेलित हुने पत्रकार समाचार होइनन् ? अवश्य हुन् । त्यसो भए किन बन्दैनन् समाचार ?

घरबाट फोन आउँदा खाना खाईस छोरो भन्दा हाँसेर खाएँ आमा भन्नु,बिदा नपाउनु,र दबाब मा काम गर्नुपर्ने पत्रकारका तीतो यथार्थ हुन् । काम गरेको श्रमको मूल्य माग्दा अपमानित हुनुपरेको अनुभव अनि भोको पेट लेखिएका समाचार,हाकिमले दिएको कामको यातना अनि कोठा भाडा तिर्न नसक्दा घरबेटीले गरेको कचकच पीडाको यत्रो भारी बोकेका पत्रकारले दुःखको भारी कहाँ बिसाउने ? बिसाएर पनि के नै पाउनु छ र ? न त कतैबाट न्याय न त सान्त्वना नै ?

पत्रकारीता पेशा एउटा सम्मानित पेशा हो, नमस्कार र मान सबैले दिन्छन् । त्यसले मात्रै एउटा मानिस पूर्ण हुँदैन । जब गाँस बाँस र कपासकै ठेगान हुँदैन ।
अब लाग्न सक्छ यतिका अन्याय हुँदा समेत विभिन्न मिडियामा कार्यरत पत्रकार बोल्न किन डराउँछन् । सामाजिक सञ्जालमा बहस गर्न किन डराउँछन् ।

अन्यायविरुद्ध खरो उत्रिने पत्रकार आफैलाई परेको अन्यमा बोल्न किन सक्दैनन् । यस्तो निरीहता किन र कसरी आयो ? यस्ता समस्या भोगेका पत्रकारलाई यसको जवाफ दिन गारो छैन यो एउटा बाध्यता हो । मिडिया मालिकहरूको एक खालको अघोषित सिन्डिकेट छ । जसका कारण एउटा सञ्चार माध्यममा विद्रोह गर्दा उसले अरू सञ्चार माध्यममा पनि काम पाउन कठिन हुन्छ ।

सञ्चारगृहका सम्पादक त मालिकका कारिन्दा मात्रै हुन् । उनीहरूले मालिकको हितबाहेक सहकर्मीको हितमा बोल्दैनन् । कर्मचारीको हितमा उनीहरू चुइँक्क बोल्न सक्दैनन् । नदेखिने नाफा कुम्ल्याउन पल्केका मिडिया मालिकहरूमा मानवीयता नै छैन भन्दा हुन्छ । नत्र संस्थाको विकासका लागि वर्षौँ काम गरेका कर्मचारीलाई तबल नै नदिई कसैले गलहत्त्याउँछ ?

यस्तो कयौँ पीडा बोकेर अरूका पीडा सुनाउने पत्रकारले पनि कहिलेकाहीँ बाध्य भएर विद्रोह गर्छन् । यो एक वर्षको अवधिमा पनि देखिने केही विद्रोह भएका छन् । त्यसमा विभिन्न सञ्चार माध्यममा रिले अनसनदेखि आफै कार्यरत मिडियामा अनसन बसेका पछिल्ला उदाहरण छन् ।

जबरजस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौँदेखि तलब नदिने सञ्चार संस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका थिए ।

उनीहरूले ठुला भनिएका सबै मिडियामा आन्दोलन गरे । विभिन्न विरोधका कार्यक्रम गरे । लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजीवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकारहरू रिले अनशनमा बसेका थिए ।

ठुला संचारगृह मात्रै हैनन्,जिल्लाका पत्रकार र संचारगृहको हालत पनि उस्तै छ । उनीहरु बाहिर बोल्न डराउँछन । श्रमजीवि पत्रकारको पसिनामा संचारगृह संचालकको मस्ती चल्छ । अन्यायका विरुद्ध बोल्न डराएकै कारण उनीहरु झनै यस्तो कार्यमा प्रेरित हुन्छन् ।

यसमा श्रमजीवि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले बेलाबेला चासो लिने गरेपनि खासै प्रभावकारी भएको देखिदैन । यस्तै मिडिया हाउसका संचालकले गर्दा नै पत्रकार र संचारमाध्यमको महत्व घट्दै गएको हो । छिट्टै यस्ता मिडिया हाउस बन्द हुनुपर्छ ता कि कुनै पनि पत्रकार श्रम शोषणमा नपरोस् । वर्षौँदेखि अरूका अन्यायका विरुद्ध समाचार लेख्ने पत्रकारका पीडा पनि अब समाचार बन्नुपर्छ ।

श्रमजीवीले न्यूनतम पारिश्रमिक पनि नपाउने ? जीवनभर श्रम, पसिना बगाउने पत्रकारहरूको जीवन कष्टकर भइरहने ? काम गरेको ज्याला पनि नपाउने ? यी विषय पनि अब समाचारका शीर्षक बन्नुपर्छ ।

न्यायका लागि लेख्नेहरू नै अन्यायमा पर्नु दुर्भाग्यपूर्ण हो । मिडिया व्यवसायमाथि पनि प्रश्न उठाइनु पर्छ । मिडियामा हुने यस्ता समस्या, जटिलता अरू कसैले होइन मिडिया हाउसले उठाउनु पर्छ । राज्यले यस्ता संचारगृह र मिडिया व्यवसायीमाथी कडा कदम चाल्नुपर्छ ।

6925
Shares

ट्रेन्डिङ