सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे आएर पूर्वमहामन्त्री सिंहले निर्वाचित जनप्रतिनिधिलाई भने मै हुँ भन्ने अहंमता नलिनुस्

काभ्रे आएर पूर्वमहामन्त्री सिंहले निर्वाचित जनप्रतिनिधिलाई भने मै हुँ भन्ने अहंमता नलिनुस्

6635
Shares
काभ्रे आएर पूर्वमहामन्त्री सिंहले निर्वाचित जनप्रतिनिधिलाई भने मै हुँ भन्ने अहंमता नलिनुस्

काभ्रे, ४ असार: नेपाली कांग्रेसको नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीले कामका आधारमा जनप्रतिनिधिको उचित मूल्याङ्कन गर्ने बताउनुभयो ।

जनताले काम गर्न दिएको मौकालाई उचित उपयोग गरेर देखाउन आग्रह गर्दै नेता सिंहले पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न जोड दिनुभयो । उहाँले अबको स्थानीय सरकारले उत्पादन र रोजगारी सिर्जना गरेर नागरिकलाई वडास्तरमा नै काम गर्ने वातावरण तयार गर्दै उत्पादित वस्तुलाई बिक्रीका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना अगाडि सार्न समेत आग्रह गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पनि यही तरिकाले अगाडि बढ्ने भएकाले निर्वाचित जनप्रतिनिधिले सचेत भएर आफ्नो जिम्मेवारी र भूमिकालाई प्रभावकारी बनाउने काममा लाग्न निर्देशनसमेत दिनुभयो । “अब सङ्घीयतालाई बलियो बनाउनका लागि सबै प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर संविधानबाट प्राप्त अधिकारलाई उपयोग गर्ने वातावरण तयार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “कांग्रेस पार्टी सधैँं राष्ट्र र जनताको हितमा काम गर्ने पार्टी भएकाले कसैको हल्ला र लहडको पछि लागेर हिँड्ने छैन ।”

कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले निर्वाचनमा पार्टीको नेतृत्वले धेरै सुझबुझका साथ गठबन्धन बनाएर अगाडि बढेकै कारण पार्टीले अहिलेको उपलब्धि हासिल गर्न सकेको बताउँदै त्यसलाई टिकाउन जरुरी रहेको बताउनुभयो ।

बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले निर्वाचनमा व्यक्ति लडेको नभई पार्टी लडेका कारण त्यसमा निर्वाचित कसैले अहंमता नदेखाई पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न आग्रह गर्नुभएको छ । आगामी पाँच वर्षभित्रमा परिवर्तन भएको महसुस हुने गरी काम गर्नसमेत उहाँहरूले जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट बनेपा नगरपालिका प्रमुखमा निर्वाचित नगरप्रमुख शान्तिरत्न शाक्यले प्रतिबद्धताअनुसार नै काम अगाडि बढाइरहेको बताउनुभयो । रातिको समयमा सडकमा हिँड्दा झिलीमिली बत्ती बाल्ने काम, पुण्यमाता खोला खोल्ने काम र काभ्रे एकीकृत खानेपानीलाई छिट्टै वितरण गर्ने चरणमा आफू नेतृत्वको नगरपालिका लागिरहेको उहाँले बताउनुभयो ।

सो क्रममा नेपाली कांग्रेस बनेपा नगर समितिले सो अवसरमा २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा २०७९ को स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ । रासस

6635
Shares

ट्रेन्डिङ