सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा तीन वर्षपछि भेटियो डेंगु, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’

काभ्रेमा तीन वर्षपछि भेटियो डेंगु, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’

10275
Shares
काभ्रेमा तीन वर्षपछि भेटियो डेंगु, स्वास्थ्यकर्मी ‘हाइअलर्ट’

काभ्रे : जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको संक्रमण देखिएको छ। दुई हप्ताअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो।

पनौती नगरपालिका-५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेंगुको संक्रमणका कारण धुलिखेल अस्पतालमा दुई दिनदेखि उपचारत छन्। पनौती नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार संक्रमित ती पुरुषको स्वास्थ्य अवस्था उपचार सुरु गरिएपछि सुधारोन्मुख रहेको छ।

उनले जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्यको टिमले संयुक्तरुपमा आज पनौतीमा भएको संक्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गर्ने बताए। ‘हाम्रो टिमले रोगको स्रोतको ‘सर्च एण्ड डिस्ट्रोय’गर्नेछ’, उनले भने।

यस्तै केही दिनअघि सदरमुकाम धुलिखेलमा पनि एक पुरुषमा डेंगु रोगको संक्रमण देखिएपछि उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। ‘धुलिखेललगायतको स्थानका डेंगु रोगको संक्रमणको केशमा निकै गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ’, कार्यालयप्रमुख डा. पुरुषोत्तम सेढाईंले भने। उनका अनुसार पाँचखालमा दुई साताअघि भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन्।

ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो। पाँखालमा भेटिएका संक्रमितको काठमाडौंमा उपचार भइरहेको सेढाईंले बताए। लामो समयपछि पाँचखालमा पहिलो डेंगु रोगको संक्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाइअलर्ट’मा बस्न भनिएको सेढाईंले बताए।

उनका अनुसार डेंगु रोगको संक्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्‍यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ।

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र माँसपेसी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ।

काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेंगुको संक्रमण देखिएको थियो। त्यसबेला खानीखोला गाउँपालिकामा संक्रमित एक पुरुष भेटिएसँगै जिल्लाका छ जनामा संक्रमण देखिएपछि तत्काल उपचारमा लगिएको थियो। छ संक्रमितमध्ये चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार गराइएको थियो।

त्यतिबेलाको अनुगमन-निरीक्षणबाट खानीखोलाका संक्रमित पुरुष कामको सिलसिलामा छिमेकी मकवानपुरको हेटौंडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेंगु रोगका लक्षण देखिएको जिल्ला कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।

हाल जिल्लाका तीन स्थानमा डेंगु संक्रमित व्यक्ति भेटिएपछि कार्यालयले डेंगु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई अपिल गरेको छ। ‘जिल्लामा डेंगु रोगको संक्रमण देखिएपछि अन्य सबै स्थानीय तहमा र्‍यापिट टिम बनाउने तथा स्थानीय स्वास्थ्यकर्मीलाई हाइअलर्ट रहन भनिएको छ’, कार्यालयप्रमुख सेढाईंले भने। उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेंगुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ। –रासस

10275
Shares

ट्रेन्डिङ