सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रे उपत्यका एकीकृत खानेपानी सम्झौताको बाह्रवर्ष पुरा, उपभोक्ताले अझै पाएनन खानेपानी

काभ्रे उपत्यका एकीकृत खानेपानी सम्झौताको बाह्रवर्ष पुरा, उपभोक्ताले अझै पाएनन खानेपानी

10655
Shares
काभ्रे उपत्यका एकीकृत खानेपानी सम्झौताको बाह्रवर्ष पुरा, उपभोक्ताले अझै पाएनन खानेपानी

काभ्रेपलाञ्चोक, १३ असार : काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत सकिएको जनाउँदै आइएको छ । तीन नगरका उपभोक्ताले आयोजनाको खानेपानी अझै पाउन सकेका छैनन् ।

गत वर्षको चैतसम्ममा जिल्लाका तीन पुराना नगरपालिका बनेपा, धुलिखेल र पनौतीको स्थानीयवासीका घर–घरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पु¥याउने जनाइएको थियो । परीक्षणका विविध प्राविधिक समस्या दर्शाउँदै आयोजनाको खानेपानी वितरणकार्य लम्ब्याइएको हो ।

तीन नगरका करिब ९३ हजार उपभाक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब बाह्र वर्षअघि नेपाल सरकार र एशियाली विकास बैँक(एडिबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो । सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ ।

खानेपानी वितरणकार्यमा अन्योलता देखिएपछि बनेपा र पनौतीका नगरप्रमुखले आयोजनाप्रति चासो देखाउनुभएको छ । पनौतीका नगरप्रमुख रामशरण भण्डारीले आइतबार सिरानचौरस्थित खानेपानी संस्थानको वितरण प्रणालीमा मेनलाइनबाट पानी मिसाइ वडा नं ७ पनौती बजारक्षेत्र, वडा नं ४ दूध मिलक्षेत्र र वडा नं ५ नमोबुद्ध रोडक्षेत्रमा अब निरन्तर खानेपानी आउने प्रणाली निर्माण गर्न लगाउनुभएको छ ।

उहाँले पनौती–खोपासी सडक, पनौती–बनेपा सडकको दायाँबायाँका वितरण प्रणालीका बिग्रेका पाइप फेर्दै प्रणालीले समेटेका बस्तीमा खानेपानी वितरणको प्रक्रियाबारे प्राविधिकसँग छलफल गर्ने योजना बनाउनुभएको हो ।

यस्तै आज बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले प्राविधिकसहित पनौती–९ देवीस्थानस्थित बोर्डको खानेपानी प्रशोधन केन्द्रको अवस्था बुझ्न र बनेपालीलाई छिट्टै घरघरमा खानेपानी पु¥याउन स्थलगत निरीक्षण गर्नुभएको छ । “अनुगमनपछि प्राविधिकसँग छलफल गरी समस्या सुल्झाउँदै वितरणको चरणमा जानेछौँ”, शाक्यले भन्नुभयो ।

आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारका सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पु¥याइएको छ, भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको कामगर्ने भइरहेको छ । उहाँले भन्नुभयो, “मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रिया थालिएको छ ।”

आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा हाल नयाँ खानेपानीका पाइप जडान गर्ने (इन्टर कनेक्सन) काम भइरहेको छ । तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको जनाइएको छ ।

आयोजनाअनुसार क्षति पु¥याइएका सामग्रीको नगर र विभागले नै बनाइदिएका छन् । तीन नगरका एक हजार ११४ इन्टर–कनेक्शन गर्नुपर्नेमा हाल नौ सयको हाराहारिमा इन्टर कनेक्शन भइसेकेको आयोजनाले जनाएको छ । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ । आयोजनाको काम चिनियाँ ठेकेदार कम्पनी निम्बो निङसिङ इन्टरनेशनल इङ्कले केही महिनाभित्र सकाउने जनाउँदै आएको छ ।

आयोजना सम्पन्न भएपछि तीन नगरका करिब ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने छन् । “अब केही समयमा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद विषय हो”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भन्नुभयो । उहाँका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो । सम्पूर्ण परीक्षण सकेमा साउन मसान्तसम्ममा खानेपानी वितरण हुनसक्ने उहाँको अनुमान छ ।

यस आयोजनालाई तत्कालीन अवस्थामा एडिबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो । आयोजनाको कूल लागत भ्याटबाहेक रु ९९ करोड आठ लाख सात हजार ८२१ रहेको छ ।

आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान तथा ३५ प्रतिशत रकम विसं २०६९ असारमा नगर विकास कोषवाट ऋणका रुपमा लिइएको थियो । बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ । वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौता भएको थियो ।
साभार : रासस

10655
Shares

ट्रेन्डिङ